सिङ्ताम पुगे कवि कलाकारहरू, भोलि रोडाथाङः समग्र गोर्खाहरूबाट एउटा माउ सङ्गठन बनाइनुपर्छ

सिङ्तामः रम्फुका साहित्यकार, कलाकारहरू राज्य सत्ताको दमननीतिमाथि प्रतिवाद जनाउँदै अनि गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन जनाउँदै आज सिङ्ताम पुग्यो। हिजो रम्फुबाट शुरु गरेको तीनदिने सिर्जनात्मक प्रतिवाद कार्यक्रमलाई निरन्तरता दिँदै गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्चका सदस्यहरू सिङ्ताम पुगेका हुन्।

सिङ्तामका सर्जक मोहन प्रधान निरज, नन्दु दुतराज, एस. शर्मा, निशान दुलालले पनि रम्फुका सर्जकहरूलाई साथ दिएका थिए। मञ्चका सचिव छिरिङ दीनले सिक्किमभरि विभिन्न क्षेत्रमा काम गरिरहेका दार्जीलिङ, कालेबुङ अथवा अन्य ठाउँका गोर्खाहरू मञ्चमा संलग्न बनिदिने अपिल पनि गरेका छन्। ‘आन्दोलनलाई अर्कोतिर मोड्ने प्रयास हुनसक्छ। यसकारण भारतभरिका गोर्खाहरू सङ्गठित हुन अनिवार्य छ,’ उनले भने, सिक्किमभरिका गोर्खाल्याण्ड समर्थकहरू मञ्चले एकिकृत गरिरहेको छ, सबैलाई सम्पर्क गरिदिने अपिल गर्छु।’

साम्देन तामाङ, विपल घले, मनोज बोगटी, निशान दुलाल, एस शर्मालगायतले पश्चिम बङ्गाल राज्यका पुलिस प्रशासनले आन्दोलनकारीहरूमाथि गोली हानी हत्या गरेको, आन्दोलन दबाउन गरको षडयन्त्रप्रति प्रतिवाद जनाए। चन्दन गुरूङ, विकास वान्तवालगायतका टोलीले आन्दोलनको थिम गीत गाएर आरम्भ भएको कार्यक्रमलाई मोहन प्रधान निरजले पनि सम्बोधन गरे।

‘तपाईँहरूको आन्दोलनमाथि हाम्रो समर्थन छ,’ उनले भने, ‘यसपल्ट राज्य प्राप्ति हुने किसिमको आन्दोलन हुनुपर्छ। हामी सँधै साथ छौँ।’

यता मञ्चका अध्यक्ष चन्दन गुरूङले अध्यक्षीय सम्बोधनमार्फत सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङप्रति आभार व्यक्त गरे। ‘केन्द्रलाई दवाब दिनु हो भने केवल राजनैतिक दलको कार्यक्रमले मात्र पुग्दैन,’ उनले भने, ‘देशका विभिन्न क्षेत्रका प्रबुद्धहरूको एउटा माउ सङ्गठन बनाइनुपर्छ, जसले नेतृत्वलाई सही दिशा प्रदान गरुन्। यसको निम्ति सबैले आआफ्नो क्षेत्रबाट सङ्गठन तयार गरिदिने म सुझाव राख्छु।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया