आफ्नो बाससँगै गोर्खाल्यान्डको लड़ाईंमा काजुमी

विज्ञापन

दार्जीलिङः आफ्नो बाससँगै गोर्खा जातिको बासभूमिको लड़ाईंमा सड़कमा आएकी छन् बौद्ध भिक्षु काजुमी सुकिसीता। उनलाई आफ्नो बासको जति खाँचो छ, त्यतिनै खाँचो गोर्खा जातिको लागि अलग राज्य गोर्खाल्यान्ड होस् भन्ने पनि छ। हातमा लिइएको सानो ढ्याङ्ग्रो बजाउँदै आफू जहाँ बसेकी छन्, त्यहींबाट बिहान 8 बजी बाहिरिने काजुमीले अहिले आफ्नो शरीरको दुवैतर्फ गोर्खाल्यान्डको समर्थनमा पोस्टर पनि लगाएकी छन्, जसमा गोर्खा जातिले 109 वर्षदेखि उठाउँदै आइरहेको अलग राज्य गोर्खाल्यान्डको मागलाई शीघ्र पूर्ण गर्नुपर्ने माग गरिएको छ। भारत सरकारलाई अपील गरेर हिन्दीमा लेखिएको उक्त पोस्टरमा भनिएको छ-भारतीय गोर्खाको 109 वर्ष पुरानो गोर्खाल्यान्डको माग एक संवैधानिक माग हो। यसलाई पूर्ण गरेर भारतीय गोर्खालाई न्याय दिनुपर्छ।

गोर्खाल्यान्ड आन्दोलनको कारण मेरो धर्मयुद्धमा बाधा उत्पन्न भएको छ। म एक धार्मिक नारी योद्धा हुँ। म-माथि दार्जीलिङस्थित जापानिज टेम्पलका धर्मगुरूङले अत्याचार गरेका छन्। यसैले म न्यायको लागि युद्धरत छु। मलाई जापानिज टेम्पलबाट हटाइएको छ, यसैले मलाई न्याय चाहिन्छ। यसैले भारत सरकारले भारतीय गोर्खा जातिको मागलाई शीघ्र पूर्ण गरेर मेरो धर्मयुद्धमा उत्पन्न भएको बाधालाई हटाउनुपर्छ। यसबारे उनीसित प्रश्‍न गर्दा उनले भनिन्-म सन् 1992-मानै दार्जीलिङ आएर जापानिज टेम्पलमा बसेकी थिएँ, तर त्यस समय म भिक्षुको रूपमा थिइनँ। अहिले म पूर्णरूपले भिक्षुको रूपमा छु। तर 3 वर्षअघि मलाई कुनै कारणबिनानै यस टेम्पलका धर्मगुरूले टेम्पलबाट बाहिर गरिदिए। जसको कारण म अहिले घर न घाटको भएकी छु।

मलाई पुनः जापानिज टेम्पलमा बास चाहिएको छ, तर यसमाथि अहिलेसम्म टेम्पलका धर्मगुरूले कुनै ध्याननै दिएका छैनन्। यसैले म बासको लागि धर्मयुद्धमा लागेकी छु, यस विषय लिएर सम्पूर्ण देश-विदेशको ध्यान आकर्षण गर्न चाहन्छु। आखिर मेरो के भूल थियो र मलाई टेम्पलबाट बाहिर गरियो? मलाई पुनः यसै टेम्पलमा बस्ने ठाउँ चाहिएको छ, जहाँ मेरो भिक्षु जीवनलाई सहजतासित अघि बढ़ाउन चाहन्छु। बौद्ध भिक्षु काजुमी आफ्नो बासको लागि धर्मयुद्धमा लागिपरेकी छन् भने गोर्खा जाति पनि आफ्नो बासभूमिको युद्धमा संघर्षरत छ। यसबारे उनीसित सोध्दा उनले भनिन्-गोर्खा जातिले आजभन्दा 109 वर्ष अघिदेखि उठाउँदै आइरहेको गोर्खाल्यान्डको मागलाई मेरो पूर्ण समर्थन छ अनि संविधानको आधारमा अलग राज्य गोर्खाल्यान्डको गठन हुन अत्यावश्यक छ।

यसैले भारत सरकारले गोर्खा जातिलाई आफ्नो बासभूमिको संवैधानिक अधिकार दिनुपर्छ, त्यसरीनै मलाई पनि जापानिज टेम्पलले टेम्पलमा बस्ने अधिकार दिनुपर्छ। उनले भनिन्-जापानिज टेम्पलले मलाई टेम्पलबाट बाहिर गरेपछि छेवैको एउटा घरमा एउटा कोठा भाड़ामा लिएर बसेकी थिएँ, तर एकजना भिक्षुको आय कहाँ हुन्छ। फलस्वरूप केही महीनाअघि मैले भाड़ा घर पनि छोड़्न पर्यो। अहिले जहाँ एक छाक खाना पाउँछु, टाउको अड़्याउने ठाउँ पाउँछु, त्यहीं रात बिताइरहेकी छु अनि बिहान उठेपछि पुनः मेरो धर्मयुद्धको लागि सड़कमा ओर्लिन्छु।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया