
- सुनिता खनाल, काठमाडौ
मलाई साबुनजस्तै बेचिदिने
मेरै सहोदर माइती हुन्
मलामी गइरहेका छन् संसारका सारा सुन्दर कविता
म छु
सोला काँडाहरुको चिहानमाथि।
बधशालाको खिड्कीबाट छिरेको घाममा
टल्किरहेको छ मेरो रगत
भुइभरि।
त्यसैको माथिल्लो तल्लामा
गुञ्जिरहेको छ उत्ताउलो धून
र बजिरहेको छ लेडिज ब्लुज।
एउटा उदास सिम्फोनीसित
एउटै ताल
र एउटै लयमा
नाचिरहेछ सरकार।
हो,
मलाई साबुनजस्तै बेचिदिने
मेरै सहोदर माइती हुन्
यद्धपि
छोरी सहरमा जागिर खाइरहेकी ढुक्कमा
परेवा झैँ घुरिरहन्छन् मेरा बा
आँखाआँखामा फुल्छन् सपना सङ्गीहरूको
छिमेकी चियो गर्छन् मेरो घरभित्रको हाँसोको
आमाको पोल्टो छाम्छन्
वेरोजगार नानीहरू।
म सहरकी बेहद सुन्दरी
काफ्काको ग्रेगर सामसा
अर्थात केवल मासु मरेको लाश
जसलाई ठुँगिरहेका छन्
भोका गिद्धहरू
र भन्किरहेका छन् हरिया झीँगा।
म
आफ्नै रगतको मसीले
उधारेको चुन्नीमा लेख्दै छु
यो अचर्चित कविता।