गाउँगाउँमा आन्दोलनः पाटेन गोदकमा उर्लियो जनसमुद्रः भने, यसपल्ट जनतालाई धोका दिनु हुँदैन

कालेबुङः गोर्खाल्याण्डको मागमा आज जलढका पाटेन गोदकमा मोर्चा अनि जापले संयुक्त रूपमा विराट जुलुस अनि जनसभा सम्पन्न गऱ्यो। जुलुसमा पार्टी कार्यकर्ता मात्र नभए साधारण जनता समेत सडकमा उत्रेका थिए। जुलुस तुङसुङ सिध्देश्वरी मन्दिर परिसरबाट शुरू भएर बरपिपल, गैरीगाउँ, डाकबङ्गला हुँदै परेङमोडमा गएर जनसभामा परिणत भएको थियो। जनसभा शुरू हुन अघि गोखाल्याण्डको निम्ति शहिद हुने तीन जना शहिदहरू विक्रम शाशंकर, महेश गुरूङ अनि सुनिल राईको आत्म शान्तिको कामना गर्दै 108 बत्ती बालेर जनसाधरणले श्रद्दाञ्जली अर्पण गरे।

सङ्गीतकार जेबी रसाइलीको सभापतित्वमा सम्पन्न भएको जनसभालाई मोर्चा अनि जाप नेतृत्व लगायत अन्यले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै जाप युवा केन्द्रिय प्रवक्ता सन्दिप कुलुङले अहिले भइरहेको आन्दोलन जनआन्दोलन रहेको कारण अहिले पार्टी र झण्डा हेरेर होइन जातिको चिन्हारीको निम्ति अघि आउनुप्ने बताए। उनले भने – यस आन्दोलनलाई सम्पूर्ण जनता लगायत देश विदेशमा बस्ने गोर्खाहरूले साथ दिइरहेका छन्। यसपल्ट जनतालाई धोका दिनु हुँदैन। नेतृत्वहरूलाई अहिले विभिन्न मुद्दा लगाएर सरकारले पक्राउ गर्ने कोशिश गरिरहेको छ। यसप्रकारको षड्यन्त्रबाट जनता सचेत भए सडकमा आउन पर्छ। पुलिस लगाएर आन्दोलनलाई कमजोर बनाउने प्रयासलाई विफल बनाउन सम्पूर्ण जनता सडकमा आइदिने कुलुङले अनुरोध गरे।

गोर्खाल्याण्ड भएर आफ्नो पार्टीको कुरा गरौं चुनाउ लडौं तर अहिले जातिको चिन्हारी भावी सन्तानको भविष्यको निम्ति एक हुन आव्श्यक छ, उनले भने।

यसरी नै मोर्चा नेता प्रकाश कट्टेलले पनि गोर्खाल्याण्डको निम्ति आफुलाई सरकारी कामको पर्वाह नरहेको बताउँदै गोर्खाल्याण्डको निम्ति सडकमा नेतृत्व दिन आएको बताए। यसपल्टको आन्दोलन गोखाल्याण्ड बाहेक कुनैपनि व्यवस्थामा टुङ्गिन नदिने बताउँदै जनता अघि आए गोर्खाल्याण्ड सम्भव रहेको उनले बताए। उनले भने, गोर्खाल्याण्डको निम्ति हामी कुनैपनि हदसम्म लडाई लड्न तयार छौं। जनताले साथ दिएको हुनपर्छ। जनता गोर्खाल्याण्ड हेरेर अघि आउनु पर्छ पार्टी हेरेर होइन। सम्बोधनको क्रममा जाप तोदे ताङता खण्ड सचिव कमल खडकाले पनि सम्पूर्ण राजनैतिक दल एक भएर गोर्खाल्याण्डको आन्दोलनमा अघि आएको बेला जनताले आफ्नो आफ्नो क्षेत्रबाट सडकमा उत्रेर सहयोग गर्नु पर्ने बताए।

यता मोर्चा 45 नम्बर समष्टी सचिव गगन राई पनि सम्बोधन गर्दै गोर्खाल्याण्डको निम्ति 3 जनाले ज्यान गुमाइसकेको कारण उनीहरूको योगदानलाई कदर गर्दै गोर्खाल्याण्डको मागलाई सहयोग गर्न सबै एकबद्ध हुन जरूरी रहेको बताए। राईले भने- हामीलाई सरकारले विभिन्न मुद्दा लगाएर फसाउने कोशिश गर्दैछ तर हामी गोर्खाल्याण्डको निम्ति जेल जान तयार छौं, सरकार विररुद्ध लडाई लड्न तयार छौं। पार्टी भन्दा जाति ठूलो हो, जातिको निम्ति आज हामीले काम गर्दा सरकारले पुलिस लगाएर पक्राउ गराउँछ भने जातिको सरोकार राख्ने सम्पूर्ण गोर्खे सन्तान अघि आएको हुन पर्छ। हामीले गोर्खाल्याण्डको लदाई लड्न सबै राजनैतिक दललाई समान दृष्टीकोणले हेर्नपर्छ। हामी सबै एक हौं अनि गोर्खाल्याण्डको निम्ति अघि आएका छौं। सरकारले बुझ्न पर्छ अब गोर्खाल्याण्डको निम्ति गोर्खाहरू एक भइसकेको छ।

सभापछि दार्जीलिङमा गोर्खाल्याण्ड शहिदहरूको नाममा शहिद बेदी परेङ मोडमा बनाउनको निम्ति पनि गगन राईको बाहुलीबाट शिलान्यास गरियो। युवा मोर्चा समष्टी सचिव दिपक छेत्रीद्वारा सञ्चालित सभामा तुङसुङ, बरपिपल, अप्पर गैरीगाउँ, कम्पाउण्ड, धौले, परेङटार, लवर गैरीगाउँ, परेङ, लवर परेङ, आरावाल टार आदि क्षत्रका जनसाधरणको व्यापक उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया