तृणमूलको दुइ पार्षद गए मोर्चामाः युवा मोर्चा अध्यक्षले भने, उप्रान्त जसले जीटीए चलाउँछु भन्छ उसको टाउको झोलामा जीउ खोलामा हुन्छ

विज्ञापन

कालेबुङः कालेबुङ नगरपालिकामा दुइवटा सीट जित्ने तृणमूल काङ्ग्रेसका पार्षदहरू आज गोर्खा जनमुक्ति मोर्चामा सामेल भए। उनीहरू 9 नम्बर वार्डका भीम अग्रवाल अनि 12 नम्बर वार्डका आशिफ अन्सारी हुन्।

‘मैले झण्डाको निम्ति होइन, जाति र माटोको निम्ति तृणमूल त्यागेको हुँ,’ आशिफ अन्सारीले भने, ‘यतिखेर जनताले आन्दोलन गरिरहेको छ। सबै आन्दोलनमा हुँदा म पर बस्न सक्दिन। छुट्टै राज्य मलाई पनि चाहिन्छ।’

दुइ पार्षदलाई डम्बरचौकको ऱ्यालीबिच मोर्चा कार्यकर्ताहरूले खदा लगाएर पार्टीमा स्वागत जनाए।

यसैबीच पथसभालाई बोल्दै कालेबुङ जिल्ला युवा मोर्चाका अध्यक्ष वारुद थापाले अब जीटीए त्यगिसकिएको र उप्रान्त कसैले पनि जीटीएतिर फर्किए ठिक नहुने बताए।

‘कुनै पनि नेता, त्यो जुनै पनि पार्टीको होस्, उसले फेरि जीटीए चलाउँछु भन्यो भने उसको टाउको झोलामा र जिउ खोलामा हुनेछ,’ उनले भने, ‘यो जनताको आन्दोलन हो, सबै मिलेर आन्दोलन सफल बनाउन अनिवार्य छ। सामुहिकरूपले नै आन्दोलन फत्ते हुन्छ।’

बारुद थापा आफै पनि खुकुरी भिरेरै ऱ्याली गरे भने सम्बोधन पनि खुकुरी भिरेरै गरे।

‘उप्रान्त सबैले जातिय हतियार भिरेरै हिँडने अनुरोध गर्छु,’ उनले भने, ‘खुकुरीले आफ्नो सुरक्षा पनि गर्छ। जातीय पहिचानको लडाईँमा जातीय हतियारको प्रदर्शन पनि हुन्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया