गोर्खाल्यान्डको लागि कलाकारवर्ग पनि सड़कमा ओर्लिए

विज्ञापन

दार्जीलिङःगोर्खाल्यान्डको आन्दोलनलाई दार्जीलिङ पहाड़का कलाकार, बुद्धिजीवीहरुले पनि समर्थन जनाएका छन् भन्ने सन्देश दिंदै आज दार्जीलिङका कलाकारहरुले पनि यहाँ एक शान्ति जुलूसको आयोजना गरे। जसको मूल माग थियो, संविधानको आधारमा अलग राज्य गोर्खाल्यान्डको गठन हुनैपर्छ। यसका साथै यी कलाकारहरुले 17 जूनको दिन गोली चलाउने आदेश कसले दियो भन्ने पनि प्रश्‍न उठाएका छन्।

दार्जीलिङका वरिष्ठ कलाकारवर्ग कर्म योञ्जन, किरण ठकुरी, पुकार गुरूङ, बसन्त छेत्री, चन्दन लोम्जेललगायत अन्य कलाकारको अगुवाईमा यहाँको रेलवे स्टेशनदेखि शुरू गरिएको यस मौन शान्ति जुलूस शहरका विभिन्न स्थानहरुको परिक्रमा गरेपछि चौरास्ता पुगेर समापन भएको थियो। यसबारे नाटककार, कलाकार किरण ठकुरीसित सोध्दा उनले भने-गोर्खा जातिको लागि अलग राज्य गोर्खाल्यान्डको गठन् हुनैपर्छ भन्ने मागसँगै राज्य सरकारको उपनिवेशवादको विरोधमा पनि आज कलाकारहरुले यहाँ जुलूसको आयोजना गरेको बताए। उनले भने-दार्जीलिङ पहाड़मा अहिले जुन गोर्खाल्यान्ड राज्य गठनको मागमा आन्दोलन चलिरहेको छ, यसलाई आतंकवाद र गुण्डा नीतिसित जोड़्ने कुप्रयास भइरहेको छ।

यसैको जवाब दिनको लागिनै आज कलाकारहरूले यहाँ जुलूस निकालेर पहाड़का कलाकारवर्गले पनि यस आन्दोलनलाई समर्थन जनाएको छ भन्ने सन्देश दिन खोजिएको हो। दार्जीलिङ पहाड़मा धेरै सृजनात्मक कलाकारहरु छन्, यस्ता वर्गलाई पनि अलग राज्य गोर्खाल्यान्ड चाहिएको छ भन्ने सन्देश पनि हो आजको जुलूस। उनले भने-बंगाल सरकारले दार्जीलिङ पहाड़को सर्वांगीण विकासको लागि के गर्यो? यहाँको आर्थिक, सामाजिक आदि विकासको लागि राज्य सरकारबाट कस्तो पहल भएको छ? यो सबैअघिनै छर्लङ्गै छ। यसैकारण पनि गोर्खा जातिलाई आफ्नै राज्य गोर्खाल्यान्डको आवश्यकता परेको हो।

यसरीनै उनले 17 जूनको दिन सिंहमारीमा भएको गोलीकाण्डको भर्त्सना जनाउँदै गोली चलाउने आदेश कसले दियो, यसको जिम्मेवारी जिल्ला प्रशासनले लिनुपर्छ भन्ने पनि माग गरे। यस अवसरमा शान्ति जुलूसमा सहभागी बन्ने कलाकारहरुले हात-हातमा यस्ता प्रश्‍नहरु गरिएका प्लाकार्डहरु पनि बोकेका थिए। यसरीनै कलाकारवर्गले दार्जीलिङ पहाड़मा इन्टरनेट सेवा ठप्प गरिएको विषयको पनि विरोध जनाएका छन्।

उनले भने-हामी नेतृत्व खोज्न होइन, गोर्खाल्यान्डको मागलाई समर्थन जनाउन सड़कमा ओर्लिएका हौं। हामी सबैलाई गोर्खाल्यान्ड चाहिएको छ, सबै जनता यसको लागि अघि आइरहेका छन्, यसैले कलाकारवर्ग पनि आज सामूहिकरूपमा सड़कमा ओर्लिएर यस मागलाई सहयोग प्रदान गरेका हुन्। यसैबीच, आज बिहान दार्जीलिङमा भूतपूर्व सैनिकहरुले पनि गोर्खाल्यान्डको मागलाई समर्थन जनाउँदै जुलूस निकालेका थिए। यद्यपि, आज ईदको कारण गोजमुमोले सबै आन्दोलनात्मक कार्यक्रमहरु ठप्प राखेको कारण यहाँ नारा लगाएको कतै सुनिएन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया