अनिश्तिकालीन पहाड बन्द जारी रहने, गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेसन कमिटी गठन

विज्ञापन

आवश्यक परे सम्पूर्ण राजनैतिक दलका शीर्षस्थ नेताहरू आमरण अनसन बस्ने


 

 कालेबुङ, 29 जुन।

अलग राज्य गोर्खाल्याण्डको मागमा चलिरहेको अनिश्चितकालीन पहाड बन्द जारी रहने भएको छ। आज बसेको सर्वदलीय सभाले अनिश्चितकालीन पहाड बन्द निरन्तर राख्ने निर्णय लिएको हो। आज कालेबुङको एउटा होटलमा साँडे पाँच घण्टा लामो समयसम्म बैठक चलेको थियो। 13 वटा राजनैतिक दल तथा अन्य सङ्घ-संस्थाका प्रतिनिधिहरूमाझ चलेको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै मोर्चा केन्द्रीय सह-सचिव विनय तामाङले बैठकमा लिइएका साझा निर्णयहरू सार्वजनिक गरेका हुन्।

‘अनिश्तिकालीन बन्द जारी रहनेछ’-तामाङले भने, ‘बन्द फिर्ता लिइने छैन।’

आजको सभामा बन्दलाई निरन्तर राख्ने निर्णयसितै गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेशन कमिटी पनि गठन गरिएको छ। गोजमुमो केन्द्रिय उपाध्यक्ष कल्याण देवानलाई कमिटीका संयोजकका रूपमा चयन गरिएको छ भने कमिटीका सह-संयोजकका रूपमा गोजमुमो केन्द्रीय समितिका सदस्य एवं दार्जीलिङ नगरपालिकाका अध्यक्ष डीके प्रधानलाई चयन गरिएको छ।

नवगठित कमिटीमा 30 जना सदस्य रहनेछन्। मोठ 13 वटा राजनैतिक दल अनि सङ्घ-संस्थाहरूबाट दुई-दुईजना गरी मोठ 26 जना अनि सिलगढी-तराई अनि डुवर्सबाट दुई-दुई जना  सदस्यलाई कमिटीमा लिइने भएको छ।

‘कमिटीको पहिलो बैठक आगामी 6 जुलाईका दिन सम्पन्न हुनेछ’-तामाङले भने,  ‘त्यसदिनको  बैठकले नै गोर्खाल्याण्डको रोडम्याप तय गर्नेछ।’

अर्कोतिर मोर्चा स्टडी फोरमका सदस् पी. अर्जुनले परिस्थिति अनुसार विभिन्न राजनैतिक दलका शीर्षस्थ नेताहरू स्वंय आमरण अनशन बस्नसक्ने बताए।

‘यदि उक्त कमिटीले तयार पारेको रोडम्याप अनुसार गोर्खाल्याण्डको आन्दोलन अघि बढाउँदा पनि केन्द्र सरकारले उचित पद्क्षेप नलिए सम्पूर्ण राजनैतिक दलका शीर्षस्थ नेताहरू नै आमरण अनशनमा बस्नेछन्’-पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोर्चा स्टडी फोरममा सदस्य पी. अर्जुनले भने।

यसरी नै भागोपका पक्षमा प्रो. मुनिस तामाङले दार्जीलिङ पहाडमा इन्टरनेट सेवा अनि स्थानीय च्यानलहरूको प्रसारण बन्द गरिएको घटनाबारे पनि बैठकमा निन्दा गरिएको जानकारी गराउँदै यसबारे सम्भावित सबै सरकारी निकाय र मानव अधिकार आयोगसमक्ष उजुरी गरिने बताए।

‘यो अगणतान्त्रिक पद्क्षेप हो, यो विरोधयोग्य छ। यो मानवविरूद्ध पदक्षेप हो’-मुनिस तामाङले भने।

आजको सर्वदलीय बैठकमा गोजमुमोबाट उपाध्यक्ष कल्याण देवान, सह-सचिव विनय तामाङ, तिलकचन्द्र रोका, जापबाट महासचिव नयन प्रधान, टासी शेर्पा, गोर्खालीगबाट विप्लव राई, सुदर्शन राई, क्रामाकपाबाट किशोर प्रधान, गोविन्द छेत्री, गोरानिमोबाट दावा पाख्रिन, रञ्जन शर्मा, यूजीआरएफबाट अजय दाहाल, रूद्र आचार्य, गोरामुमोबाट निरज जिम्बा, एनबी छेत्री, कङ्ग्रेसबाट दिलिप प्रधान, शान्ति शर्मा, भाजपाबाट शङ्कर आचार्य, मनोज देवान, भागोपबाट सुखमान मोक्तान, मुनिष तामाङ, गोर्खा भारती विचार मञ्चबाट सीके श्रेष्ठ साथै विभिन्न राजनैतिक दल र सङ्घ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया