वेट एण्ड वाच-पहाड़मा तृणमूल सखाप

विज्ञापन

मोहन लामा

दार्जीलिङः वेट एण्ड वाच-पहाड़मा तृणमूल सखाप। अहिले दार्जीलिङ पहाड़मा तृणमूल कंग्रेसको स्थिति यस्तै भएको छ। पहाड़का तृणमूल कंग्रेसका शीर्ष नेतृत्ववर्ग वेट एण्ड वाचको नीति अप्नाएर बसिरहेका छन्, तर यसको ठीक विपरीत तृणमूल कंग्रेसका समर्थकहरु गोर्खा जनमुक्ति मोर्चा, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा आदि पार्टीमा सामेल भएर पार्टीको धरातलनै सखाप पार्ने कार्यमा जुटेका छन्।

हिजो मात्रै कालेबुङका दुइजना तृणमूल कंग्रेसका नगरपार्षदहरुले पनि तृणमूल कंग्रेसको साथ छोड़ेर गोजमुमोसितनै हात मिलाएपछि पहाड़मा तृणमूल कंग्रेसको स्थिति अझै नाजुक बन्ने स्पष्ट छ। यद्यपि, अहिलेसम्म मिरिकका तृणमूल कंग्रेस समर्थित नगरपार्षदहरु चुपचाप लागेर बसेका छन्, जसको अधीनमानै मिरिक नगरपालिका सन्चालित छ। तर उनीहरु पनि नगरपालिकामा उपस्थित हुन सकेका छैनन्, मिरिक नगरपालिकामा ताला झुण्डिएको छ अनि मिरिकका तृणमूल कंग्रेस समर्थकहरु हातमा राष्ट्रिय झण्डा लिएर वी वान्ट गोर्खाल्यान्डको नारा लगाउन सड़कमा आइरहेका छन्।

यसरीनै कालेबुङ, दार्जीलिङ अनि खरसाङका तृणमूल कंग्रेस समर्थकहरु पनि भटाभट तृणमूल कंग्रेस छोड़्दै गोजमुमोमा सामेल भइरहेका छन्। पहाड़मा तृणमूल कंग्रेसको यस्तो अवस्था हुनमा कतिपय तृणमूल कंग्रेस पार्टीकै समर्थकहरुले राज्य सरकारकै गलत नीतिलाई दोष्याएका छन्। यसबारे दार्जीलिङ हिल तृणमूल कंग्रेसका अध्यक्ष राजेन मुखियासित सोध्न चाहँदा उनले फोननै उठाएनन् भने एनबी खवासले अहिले केही टिप्पणी गर्न नचाहने बताए।

तरै पनि पहाड़मा तृणमूल कंग्रेसको स्थिति नाजुक बन्नुमा राज्यको गलत नीति र मुख्यमन्त्रीको ढिट्पननै हो भन्ने पनि धेरैको अभियोग छ। राज्य सरकारसित दार्जीलिङ पहाड़का जनता रिसाउन थालेको गत 8 जूनदेखि मात्रै भएको होइन। धेरै समयदेखिको रिस अहिले पहाड़का जनता अनि गोर्खा जनमुक्ति मोर्चाले देखाइरहेका छन्। जसअनुसार, जीटीएको सम्झौताअनुसार, जीटीएलाई विभागहरु हस्तान्तरण नगर्नु, एकपछि अर्को गर्दै जातगत विकास बोर्डहरुको गठन गर्नु, दार्जीलिङमानै आएर राज्यकी मुख्यमन्त्रीले घरिघरि गोर्खाल्यान्ड होबेना, दार्जीलिङ बंगालको अभिन्न अङ्ग हो भन्ने बयान दोहोर्याइरहनु, आरकेएसपी स्कूल भवनको निर्माणमा बाधा दिनु जस्ता राज्यका कार्यहरुबाट पहाड़का जनता क्रोधित बनिरहेका थिए।

यसैबीच, राज्य सरकारले बंगालभरि बंगला भाषाको पठन-पाठन अनिवार्य गरिनेछ भनेर लिएको निर्णयबाट पहाड़ अझै रिसले चुर भएको थियो। जसको फलस्वरूप गोजमुमोले अब राज्यको यस्तो अन्याय नसहने बताउँदै गोर्खाल्यान्ड राज्य गठनकै लागि आन्दोलनको शङ्खघोष गरेको हो। यी विषयहरुलाई तृणमूल कंग्रेस पार्टीमानै रहेका पहाड़का नेतृत्व अनि समर्थकहरुले पनि बुझेका छन्, तरै पनि उनीहरु राज्य सरकारको विरोध गर्न असमर्थ छन् साथै गोर्खाल्यान्डको यस नयाँ आन्दोलनलाई साथ दिएर आफू पनि सुरक्षित हुने अनि जातीय मुद्दामा एकता देखाउनुनै उचित ठानेका छन्।

एकतर्फ दार्जीलिङ पहाड़बाट तृणमूल कंग्रेस सखाप बन्दै गइरहेको छ, गोर्खाल्यान्डको मुद्दामा अघि बढिरहेका सबै राजनैतिक पार्टीहरु पनि जनताको गतिलै चापमा छन्। पहाड़का जनता केवल अलग राज्य गोर्खाल्यान्डको लागि सड़कमा आएका छन्, पहाड़ बन्दलाई पत्तो दिएका छैनन् अनि यो बन्द गोर्खाल्यान्डको लागि ठोस पहल नभएसम्म जारी रहनुपर्छ भन्ने अड़ानमा छन्। यदि यसपाली पनि कुनै पार्टीले गोर्खाल्यान्डको साटो अन्य कुनै पनि अस्थायी व्यवस्थामा सम्झौता गर्ने कुरा मात्रै गरे, त्यो पार्टीको अस्तित्वनै पहाड़बाट समाप्त भएर जाने पनि लगभग निश्‍चित छ। यसैले पहाड़को यस आन्दोलनको समय प्रत्येक नेताले बोल्न अनि कुनै बयान दिनअघि 10 पल्ट सोंच्ने समय आएको छ, नत्र जनताले कुनै नेतालाई माफ गर्नेछैन, यो स्पष्ट छ।

यसैबीच, इन्टरनेट सेवा, स्थानीय न्यूज च्यानलहरुको प्रसारण बन्द गर्ने राज्य सरकारको कार्यबाट पनि पहाड़का जनता रूष्ट बनेका छन्। हाल पहाड़मा इन्टरनेट सेवा ठप्पै छ, स्थानीय न्यूज च्यानलहरुको प्रसारण बन्द गरिएको छ, जसको विरोधमा गोजमुमो साथै अन्य विभिन्न संघ-संस्थाहरुले आवाज उठाए पनि राज्य सरकार कानमा तेल हालेर बसेको छ। यी सम्पूर्ण विषयहरुले पनि पहाड़मा तृणमूल कंग्रेसको धरातल सखाप भइरहेको छ, तरै पनि अझैसम्म पहाड़का तृणमूल कंग्रेस नेतृत्वहरु वेट एण्ड वाचको नीति अप्नाएरनै बसिरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया