जन्मदिवसमा तागामत चिन्तन

व्यङ्ग्य

  •  मिङ लिवाङ, कालेबुङ

नर्कलोकमा यो काण्ड हुँदा मनोज बगोटी र टीका भाइलगायत, डिके वाइवा, प्रदीप लोहागुण, अनिल तैलेजा, छेवाङ योञ्जन – आदि नर्कलोकको वीजा नपाएर पृथ्वीलोकमै विचरण गरिरहेका थिए।

आफ्नो सयौं जन्मदिन मनाएको केही दिनपछिको घटना हो यो । त्रासदी के भयो भने मैले राजनीतिक दाउपेच र नर्क साहित्य अकादमीमा आफ्नो लबी चलाएर अनि रुवाबासी गरेर जान-पहिचानको फाइदा उठाएर बलजफ्ती साहित्यमा किरातेश्वर पुरस्कार हत्याएपछि नर्कमा निकै खैला-बैला मच्चियो। पुरस्कार घोषणा भएको अर्को बिहानै स्थानीय समाचारपत्रहरुमा मेरो फोटो र प्रशंसा छापिनपहिले नै भर्त्सना छापियो। समाचारपत्रहरुको निम्ति मैले किरातेश्वर पुरस्कार बलजफ्ती हत्याएको समाचार देशमा आतङ्कवादीले गरेको आक्रमणभन्दा पनि महत्वपूर्ण समाचार भइदिएर फटाफट भर्त्सना छाप्दै पाठकहरुको गोजीमा आक्रमण गर्नथाल्यो। आफू मरेपछि डुमै राजा हुन नपरेको लागि मलाई पनि नर्कीय आनन्द लाग्यो।

आफू त किरातेश्वर पुरस्कार हत्याएर ढुक्क थिएँ तर बाहुन समाज र छेत्री समाजको ‘मतवालीको षडयन्त्र चल्दैन….किरातेश्वर पुरस्कार हामी तागाधारीले पनि पाउँनुपर्छ’ नाराले नेवार सङ्गठनका योगवीर शाक्य र तामङ समाजका ललित गोलेको  हृदयमा सोझै प्रहार गरेछ, त्यसको परिणाम पछि मात्र चाल पाउन सकेँ। एक दिन साँझ आफ्नो नव-हत्याइ किरातेश्वर पुरास्कारलाई सुम्सुमाउँदै आँगनमा बसिरहेको थिएँ। मेरा वरिपरि बसेर हिज भिन्ना-भिन्नै सङ्गठनको जुलुसमा मेरै विरुद्ध लुकि-लुकी नारा लगाउने श्रद्धालुहरु मेरो ब्याज-स्तुति गर्नमा व्यस्त थिए एक्कासी घरको सानो गेटलाई नाँघ्दै आफ्नो कमण्डलु, डमरु, त्रिशुललाई च्याप्प पक्रेर पसीनाले लुथ्रुक्क भिजेका कैलाशपति शिवजी हामी बसेको माझ आएर लामो-लामो सास फेर्न थाले। उनको दशा देखेर म त अवाक भएँ। मेरा वरिपरि बसेका दलबदलु प्रशंसकहरुले अगाडि-पछाडि केही नहेरी सुइँकुच्चा ठोके। विस्फारित नेत्रले शिवजीलाई हेर्दै एकातिर म थिएँ अर्कातिर तेस्रो नेत्र पनि बन्द गरेर स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै लम्पसार परेका शिवजी। सरस्वती पूजामा पनि गाँजा तानेर शिवजीले कम भद्रगोल मच्चाएका थिए। लक्ष्मी र दुर्गाहरुको त कुरै छाडिदिउँ बिचरी काली पनि शिवजीदेखि तर्किंदा-तर्किंदा हत्तु भएकी थिइन्। अब आज मेरो हरिबिजोग गर्न शिवजी यहाँ आइपुगेछन् सोचेर नर्कलोक पुगेको मेरो हंस झण्डै अझ माथि महर्लोक पुग्यो। शिवजीले एकपल्ट लामो सास फेरेपछि आफ्ना दुइ आँखा खोल्दै मतिर हेरे अनि भने –“अहो लिवाङजी! आज त मेरो बिजोगै भयो !”

उनको बिजोगको कुरा सुनेपछि म चैं अब बिजोग हुँदिन रहेछु भन्ने तथ्य चाल पाएर मलाई ढुक्क लाग्यो। एकपल्ट मैले पनि आफ्नो छातीमा हात राख्दै लामो सास तानेँ अनि भनेँ-“पहाडका राजा भोलेनाथ ! के आपत आइपर्‍यो तपाईँलाई?”

उनले भने –“अपुई नसोध्नोस! ठूलो आपतमा फसेँको छु म त आज ।“

 

“कुनै कमिशन काण्डमा तपाईँको नाम आयो क्या हो…कि कुनै घोटालाको विवादमा फस्नु भयो!”

कमिशन र घोटालाको कुरा सुनेर उनी जुरुक्क उभिए अनि आँखालाई साम्यवादी जति नै रातो बनाउँदै भने-“ तपाईँ मसित जिस्किनुहुन्छ ? म जस्तो इमान्दारलाई त्यस्तो दोष लगाउनु हुन्छ…युगौँदेखि इमान्दारीपूर्वक म तपाईँहरुको सेवा गर्दै आइरहेकोछु….केही गरुँ कि नगरुँ तर मेरो इमान्दारीमा शक नगर्नोस् …..मेरो यो गति तपाईँले गर्दा नै भएको हो….बुझ्नु भयो?”

पहाडको सोझा नागरिक झैं चूप्प लाग्न नै उत्तम लाग्यो मलाई। एक छिन केही नबोली हात जोडेर म बसिरहेँ। “लौ भन्नुहोस् त म यहाँ कहिलेदेखि छु ?” – उनको यो अप्रत्याशित प्रश्नले एकपल्ट त म आत्तिएँ तर आफ्ना हातलाई यथावत नमस्तेकै मुद्रामा राख्दै भनेँ-“युगौंदेखि हुनुहुन्छ नि हजुर! तपाईँ यहाँ आउनु भएको त कत्ति हो कत्ति युग बितिसक्यो नि …..के हजुरलाई कसैले यहाँ विदेशी भन्यो?”

 

मेरो प्रश्न सुनेर उनी राता-नीला भए अनि हातको डमरुलाई जोड-जोडले बजाउँदै ऊ कराउन थाले-“त्यही त लिवाङजी….त्यो योगवीर शाक्यको पूजा कोठामा सजिएर बसेको पनि युगौं बितिसक्यो….उनका बराज्यूले मेरो कस्तो खातिर गर्थ्यो  …..बाजे र बाऊको त कुरै के गर्नु….तर अहिले योगवीर शाक्यले मलाई बेघर बनाइदियो।“

उनी बेघर भएको कुरा सुनेर अब मेरो कुन चाहिँ कोठा उनको नाममा शहीद हुने रहेछ भन्ने डरले मेरा नमस्तेमा जोडिएका दुइ हात लत्याक-लुतुक भएर फुस्कियो तर यो लिवाङले एक-दुइ राजनीतिक साथी-भाइहरुबाट कुन बेला कुन दलमा लाग्ने सिकेको कलालाई काममा लगाइहाल्यो -“अब…..महादेवज्यू म त झन खाँटी लिम्बू……फेदेम्मा नचाउने मान्छे हुँ……मेरो कुलमा त अरु कुनै बस्यो भने निमाफुमा ठुस्किन्छे, मिसेक ठुस्किन्छ…….पहिले निमाफुमा त्यसपछि मात्रै महादेव वा अरु कुनै…….तपाईँ अहिले देव भण्डारीको तिर एड्जस्ट हुनुहोस् न…..मकहाँ ठाउँ भए पछि म बोलाउँछु तपाईँलाई..!”

 

“तपाईँ मेरो चिन्ता नगर्नोस् लिवाङजी…….देव भण्डारीको तिर हुन्छ कि कतातिर हुन्छ त्यो त म मिलाईहाल्छु…..तर मोती प्रसाद शर्मा र किशोर छेत्रीले “मतवालीको षडयन्त्र चल्दैन-हामीले पनि किरातेश्वर पुरस्कार पाउनुपर्छ” भन्ने नारा लगाए त मेरो के दोष……मैले त त्यसो भनिन……तर त्यो नारा सुनेपछि शाक्यले “तँ तागाधारीको जासुस” भन्दै मलाई बाहिर हुत्ताइदियो अनि वर्षौँदेखि म बसेको ठाउँमा “मेरो आफ्नै नेवारी द्यो” भन्दै आफ्नो भगवान राख्यो…….म त दोधारमा छु……..म मतवालीको हुँ कि तागाधारीको……मलाई शाक्यले तागाधारीको भन्छ उता इन्द्रबहादुर छेत्रीले आफ्नो समालोचनामा मलाई खाँटी मतवालीको भनेर घोषणा गर्छ ।“ बिचरा देवहरुका देव महादेवको हालत देखेर मलाई खुबै दुख लाग्यो….समयले यस्ता वलबानको पनि यस्तो हालत बनाउँदोरहेछ भन्ने कुरो यही नर्कलोक आएर बुझेँ र महादेवलाई सांत्वाना दिंदै भनेँ –“युगौँदेखि बसेकालाई पनि कहाँ यसरी निकाल्न पाइन्छ……तर वी हेभ टु फाइण्ड अ पिसफुल सोल्युसन अफ द प्रोबलेम !”

मेरो सरकारी लवजलाई ध्यान नै नदिएर उनी झन आक्रोशित सोरमा बोल्न थाले –“ यस्तो नराम्रो पाराले हामीलाई बाहिर हुत्ताइदियो, पार्वतीको टाउको सरकारी बिल्डिङ्गको भित्तामा ठोक्किएर भित्ता नै भताभुङ्ग भयो…अब त्यो सरकारी कार्यालयले हर्जाना माग्यो भने म अनइप्ल्योडले कसरी तिर्नु !”

शिवजीको आक्रोश र क्रन्दन सकिएकै थिएन आफ्नो धनु-काँड सम्हाल्दै दशरथपुत्र राम आत्तिदै हामी भएको ठाउँमा आए। उनको पछाडि-पछाडि सीता र लक्ष्मण पनि हस्याङ-फस्याङ गर्दै आइपुगे। सहनशील रामले अनुहार बिगार्दै भने –“हाम्रो त बेहाल भयो लिवाङजी !”

रामले पूरै कुरा भन्ने मौका नै पाएनन – सीता मैया आगाडि आइन र भन्न थालिन – “ योपल्ट पनि प्रत्येक वर्ष झैं यहाँहरुले रावणवध गरेपछि हामी सोझै देउसुरे भट्ट्याउँदै दशैँ र तिहार मान्नु ललित गोलेको घरमा पुगेको त त्यहाँ निस्पट्ट अँध्यारो थियो….अब हाम्रो बिजुलीको खेल त सबैलाई थाहै छ…हामीले पनि पहिले त लोड-शेडिङकै काम होला भन्ठान्यौं….तर वरिपरि हेरेको त चारैतिर झिलिमिलि……हन हाम्रा भक्त ललित गोलेलाई केही आपत पो आइपर्‍यो कि भनेर यसो गोलेको घरभित्र चियाएर हेरेको त भित्रबाट डम्फु बजाउँदै गोले फुत्त बाहिर निस्कियो र चिच्यायो- ‘ ति’मेरु आइपुग्यौं ….अबदेखि मेरोमा आउनु पर्दैन……जा मोती प्रसाद शर्माकै घरमा जा….खुब मतवालीको षडयन्त्र चल्दैन भन्ने…..जा ति’मेरुसित हाम्रो सम्बन्ध छैन अब…खानु नै छ भने ल्होछारमा आइज….भागिहाल…..होइन भने छ्याङ्ग खाएर बसे’छु कि यही डम्फुको झटारो दिन्छु…..’ त्यहाँबाट भागेर हामी सोझै यहाँ आएको…..प्रत्येक वर्ष हामी त त्यहीँ जाथ्यौं…. हेर्नोस लिवाङजी अब हामी कता जाने? “

लावारिस राम-सीता र लक्ष्मणलाई घर फर्कौं अभियानमा आफ्नो दलमा सामेल गरौं भने पनि आफ्नो त दलै छैन। शिवजीको भारीमाथि अझ राम-सीताको सुपारी थपिंदा म आफै पो उल्टै बेघर भइने छाँट देखेँ।

 

कति लुकाउँदा पनि महादेव र रामको घटना कुन्नि कसरी बाहिर फिँजिएछ र बेलुकी स्वर्गलोकबाट डा. हर्कबहादुर छेत्रीको फोन आइहाल्यो –“लिवाङ भाइ……तिमी यो मतवाली र तागाधारीको इमोशनल कुरामा नअल्झ……शिवजी र रामलाई सुटुक्क सन्देश देउ बरु….उनीहरु मसित लागोस्…….कैलाशलाई जिल्ला बनाउने अनि अयोध्याको पर्जा-पट्टा रामको नाममा गराइदिने म कोशिस गर्छु।

 

किरातेश्वर पुरस्कार घोषणापछि मतवाली र तागाधारीको तँछाड र मछाड, शिवजी र रामको हालत र उनीहरु कुनै दलमा नलाग्ने हल्लाले नर्कलोकलगायत स्वर्गलोक र महर्लोकमा पनि ‘ल एण्ड प्रोब्लेम’ सिर्जना भयो। 144 धारा र कर्फ्यूको घोषणा भएपछि निष्कासित शिवजी र रामका हुलसित मलाई बाहिर आँगनमा उभिन पनि डरसरी भयो अनि घरभित्र लैजाउँ भने निमाफुमा रिसाउने डर। के गरुँ सोच्दैँ थिएँ गश्त लगाइरहेका यमराजका पुलिस-दल ट्वाक्क आइपुग्यो। दलका नेताले शिवजी र रामतिर औल्याउँदै हवल्दारी लवजमा सोधे –“ शाक्य र गोलेले निष्कासित गरेका स्वर्गलोकवासी के यिनीहरु नै हुन् ?”

मैले केही भन्नपर्ने संवैधानिक झमेला उठाउनै परेन…दलका नेताले सीतातिर हेरेर मुसुक्क हाँस्दै आफ्ना पुलिसदललाई अह्राइहाले –“ यिनीहरुलाई लगेर शरणार्थी शिविरमा हालिदे…नाम ठेकाना चाहिँ राम्ररी लेख्नु….जानुहोस तपाईँहरु अब शरणार्थी शिविरमा….तपाईँहरु मिलेर बस्दैन नि…खाली आफ्नो लाभ मात्र हेर्छ….फुटेर बस्दा यस्तै हुन्छ……..एकता भन्दा तपाईँहरु ‘ए कता’ सम्झिन्छ..लौ अब शरणार्थी शिविरमै बस्नु…तपाईँहरुको निम्ति त्यै ठिक छ।“ फेरि मतिर फर्केर उनले भने –“तपाईँलाई आफ्नै नर्कलोकवासी भनेर मात्र छोडिदिएको………..जानुहोस घरभित्रै बस्नोस् …।“

त्यो दिनदेखि म घरभित्रै छु, बाहिर के हुँदैछ सुन्दै गरेता पनि चासो राखेको छुइनँ। सुन्दैछु नर्कलोक र स्वर्गलोकमा घटेको यो काण्डले गर्दा तागाधारी र मतवाली गुटकाहरु एका-अर्काका महापुरुषहरुको मुर्ति तोडनुमा व्यस्त भएका छन् अरे। अस्ति एकहुल लिम्बुवानले रामकृष्ण शर्माको सालिक तोड्यो अरे। बदलामा मोतीप्रसाद शर्माको अगुवाईमा अच्छा राई ‘रसिक’को सालिक तोडेर टिस्टामा बगाउँदा विशाल राईको दलसित जम्का भयो अरे। यो एका-अर्काको सालिक तोडने कार्यको असर मधेशका मुर्तिशिल्पीहरुमाथि परेको छ अरे। किनभने पहाडमा सालिक सप्लाई गर्नु मधेशका मुर्तिकारहरुलाई हम्मे पर्दै छ अरे। केही दिनमा मधेशदेखि एक सयवटा जति पारसमणि प्रधान, शिवकुमार राईआदिको सालिक छेत्री समाजले मगाएर पहाडका विभिन्न ठाउँमा तोडने योजना छ भन्ने हल्ला छ। यो भद्रगोलको मुख्य अभियुक्त राई संघ [अरुणप्रकाश राई ग्रुप]-बाट अलग भएको राई संघ [कर्ण ग्रुप]-का विद्रोही नेता कर्णबहादुर चामलिङ हो भन्ने गाँइगुँई हल्ला छ। उसैले किरातेश्वर पुरस्कारको निम्ति मेरो नामको लबि चलाउँदै कुनै तागाधारीले यो पुरस्कार पाए सबै मतवालीले आन्दोलन गर्ने चेतावनी दिएको भनिदैंछ र उसलाई रद्द गरिएको पुरानो टाडा एक्ट-अन्तर्गत गिरफ्तार गर्न वारण्ट जारी भएको खबर वरिष्ठ पत्रकार अरुण कुमार रसाईलीले जनाएका छन् ।

यो घटनाको केही सकारात्मक प्रभाव पनि प्रकाशमा आएको छ। यो घटनाबाट दुखित भएर सी.के.श्रेष्ठले ‘सर्व भारत ता-म मञ्च’ नामक उन्मुक्त बिचारको एउटा अराजनैतिक राजनैतिक मुक्त संस्था स्थापित गरेर सबै लोकका मतवाली र तागाधारीलाई एउटै मञ्चमा उभाउने चेष्टा गरेका छन् अरे। दुवै मोर्चा पनि तागाधारी-गुट र मतवाली-गुट दुइ-दुइ खेमामा विभाजन हुनसक्ने पहाडका बुद्धिजीवीवर्गले अडकल लगाएका छन्। देउसी खेल्नु आफ्नो घरमा निम्ताउँदै शमसेर अलीले ‘मेरा पुर्खादेखि खेल्दै आएको देउसी मेरो घरमा खेल्दा मलाई केही आपत्ति छैन’ भन्ने मन्तव्य फ्यासबुकमा पोस्ट गरेका छन्। भागोपका स्थानीय शाखा नगोपले पनि ‘तागा र मतको सम्बन्धको मैत्री सन्धि अनि मैत्री चर्चा-परिचर्चा’ आयोजन गर्ने खबर छ। नारा, जुलुस र सभाहरुले गर्दा सुमन गुरुङको साउण्ड सिस्टम कार्यक्रमको एक महीनापहिले नै बुक गर्ने बाध्यता बनेको छ अरे ! गुढ कुरो – मतवालीहरुलाई सुमनले पच्चीस प्रतिसत रिबेट दिएको रहस्य तागाधारीहरुले भनक पाइसकेकाछन् । तागाधारी होइन तागाधारक शुद्ध नेपाली हो भन्दै हीरा छेत्रीले भाषाको एकरुपतामाथि फेरि प्रश्न उठाएका छन्। अर्कातिर सञ्जय विष्टले म र त मिलेर ज्ञ बनेको कारण मतको साटो ज्ञ र मतवालीको साटो सबै मतवालीले अबउसो ज्ञवाली लेख्नुपर्छ भन्ने तर्क राखेका छन्। उता पृथ्वीलोकमा कविवर मनोज बगोटीले ‘“तागाधारीको रङ्ग’ र टीका भाइले ‘मतवालीको पाइतालामुन्तिर’ कविता सङ्ग्रह प्रकाशित गर्ने योजना छ भन्ने हल्ला छ। डिके वाइबाले ‘नर्कलोक पोस्ट’ पत्रिका छपाएर अनि प्रदीप लोहागुणले ‘रित्तो नर्कलोक’ लघुतम चलचित्र बनाएर घटनाको फाइदा उठाएका छन् भन्ने लाञ्छना लगाउनेहरुमा उनकै मित्र-पत्रकारहरु नै धेरै छन् अरे। एका-अर्काको विरुद्ध नाराको फ्लेक्स छपाउने होडबाजीमा विभिन्न समाजका कार्याकर्ताहरुको ताँतले गर्दा उमेश उपमालाई दिन-रात फुर्सत छैन अरे ! शहरको चारैतिर विभिन्न गुटले नाराबाजी, सभा, जुलुस गर्दै पर्चा-फ्यास्टुन-चर्पीले शहरको जथाभावी फोहोर गरेको झट्टै सफा नगरे नरकपालिकाले सम्बद्ध दल-समूह-गुट-समाजविरुद्ध उचित कार्यवाही गर्ने चेतावनी निरीक्षक सञ्जय प्रधानले एउटा अधिसूचना जारी गरेर दिएका छन्।

 

जेहोस् – शिवजी, रामहरु अझै शरणार्थी शिविरमै छन्……….पार्वती बेपत्ता छिन्। हुन त बिनासित्ती अब किन पो झमेला लिइरहनु…..म ठहरे सामान्य मान्छे…आफ्नै सुती-खेती गरेर खाने……त्यसैकारण म ढुक्कले खाँदैछु………….सुत्दैछु………….भित्रै बसी-बसी लडाउँदैछु अनि यसको बापत खर्चपात पनि पाउँदैछु…….शर्माले जेसुकै गरोस्-गोलेले जेसुकै गरोस्-छेत्रीले जेसुकै गरोस्, शिवजीलाई जेसुकै होस्, रामलाई जेसुकै होस्, कसैको पनि सालिक तोडोस् मलाई त केही भएको छैन, मलाई त केही गरेको छैन, मेरो घरमा त बिजुली-पानी आउँदैछ र आफ्नो घरको दैलो मात्र होइन आफ्ना आँखा र कान पनि राम्ररी थुनेर आजसम्म भित्रै बस्दै आफ्नो पुर्खाले बसालेको चुपचाप बस्ने र भित्र-भित्रै एका-अर्कालाई लडाउने अनि खुट्टा तान्ने पुरानो पहाडी रीति-परम्परालाई यसरी राम्ररी अवलम्बन गरिरहेकोछु।

[पुनश्च: नर्कलोकमा यो काण्ड हुँदा मनोज बगोटी र टीका भाइलगायत, डिके वाइवा, प्रदीप लोहागुण, अनिल तैलेजा, छेवाङ योञ्जन – आदि नर्कलोकको वीजा नपाएर पृथ्वीलोकमै विचरण गरिरहेका थिए।]

[यो व्यङ्ग्यमा उल्लेखित जम्मै महानुभावहरुप्रति क्षमायाचनासहित] – अस्तु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया