जीटीएको अन्तिम संस्कार भयोःजबर्जस्ती चुनाउ गराए कसैले भाग लिँदैनःगोजमुमो

विज्ञापन

मोहन लामा

दार्जीलिङःआज यहाँको मोटर स्ट्यान्डमा जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-को ऐन अनि सम्झौता पत्र जलाइएपछि जीटीएको अन्तिम संस्कार गरिएको गोजमुमोले घोषणा गर्यो। यसका साथै अब दार्जीलिङ पहाड़मा कसैले जीटीएको उच्चारणसम्म गर्नेछैन भन्दै आजदेखि पक्कापक्कीरूपमा जीटीएको अध्याय समाप्त भएको गोजमुमो सहसचिव विनय तामाङले बताए। आज यहाँको मोटर स्ट्यान्डमा पार्टी सहसचिव तामाङ, कानूनी सल्लाहकार तिलकचन्द रोका, डीके प्रधान आदिको विशेष उपस्थितिमा जीटीएको ऐन अनि सम्झौता पत्र जलाइएको थियो। यस अवसरमा गोजमुमो समर्थकहरुले व्यापक नाराबाजी गरिरहेका थिए।

यसैबीच, पत्रकारहरुसित कुराकानी गर्दै विनय तामाङले भने-गोजमुमोले जीटीएलाई पूर्णरूपले परित्याग गरिसकेको छ, जीटीएका सम्पूर्ण सभासदहरुले राजीनामा दिइसकेका छन् अनि आज जीटीएको अन्तिम संस्कार पनि भइसकेको छ। तरै पनि राज्य सरकारले जबर्जस्ती जीटीएको चुनाउ गराउन सक्छ, यदि चुनाउ गराएको खण्डमा पहाड़का कुनै पनि पार्टीले भाग लिनेछैन। यदि कुनै पार्टीले भाग लिन्छ भने त्यसको दायित्व उक्त पार्टी आफैले लिनुपर्छ। उनले अझै अघि भने-अब गोर्खा जातिलाई अस्थायी कुनै पनि व्यवस्था चाहिंदैन। केवल अलग राज्य गोर्खाल्यान्ड चाहिन्छ। यसैले अब केन्द्र सरकारले पनि गोजमुमो वा पहाड़को सर्वदललाई वार्ताको लागि बोलाउँछ भने केवल अलग राज्य गठनको मागमा कुरा हुनेछ।

यसैबीच, आज दार्जीलिङसँगै कालेबुङ, खरसाङ, मिरिक, सिलगढ़ी अनि पहाड़का स-साना शहर-बजारतिर पनि जीटीएको खेस्रा जलाइएको खबर प्राप्त भएको छ। आज दार्जीलिङमा मोटर स्ट्यान्ड परिसरमा व्यापक पुलिस बलको तैनाथीअघिनै जीटीएको ऐन अनि सम्झौता पत्र जलाइएको थियो। जसअघि गोजमुमोले यहाँको रेलवे स्टेशनबाट विराट जुलूस निकालेको थियो, जसमा 50 हजारभन्दा अधिक जनता सहभागी बनेका थिए। यस अवसरमा उनीहरुले वी वान्ट गोर्खाल्यान्ड, जीटीए चाहिंदैन जस्ता नाराहरु लगाइरहेका थिए।

स्मरण गराइन्छ, 18 जुलाई 2011-को दिन सिलगढ़ी नजिक पिन्टेल भिलेजमा केन्द्र सरकारको पक्षबाट तत्कालीन गृहमन्त्री पी. चिदम्बरम, राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी र गोजमुमो अध्यक्ष विमल गुरूङको विशेष उपस्थितिमा जीटीएमाथि त्रिपक्षीय सम्झौता भएको थियो, यसपछि भएको चुनाउमा पहाड़का 45 वटा समष्टिबाट निर्वाचित बनेका गोजमुमोका सभासदहरुले राज्यपाल र मुख्यमन्त्रीकै उपस्थितिमा 4 अगस्त 2012-को दिन शपथ ग्रहण गरेका थिए, जसमध्ये जीटीएका मुख्य कार्यपाल विमल गुरूङलाई राज्यपाल स्वयंले शपथ ग्रहण गराएका थिए। यसरीनै गोजमुमो प्रवक्ता विनीता रोकाले पनि आजदेखि गोर्खा जनमुक्ति मोर्चा वा गोर्खा जातिले राज्य सरकारसितको नातालाई पूर्णरूपले तोड़ेको बताउँदै अब केवल गोर्खाल्यान्डको लागि मात्रै वार्ता हुनपर्ने विषयमा जोड़ दिइन्। यसरीनै उनले पहाड़ बन्द यथावत रहने, जुलूस-नाराबाजी लगातार चल्ने पनि जानकारी गराउँदै केन्द्र सरकारले हाल पूर्ण सहयोग प्रदान गरिरहेको पनि बताइन्।

उनले भनिन्-भाजपा नेतृत्वावधीन केन्द्र सरकारमाथि गोजमुमो अनि गोर्खा जातिले पूर्ण आस्था राखेका छन् अनि केन्द्र सरकारले हामीलाई कदापि निराशा गर्नेछैन भन्ने आशा गरेका छौं। यसैबीच, कालेबुङको अलगड़ामा खस विकास बोर्डका अध्यक्ष राजेन भेटिवालको घर जलाइएको सम्बन्धमा सोध्दा रोकाले भनिन्-अहिलेको आन्दोलन गोजमुमो अध्यक्ष विमल गुरूङको नियन्त्रणदेखि पनि बाहिर गइसकेको छ, जनता स्वतः गोर्खाल्यान्डको मागमा उर्लिएका छन्। यस्तो स्थितिमा कुनै विकास बोर्डका अध्यक्षको घरमा आगो लगाइएको आरोप गोजमुमोमाथि थोप्नु कदापि उचित हुँदैन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया