मूर्ततातिर हस्तक्षेप

विमर्श 


 

  • बी० पी० बजगाईं, सिलगडी, भारत

हुन त मेरो यस्तो लेखले आम मानिसलाई केही फाइदा पुग्ने होइन। यद्धपी लेख्नेगर्छु|। किनभने तर्कपूर्ण, विधिपूर्वक, एवं क्रमबद्ध विचार राखेर कुरालाई सापेक्षिक रूपमा जाँच्ने कसीले नै यस्ता अवधारणाका व्यवहारिक प्रयोगहरूलाई हुर्काउँछन्, शंका-कुशंकालाई छुट्याउँछन् अनि विचारले टेक्ने छुट्टै धरातल पाएको हुन्छ। यस्ता विचारहरूलाई हामीले वैचारिक मन्थनको ठेकीमा हालेर मोई पारेनौं भने समाजलाई घिऊ कसरी पस्कनु र?


यो लेख लेख्न बस्दा मैले तीनवटा कुरालाई ध्यानमा राख्नुपर्ने स्थिति थियो। मलाई मनोज बोगटी भाईले आग्रह गरे, “दा, तपाईंबाट एउटा खरो आलोचनाको आशा गर्छु।”

यसो सोचें, हाम्रो भेकमा साहित्यिक, सामाजिक अनि राजनैतिक पाटोहरू रूखो भएकोले पानी छम्किनुपर्ने अवस्थामा पुगेका छन्। रूखो लाग्ने खरो आलोचनामा परिमार्जनका आधारहरू प्रश्नको रूपमा राख्न सकिन्छ कि सकिँदैन भन्ने कुरा मैले ध्यान पुऱ्याएको पहिलो कुरा थियो। दोस्रो, मनोज भाईहरू कै प्रयासमा भारत-नेपाल लगायत, अन्तराष्ट्रीय समाचार, साहित्य, राजनीति, खेल, कला, विचार जस्ता स्तम्भहरू बोकेर एउटा नयाँ वेबसाइट ‘खबरम्यागजिनडटकम’ शुरू हुनगईरहेको थियो अनि मेरो लेख त्यसैको निम्ति थियो।

यसको अर्थ यसको उभिने पाटो एकदमै काँचो अवस्थामा रहेको बोध भयो। तेस्रो, मनोज बोगटी भारतीय नेपाली साहित्यमा हस्तक्षेप अवधारणा जन्माउने पाँच विशिष्ट युवा साहित्यिक मध्ये एक हुन्।

मैले तुरन्तै सोधेँ, “भाई यस नयाँ वेबसाइटले हस्तक्षेपको वकालत गर्दैन होला नि?”

किनभने हामीलाई सबैको विचारलाई समान आँखाले हेर्ने एउटा आधार खट्किरहेको नै थियो अनि छ।

“गर्दैन दा”, मनोजले मलाई आश्वस्त पारे।

मेरो एसिड टेस्ट सकिएको थिएन भन्ने कुरा उनले कुरा बुझेको जस्तो लाग्यो। उनले नै मलाई अझै आश्वस्त पार्दै भने “दा, तपाईँको एउटा आर्टिकल दिनुस् न, तर हस्तक्षेपमाथिको खरो आलोचना।”

ढुक्क भएँ…, त्यसैको परिणाम हो यो लेख। यस लेखमा आलोचना छैन, केवल मेरो दृष्टिमा खट्किएका कुराहरूलाई मात्र उठान गरेको छु। हस्तक्षेपको राम्रो पक्षहरूको उठान कुनै अर्को लेखमा गर्ने सोचेको छु।

सबैभन्दा पहिला म मनोज बोगटी लगायत खबरम्यागजिनडटकमका सबैलाई हार्दिक शुभकामना दिनचाहन्छु। यसले भारतीय नेपाली साहित्यले हराएको गौरवमय दिनहरूलाई फर्काएर ल्याओस अनि अझै उच्चता दिन सकोस्। पठनलाई बुद्धिजीवीवर्गको घेरामा रहने सीमित अवस्थाबाट निकालेर स्-साना आँगनहरू, खेतबारी, कर्मस्थल सबैतिर पुऱ्याउन सकोस्। चिरन्जिवी होस्।

दार्जीलिङ सिर्जना उत्सव – २०१६ को तेस्रो दिन विमोचन गरिएको हस्तक्षेप-२ मा भएको अवधारणा ‘हस्तक्षेप प्रतिमान’ – नै यस लेखको आधार हो।

साहित्यलाई समयले प्रभाव पारेकै हुन्छ। समय सापेक्ष सामाजिक, राजनैतिक, धार्मिक, आर्थिक घटनाहरू अनि त्यसबाट सिर्जित विचारहरूले साहित्य लेखनलाई सञ्चालित गरेकै हुन्छ। यस्तै कुराहरूलाई नियममा बाँधेर लेख्छन् कसैले अनि त्यो नयाँ साहित्यिक आन्दोलन बन्छ।

धेरै वर्ष अघि मैले विचार सङ्कलनमा लेखेको केही कुरा पुनः टिपेर भन्दछु, प्रभावित विचारद्वारा सञ्चालित लेखनमा लेख्दा कतिजनाले अवधारणाभित्र बसेर पनि लेख्छन्। उनीहरूले कुनै चिन्तनलाई सोझै नपक्रेर अलिकति टाडा राखेर अमूर्त विचार दिन्छन्, किनभने उसको चेतनामा वस्तु अनि परिघटनाहरूका प्रत्यक्ष संक्रिया भएकै हुँदैनन्, चेतनामा बसेका यस्ता बिम्बहरू अवधारणा हुन्।

अवधारणाले वस्तुलाई अर्थ अनि अर्थलाई वस्तुसँग जोडेर विचारको मूर्तता खोज्दछ। अवधारणा व्यष्टिगत संवेदनाहरूका परावर्तनका रूप भए तापनि अभिव्यक्त भएपछि यसको सामाजिक महत्व चिन्तनका सम्भावनाहरू सञ्चालित गर्नु रहन्छ। यसैले अवधारणाको दर्शनशास्त्रमा महत्व हुन्छ।

यस्तै एउटा अवधारणा ‘हस्तक्षेप’ हो।

यसैले गर्दा हस्तक्षेपले प्रतिमान नाममा अवधारणाको दोस्रो खण्ड निकालेको हो। स्थापित सिद्धान्त बन्न सकेको दिन यसको पहिलो, दोस्रो, तेस्रो खण्ड निकाल्ने आवश्यकता रहँदैन। एउटै सिद्धान्त रहन्छ जसको व्याख्या समयानुकुल हुँदैजान्छ।

हस्तक्षेप समाज विज्ञानसँग सम्बन्धित शब्द हो।

संज्ञानमा आएको नयाँ वस्तु/वस्तुता अनि पहिल्यैबाट आर्जित व्यवहार, संस्मरण अनि विचार दर्शनमा वैचारिक हस्तक्षेपको सैधान्तिक आधार हो जसलाई हामी Interference theory in psychology अन्तर्गत पढछौं। भाषिक हस्तक्षेपको आधार पनि यसै सूत्रभित्र बसेको हुन्छ। द्वितीयक भाषाको प्रभावले प्राथमिक भाषाको व्याकरण, उच्चारण आदिमा विस्तारै घुसपैठ गर्ने गर्दछ। यसैको परिणाम स्वरूप हामीले भारतमा अन्य भाषीको तुलनामा नेपाली भाषी अल्पसंख्यक रहेका क्षेत्रहरूमा उनीहरूको बोल्ने तरिका त्यहाँको प्रमुख भाषाबाट प्रभावित भएको पाउँछौं। दर्शनमा हस्तक्षेप सिद्धान्त भनेको संज्ञानमा आएको वस्तुको नयाँ चरित्रलाई त्यसको पुरानो ज्ञात व्यवहारसँग चिन्तनका आधारहरू भित्र हेरिने दृष्टि हो।

हस्तक्षेप भन्ने बित्तिकै झल्यास्स मनमा आउने कुरा भनेको दुइवटा वस्तु अथवा विचारले एउटै स्थान लिने कोशिष गरिरहेको स्थिति हो। यसलाई हामी Interference fit भनेर पनि बुझ्ने गरेका छौं। अर्को स्थिति चाहीं सम्प्रेषणमा किन्चित परिवर्तन गर्नु, पूर्ण रुपान्तरण गर्नु, हेरफेर गर्नु, आफुले नचाहेको सम्प्रेषणको एउटा रूपलाई बाधा पुरयाउनु पनि हो, यसलाई हामीले Interference communication भनेर बुझ्दा हुन्छ। यी भए हस्तक्षेप शब्द सम्बन्धमा परिचायत्मक टिप्पणी।

लौ त, हस्तक्षेप -२ पत्रिकामा छापिएको यसको अवधारणाको दोस्रो खण्डमा भएका केही विचारहरूलाई केलाएर हेरौं:

अवधारणाको ‘हस्तक्षेप र विचार’ खण्डले भन्छ:

हस्तक्षेप अनावश्यक, अनिर्दिष्ट अनि अवैचारिक लेखन होइन। यो समुहबोधी सिर्जनात्मक लेखन हो। यो गणतान्त्रिक अनि जनपक्षीय विचार हो। गतिशील विचारलाई यसले अंगीकार गर्दछ। यसका चारित्रिक तत्वहरू समयबोध, जैविकता, वैज्ञानिक मानसिकता, राजनैतिक धार, सामाजिक मनोविज्ञान अनि उपयोगिता मूल्यबोधहरू हुन्।

विमर्श:

माथिका विषयहरूलाई एकमुष्ठरुपमा हेर्दा मूल तत्व समयबोधी जनपक्षीय तत्व हस्तक्षेपले बोक्न चाहन्छ। हस्तक्षेपले कुरा त राजनैतिक धारको पनि गरेको छ। विश्वका सबै स्थापित सामाजिक अनि राजनैतिक सिद्धान्तहरूले समयबोधी चिन्तन नै दिनखोजेका हुन्। त्यस्तो स्तिथिमा हस्तक्षेपले ती सिद्धान्तहरूलाई कसरी हेर्छ, उनीहरूको समयबोध र अरूहरूको समयबोधमा के फरक छ भन्ने कुरालाई पाठकहरूमाझ स्पष्ट पार्नु खाँचो छ।

खाँचो किनपनि छ भने अहिले लेखिँदैगरेका साहित्यहरू अधिकांश नै दह्रिलो समयबोध भएका रचनाहरू छन् अनि उनीहरू हस्तक्षेपी होइनन्, यस्तो अवस्थामा हस्तक्षेपसँग अलग के छ भनेर स्पष्ट देखाउने समयबोधी चेत अनि कन्टेन्ट हामी पाठकले पर्खिएका हुन्छौं। गणतान्त्रिक मूल्यबोधको कसीमा उभिने जनपक्षीय विचार नै यदि यस अवधारणाको विशेष कन्टेन्ट मान्नु हो भने आजको गणतन्त्रको खस्कँदो अभ्यास अनि यस प्रति आममानिसको झर्दो विश्वासलाई कसरी सम्बोधन गरिनुपर्छ अनि त्यसलाई प्रयोगमा हस्तक्षेपले कसरी ल्याउँछ भन्ने प्रश्न पनि दह्रैसँग उभिन्छ।

केवल हामी यो यो कुरालाई मान्छौं भन्नुमात्र चाहीं अवधारणा उभ्याउने आधार बन्दैन। कसरी मान्छौं, कसरी बुझेकाछौँ, कसरी प्रयोग गर्छौं भन्ने कुराहरू प्राथमिक महत्वका कुराहरु हुन्छन्।

अवधारणाको ‘हस्तक्षेप र विज्ञान’ खण्डले भन्छ:

हस्तक्षेपले सत्य र असत्यको उत्खनन् गर्छ, निष्कर्षलाई अन्तिम मान्दैन, अन्तर्विरोध र अन्तर्सम्बन्धहरूमा मात्र कुराहरूलाई बुझ्न खोज्छ।

विमर्श:

प्रत्येक असत्यहरू आफ्ना पाटामा सत्य हुन्छन्। यदि असत्य हुनुको किन्चित अंशमात्रपनि उभ्याउने हो भने त्यसको उपस्थिति नै हराउँछ। प्रत्येक उपस्थिति आफैमा सत्य हुन्। अवधारणाको यो अंश पूर्णरूपले अवैज्ञानिक रहेको मेरो आफ्नो मान्यता छ।

 

हस्तक्षेपको झनै चाखलाग्दो अवधारणा के हो भने यसले निष्कर्षलाई अन्तिम मान्दैन। यहाँ लेखनमा केही चुक भएको हो कि? निष्कर्षको कुन रूपलाई, कुन अवस्थानलाई अन्तिम नमान्ने? केही निष्कर्षको त रूप र अवस्थान समेत हुँदैनन्।

उदाहरण हेरौं, मानव ज्ञानको अहिलेसम्मको निष्कर्ष ‘सूर्य पृथ्वीमा जीवनको मूल आधार हो।’  मेरो चेतनाले भन्छ यस निष्कर्षको न त रूप छ, न त अवस्थान नै छ। लौन त, यस निष्कर्षलाई अन्तिम नमानेर कसरी हेर्ने?

यो केवल एउटा उदाहरण हो।

यसैले पुनः भन्दैछु लेखाईमा चुक भएको हुनसक्छ, निष्कर्षको कुन रूपलाई, कुन अवस्थानलाई अन्तिम नमान्ने? त्यसको पूर्ण व्याख्याको अभावमा उभिएको छ ‘हस्तक्षेप र विज्ञान’ खण्ड।

हस्तक्षेपले अन्तर्विरोध र अन्तर्सम्बन्धहरूमा मात्र कुराहरूलाई बुझ्न खोज्छ भनिएकोछ। अन्तर्विरोध र अन्तर्सम्बन्धहरूलाई बुझ्न खोज्दा कालखण्ड आवश्यक शर्त हो कि होइन भन्ने कुरा लेखिएको छैन अवधारणामा। चुम्बकका आकर्षण-विकर्षण जस्ता केही वैज्ञानिक अवस्थान बाहेक अधिकांश अन्तर्विरोध र अन्तर्सम्बन्धहरू अलग अलग कालखण्डमा अलग अलग चारित्रिक विशेषताहरू बोकेर उभिएका हुनसक्छन्। झन् वैचारिक अवस्थानमा भएका हिजोका अन्तर्विरोध आजका अन्तर्सम्बन्ध अनि आजका अन्तर्सम्बन्ध भोलिका अन्तर्विरोध हुनसक्छन।

कुरा सापेक्षताको हो।

यसैले अन्तर्विरोध र अन्तर्सम्बन्धहरूमा मात्र कुराहरूलाई बुझ्न खोज्नु वैज्ञानिकता हुँदैन। अन्तर्विरोध र अन्तर्सम्बन्धहरूलाई सापेक्षताको कसीमा राखेर मात्र कुराहरूलाई बुझ्न खोजिनुपर्छ।

हस्तक्षेपको यसै खण्डमा यसले यथार्थबाट भ्रम अनि भ्रमबाट यथार्थ केलाउँछ भनिएको रहेछ। भ्रम आफै भ्रम हुनुको यथार्थ हो, हाम्रो अवचेतनमा घर बनिएका यथार्थहरूभित्र भ्रम हुँदैनन्।

हुन त मेरो यस्तो लेखले आम मानिसलाई केही फाइदा पुग्ने होइन यद्धपी लेख्नेगर्छु|किनभने तर्कपूर्ण, विधिपूर्वक, एवं क्रमबद्ध विचार राखेर कुरालाई सापेक्षिक रूपमा जाँच्ने कसीले नै यस्ता अवधारणाका व्यवहारिक प्रयोगहरूलाई हुर्काउँछन्, शंका-कुशंकालाई छुट्याउँछन् अनि विचारले टेक्ने छुट्टै धरातल पाएको हुन्छ यस्ता विचारहरूलाई हामीले वैचारिक मन्थनको ठेकीमा हालेर मोई पारेनौं भने समाजलाई घिऊ कसरी पस्कनु र?

अवधारणाको ‘हस्तक्षेप र भाषा’ खण्डले भन्छ:

विशाल जनसमुहले प्रयोग गर्ने भाषा नै लेखनमा पनि, कला-शैली-तकनिकी अपवाद छाडेर, प्रयोग गरिनुपर्ने हो|

विमर्श:

यो अवधारणा आफैमा विरोधाभासपूर्ण अनि अवैज्ञानिक छ। एकातिर भनिएको छ, यो गणतान्त्रिक अनि जनपक्षीय विचार हो। गणतन्त्रमा न्यूनतम जनसंख्याले बोल्ने भाषाको स्थानबारेमा हस्तक्षेपको उभ्याई नै गलत छ। यसको अर्थ हस्तक्षेप गणतान्त्रिक नभएर बहुसंख्यकको पृष्ठपोषक हो त? स्पष्टिकरणको खाँचो छ। विशाल जनसमुहले प्रयोग गर्ने भाषा नै लेखनमा पनि प्रयोग गरिनुपर्ने हो भने हस्तक्षेप लेखन किन नेपाली भाषामा छ त? अंग्रेजीमा किन छैन? हस्तक्षेपको यो अवधारणा त नवउपनिवेशवादी झैँ देखियो नि…। सम्भवतः यहाँ परिमार्जनको खाँचो छ।

अवधारणाको ‘हस्तक्षेप र राजनीति’ खण्डबारे:

अवधारणाको ‘हस्तक्षेप र राजनीति’ खण्डबारे केही लेख्न मिलेन। राजनीति मान्छेले गर्ने संघर्ष भनिएतापनि हस्तक्षेपसँग पार्टीलाइन नभएकोले केवल कागजी राजनीतिको कुरा गर्नु समयको बर्बादीमात्र बन्छ। लेखेर मात्रै जनपक्षीय सत्ता आएको इतिहास विश्वले हेर्न बाँकी नै छ। यसबारेमा मलाई ज्ञान छैन।

अवधारणाको ‘हस्तक्षेप र किनारीकरण’ खण्डले भन्छ:

हस्तक्षेपले किनारीकरणलाई टेक्निकल्ली उत्तर-उपनिवेशी ‘उप-संस्कृति’ (सब कल्चर) –को रूपमा हेर्छ, जसको सिर्जनात्मक चलखेल विशेषतः गोर्खा सम्प्रदायतिर केन्द्रित छ। किनारीकरणसँग ‘किनारा’ –मा आएकाले ‘केन्द्र’ -मा पुग्नु पाउनु पर्ने हकको दावा त छ, तर बाटो / टेक्निक / दिशा भेटिहालिँदैन। हस्तक्षेपसँग दिशाबोध छ, त्यो हो – सत्ताले हस्तक्षेप गरिराखेको पाठकको विचारमा सिर्जनात्मक (प्रति) हस्तक्षेप गर्नुपर्ने।

विमर्श:

केन्द्रीय वर्चस्वशाली सांस्कृतिक मुल्यले एथ्निक सांस्कृतिक मुल्यप्रतिको दृष्टि नै धमिल्याउने गरेको स्तिथिमा किनारीय लेखनले आफ्नो गोरेटो कोर्ने प्रयास गरेको कुरा श्री मनप्रसाद सुब्बा -ले अन्नपूर्णा पोस्ट -मा १ फागुन २०७२ मा नै लेखिसकेका छन्।

यहाँ सुब्बाले केन्द्रीय वर्चस्वशाली सांस्कृतिक मूल्य भनेको उत्तर उपनिवेशी सांस्कृतिक मूल्य मात्र नभएर हिमाली संस्कृतिमा प्रभावशाली ठूला वर्ग (संख्या अधिक भएका)-ले साना वर्ग (संख्या कम रहेका)-लाई थिचेर बनाएको ठूला वर्गको वर्चस्व भएको सांस्कृतिक मूल्य पनि हो। यहाँ भनिएको एथ्निक सांस्कृतिक मुल्य चाहीं साना वर्गका बोल्ने, जिउने, लाउने समष्टिगत कुराहरू हुन्।

किनारीकरणले साहित्यमा केन्द्रमा पुग्नुपर्ने हकको दावा कहीं कतै गरेको लेख देखापरेको छैन। किनारीकृत वर्गका बोल्ने, जिउने, लाउने समष्टिगत कुराहरूलाई मर्न नदिने, बचाएर राखिनुपर्ने अथवा सुरक्षा गरिनुपर्ने सोच बोकेको अवश्य छ। किनारीकरण पूर्णरूपमा Subaltern प्रभावित लेख होइन, किनभने भारतको दार्जीलिङ अनि आसामका चिया कमान बाहेक अङ्ग्रेजहरू नपुगेका नेपाली भाषी ग्रामीण क्षेत्रहरू, भुटान अनि नेपालका अङ्ग्रेजहरूका कल्पनाभन्दा पर भएका नेपाली भाषी सुदुरवर्ती ग्रामीण क्षेत्रहरूमा भएको सांस्कृतिक थिचो-मिचो उत्तर उपनिवेशी थिचो-मिचो नभएर कल्व्हणकालिन राजतरङ्गगिणीदेखिको लिखित इतिहास हो। किनारीकरणसँग बाटो/टेक्निक/दिशा छैन भनेर भनिहाल्न सकिँदैन। किनभने किनारीकरणले एथ्निक सांस्कृतिक मुल्यको निम्ति कलम उठाएको छ, सामुहिक स्वर खोजेको छ, सामुहिक स्वर नारा बन्न सक्छन्। त्यो नै किनारीकरणको ‘बाटो / टेक्निक / दिशा’ हो, औजार हो / हुनसक्छ।

 

अवधारणाको ‘हस्तक्षेप र समावेशी’ खण्डले भन्छ:

सबै खाले वर्ग, सबै खाले विचार एकैसाथ वास गराउनु खोज्नु बाघ र मिर्गलाई एकैसाथ एउटै कोठामा राख्नु जस्तै हो। हस्तक्षेपले समावेशीको वैचारिक तुवाँलो साझे गर्न सक्दैन।

विमर्श:

पक्का हो, बाघ र मिर्ग एउटै कोठामा राखिँदैन, तर बाघ र मिर्ग एउटै जङ्गलमा पाइनु प्रकृतिको पहिलो शर्त हो। बाघ र मिर्ग एउटै जङ्गलमा नहुनु भनेको खाद्य शृङ्खलाको पिरामिड कडीको नियम भङ्ग हुनु हो। यहाँ एउटै कोठामा राख्नु भनेको मानव चेतनाको पूर्वनियोजित कार्य हो  अनि एउटै जङ्गलमा पाइनु भनेको नैसर्गिक घटना हो। हस्तक्षेप कै भाषामा भन्नु हो भने बाघ र मिर्ग एउटै जङ्गलमा पाइनु अर्ग्यानिक कुरा हो। यदि हस्तक्षेपले अर्ग्यानिक लेखन लेख्छ/खोज्छ भने बाघ र मिर्गले जङ्गलमा सँगै एउटै पोखरीको पानी पिएको दृश्यलाई अविश्वास गर्नु हुँदैन। समावेशीसँग वैचारिक तुवाँलो छन् भने त्यसलाई भविष्यमा अध्ययन गरौँला।  हस्तक्षेपीले कुनै कुरालाई हेर्ने दृष्टिकोण भने तुवाँलोरहित राखे भने अवधारणालाई वैचारिक कसीमा घोट्दै सैद्धान्तिक यात्रामा धेरै अघि बढ्ने सम्भावनालाई नकार्न सक्दिनँ। किनभने हस्तक्षेपीसँग लेखकीय शक्ति छ, उत्खनन् गर्ने उर्जा छ, चेतनालाई पल्टाएर हेर्ने दह्रिलो प्रयास छ।

 

अवधारणाको ‘हस्तक्षेप र प्रगतिशील र प्रगतिवाद’ खण्डले भन्छ:

हस्तक्षेप ठ्याक्क मार्क्सवादी लेखन नै त होइन न प्रगतिवादी-लेखन नै हो। किनभने, हस्तक्षेपसँग कुनै ‘पार्टीलाइन’ छैन।

विमर्श:

उन्नति अर्थात् अघि बढ्नु भनेको प्रगति हो, प्रगतिवाद भनेको अघि बढ्ने सिद्धान्त हो। यस सिद्धान्तमा अघि बढ्ने नियम भने निश्चित छ, आदर्शबाट यथार्थतिर, पुरानोबाट नयाँतिर, रूढ़ताबाट स्वच्छन्दतातिर, उच्चवर्गबाट निम्नवर्गतिर, शान्तिबाट क्रान्तितिर प्रगतिवाद समयानुकुल अघि बढिरहेको हुन्छ। यहाँ प्रगतिवाद उच्चवर्गबाट निम्नवर्गतिर बढ्छ भनेर सम्पन्नताको सन्दर्भमा भनिएको होइन। आर्थिक मापदण्ड बोलेको/लेखेको होइन। उच्चवर्गकाहरूले निम्न वर्गकाहरूलाई उनीहरुका उत्थानका लागी कहिल्यै सम्बोधन गर्दैनन्, …उच्चवर्ग हेजिमोनी। उनीहरूभित्र निम्नवर्गतिर हेर्नु बाध्य बनाउने चेतन औजार हो प्रगतिवाद।

तर अवधारणाको यस खण्डले प्रगतिवादको अर्थलाई मार्क्सवादी पार्टीको साहित्यको रूपमा रूढ़ बनाएको छ। प्रगतिवाद यस अर्थभन्दा केही बेग्लै हो। समयचेत राखेर सापेक्षिक सत्यमा उभिने सबै द्वन्दहरू नै साहित्यमा प्रगतिवाद हुन्। प्रगतिवादमा दृश्य कुरुपता पनि बोधार्थ सौन्दर्य हुनसक्छ। सबै अघिल्ला साहित्यहरूलाई प्रतिक्रियावादी साहित्य भन्ने मार्क्सवादी राजनीतिको प्रचार गर्ने साहित्यिक मोर्चा प्रगतिवाद होइन।

त्यो त प्रगतिवादको खोल ओडाईएको स्वार्थी राजनैतिक साहित्य हो जसको प्रगतिवादसँग कुनै सम्बन्ध छैन। प्रगतिवादले सबै अघिल्ला साहित्यहरूलाई समेत कालखण्डभित्रका गतिशील साहित्य ठानेर अध्ययन गर्दछ। यहाँ हस्तक्षेपको किनारीकरण खण्डलाई पुनः उल्लेख गर्नुपर्ने भयो। यस खण्डमा आफ्नो अवधारणामा सत्ताले हस्तक्षेप गरिराखेको पाठकको विचारमा सिर्जनात्मक (प्रति) हस्तक्षेप गर्नुपर्ने दिशाबोध आफूसँग भएको बताइएको छ।

सत्ताले हस्तक्षेप गरिराखेको विचारमा सिर्जनात्मक (प्रति) हस्तक्षेप नै प्रगतिवाद पनि हो। यही कुरा प्रगतिवादले गर्छ। प्रगतिवादले यस भन्दा पर गएर व्यवहारिक हस्तक्षेपसम्मको कुरा गर्छ। यसैले, हस्तक्षेपसँग कुनै पार्टीलाइन छैन भन्दामात्र मार्क्सवादी लेखन अनि प्रगतिवादी लेखन होइन भन्नुको बलियो आधार बन्न सक्दैन।

हस्तक्षेप अवधारणा हो। अवधारणा एउटा अमूर्त विचार हो। अंक २ मा पनि हस्तक्षेपको मूर्त रूप स्पष्ट छैन। आशावादी छु,  भविष्यमा यसले समयसापेक्ष मूर्त रूप पेश गर्नेछ। विश्वास पाल्न सकिन्छ, एकदिन यसले नयाँ सिद्धान्त उभ्याउनेछ।

[विशेष नोट: मैले यस लेखमा अवधारणाको ‘हस्तक्षेप र कला’ खण्डको चर्चा गरिनँ। किनभने कला व्यापक विषय हो अनि यस लेखमा यसबारे चर्चा गरे लेख आवश्यकता भन्दा लामो तन्किने सम्भावना रहन्छ। कुनै अवसरमा त्यसबारे छुट्टै लेख्न सकिन्छ।]

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया