बन्द जारी रहने सन्देशसितै छोड़े विद्यार्थीहरुले पहाड़

दार्जीलिङः दार्जीलिङ पहाड़मा बन्द अझै निकै दिन जारी रहने सन्देश छोड़्दै आज पहाड़का विभिन्न स्कूलहरुका विद्यार्थीहरुले पनि पहाड़ छोड़े। दार्जीलिङका कतिपय स्कूलले आफ्नो होस्टलमा बसेका विद्यार्थीहरुलाई  आज बिहान लगभग 4 बजीदेखिनै आ-आफ्नो घर पठाउन शुरू गरेका थिए।

यसरीनै दार्जीलिङ शहरका विभिन्न स्थानहरुमा पेइङ गेष्टका रूपमा अनि घर भाड़ा लिएर बसेका विद्यार्थीहरु पनि आज आ-आफ्नो घर प्रस्थान गरे। विशेष गोर्खा जनमुक्ति मोर्चाले आज 23 जूनको बिहान 6 बजीदेखि साँझ 6 बजीसम्म दार्जीलिङ पहाड़का विद्यालयहरुका होस्टलमा बसिरहेका विद्यार्थीहरुलाई घर जानको लागि छूट दिएको थियो, जसको लागि लगभग प्रायः विद्यालयहरुले आ-आफ्ना विद्यार्थीहरूका लागि स्कूल बस अनि साना गाड़ीहरुको व्यवस्था गरिदिएको थियो। जसको माध्यमबाट विद्यार्थीहरुले आज पहाड़ छोड़ेका छन्।

गोजमुमोले होस्टलहरुमा बसेका विद्यार्थीहरुलाई पनि पहाड़ छोड़्ने निर्देश दिएपछि दार्जीलिङ पहाड़मा जारी रहेको बन्द अझै निकै दिनसम्म जारी रहने स्पष्ट संकेत पाइएको छ। यसैबीच, दार्जीलिङको एक प्रसिद्ध आईसीएसई माध्यमको सन्त जोसेफ स्कूलमा लगभग 200 विद्यार्थी होस्टलमा थिए, जसलाई आज बिहानै स्कूलबाट आ-आफ्नो घर पठाउने व्यवस्था गरियो।

सन्त जोसेफ स्कूलमा हाल दार्जीलिङ पहाड़सँगै सिक्किम, नेपाल, भूटान, थाइल्यान्ड आदि क्षेत्रका विद्यार्थीहरु अध्ययनरत छन्। जो यस स्कूलको होस्टलमानै थिए। तर आज उनीहरुलाई सिलगढ़ीसम्म जानको लागि व्यवस्था गरिदिएको थियो। यसैबीच, धेरैवटा विद्यालय होस्टलमा कैयौं विद्यार्थीहरु बसे पनि यी स्कूलहरुका आफ्नो गाड़ी नभएको कारण यस्ता स्कूलका विद्यार्थीहरुलाई गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाका कार्यकर्ताहरुलेनै गाड़ीहरुको व्यवस्था गरेर सिलगढ़ी तथा सिक्किमको रङ्पोसम्म पुर्याउने व्यवस्था गरेका थिए। तर विद्यार्थीको लागि व्यवस्था गरिएका गाड़ीहरुमा चड़ेका अन्य यात्रीहरुलाई गोजमुमोका पिकेटरहरुले आधा बाटोमानै गाड़ीबाट झारिदिएको जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन