कवि, कलाकारहरूले गरे बङ्गालको कालोनीतिको प्रतिवादः भने, ‘धोका दिने कुनै पनि नेतालाई माफी गर्दैनौँ’

रम्फूः रम्फु सिक्किममा विभिन्न क्षेत्रमा रोजगार गरिरहेका दार्जीलिङ-कालेबुङ जिल्लावासीले गोर्खाल्याण्ड आन्दोलनलाई सिक्किमको समर्थन र सहयोग जुटाउन जनआन्दोलन टेवा मञ्च गठन गरेको छ। दलगाउँ निवासी चन्दन गुरूङ अध्यक्ष रहेको मञ्चका सचिव छिरिङ दीन रहेका छन् भने उपाध्यक्षमा मनोज तामाङ, सहसचिवमा रुपेश शेर्पा, रजित तामाङ, कोषाध्यक्ष दिपोन तामाङ रहेका छन्। प्रचारप्रसार सचिवमा विपल घले, विकास वान्तवा, जनसम्पर्क अधिकारी फिरोज गुरूङ, फिरोज राई अनि सल्लाहकारमा श्रवण भूजेल र विकास गुरूङ रहेका छन्।

‘जन आन्दोलन मञ्च सिक्किमभरि विभिन्न क्षेत्रमा कार्यरत दार्जीलिङ, कालेबुङ निवासीहरूको साझा मञ्च हो,’ छिरिङ दीनले भने, ‘चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग पुऱ्याउन अनि सिक्किमभरिका नागरिकहरूको समर्थन जुटाउन यसले कार्य गर्नेछ।’

मञ्चले बङ्गाल सरकारले आन्दोलनकारीहरूमाथि गरेको ज्यादतिको विरोध गर्दै गोर्खाल्याण्डको समर्थनमा एक प्रतिवाद कार्यक्रम पनि रम्फु मण्डीबजारमा सम्पन्न गऱ्यो।

‘आज रम्फुमा, भोलि सिङ्ताममा अनि पर्सी रोडाथाङमा यो सिर्जनात्मक प्रतिवाद कार्यक्रम हुनेछ,’ प्रसारप्रचार सचिव विपल घलेले बताए, ‘यहाँ कवि, कलाकारहरूले कविता, गीत मार्फत राज्यसत्ताको दमननीतिमाथि प्रतिवाद जनाउँदै गोर्खाल्याण्डको समर्थनमा आफ्ना प्रस्तुति राख्नेछन्।’

‘यो आन्दोलन हो स्वाभिमानको, यो आन्दोलन हो पहिचानको, रोकेर रोकिँदैन, छेकेर छेकिँदैन यो आँधीलाई, यो आन्दोलन हो जनमुक्तिको, यो आन्दोलन हो उन्मुक्तिको’ यही बोलको गीतबाट चन्दन गुरूङ, विकास वान्तवा, विपल घलेलगायतका साङ्गीतिक टोलीले शुरु गरेको सिर्जनात्मक प्रतिवाद कार्यक्रममा विपल घले, रुपेश शेर्पा, मनोज बोगटी, साम्देङ तामाङ, विकास वान्तवा, निशान दुलाल आदिले कवितामार्फत राज्यातङ्कप्रति विमति जनाए।

यसैबीच फिरोज राई, फिरोज गुरूङ अनि सुजन तामाङले कार्यक्रमलाई सम्बोधन पनि गरे। ‘चलिरहेको आन्दोलनलाई फेरि सम्झौतातिर लैजाने प्रयास भइरहेको सबैले अनुभव गरिरहेका छन्, तर नेताहरूले बुझ्नुपर्छ, यो आन्दोलन अब कुनै एउटा दलको आन्दोलन होइन, यो जनान्दोलन हो, यसपल्ट जसले पनि सम्झौता गर्छ उसलाई सहजै माफ गरिनेछैन,’ उनीहरूले भने, ‘जसरी सबै जनता एक भएका छन्, उसरी नै सबै नेताहरू एक भएर यसपल्ट इमान्दारीसित आन्दोलनलाई टुङ्गोमा पुऱ्याउनुपर्छ, हामी जनताले जस्तो सहयोग गर्नुपर्छ गर्नेछौँ।’

जनान्दोलन टेवा मञ्चका अध्यक्ष चन्दन गुरूङले सिक्किमका मुख्यमन्त्री पवन चामलिङप्रति आभार व्यक्त गरे। ‘जतिखेर पनि गोर्खाहरूलाई साह्रोगाह्रो परेको छ, मुख्यमन्त्रीले बोलेका छन्, यसपल्ट पनि उनले हामीलाई ठूलो गुन लगाएका छन्,’ उनले भने, ‘सम्पूर्ण सिक्किमबासीको यो समर्थनले हाम्रो आन्दोलनलाई उर्जा मिलेको छ, हामी जनान्दोलन मञ्च सबैमा आभार व्यक्त गर्छौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया