जीटीएका कार्यकारी निर्देशकगण, पुलिस, कर्मचारीहरूको सरूवाः जीटीएको स्पेशल अडिट शुरु

दार्जीलिङः जीटीए (गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन)-लाई गोर्खा जनमुक्ति मोर्चाले आफ्नो पक्षबाट खारेज गर्नसाथ जीटीएका अधिकांश कार्यकारी निर्देशकहरु यहाँबाट राज्यका अन्य स्थानहरूमा सरूवा भएका छन्। यी कार्यकारी निर्देशकहरुको सरूवासँगै जीटीएको स्पेशल अडिट गर्न आउने जाँच टोलीलाई पनि जीटीएको हिसाब-किताबको अडिट वा जाँच गर्न महाहम्मे परिरहेको छ। यद्धपि, यस स्पेशल टोलीले हाल जीटीएको मात्रै अडिट गरिरहेको छैन, यसले दार्जीलिङ पहाड़का तीनवटा नगरपालिकाका विभिन्न विभागहरुको पनि अडिट शुरू गरेको छ। यसै क्रममा हिजो मात्रै यस टोलीले दार्जीलिङ नगरपालिका अधीनस्थ वाटर वर्क्स विभागको अडिट गरेको विश्‍वस्त सूत्रबाट जानकारी पाइएको छ। यसै विषरू लिएर अडिट टोलीका एक शीर्ष अधिकारीसित सोध्दा उनले जीटीएको अडिट गर्न अझै केही सप्ताहको समय लाग्ने बताएका छन्।

यद्धपि, अहिलेसम्म यस टोलीले जीटीएको कुन-कुन विभागहरुमा जाँच गरिसक्यो अनि कहाँ अनियमितता भेट्यो भन्नेबारे कुनै खुलासा गर्न चाहेको छैन। यसैबीच, यस जाँच टोलीले मिरिक नगरपालिका छोड़ेर दार्जीलिङ, खरसाङ अनि कालेबुङ नगरपालिकाको पनि अडिट शुरू गरेको छ। जहाँ गोजमुमोको बोर्ड छ, तर मिरिक नगरपालिकामा किन जाँच गरिएको छैन भन्नेबारे पनि जाँच टोलीले केही बताउन चाहेको छैन। गत नगरपालिका चुनाउपछि मिरिक नगरपालिकामा राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसको बोर्ड गठन भएको छ।

तर गोर्खाल्यान्ड आन्दोलनको फलस्वरूप जीटीएका सम्पूर्ण विभागीय कार्यालय, नगरपालिका कार्यालयहरुमा ताला झुण्डिएको कारण अडिट टोलीलाई आफ्नो कार्य गर्न ठूलो समस्या भइरहेको छ। जसको कारण कुन विभागको हिसाब-किताब कहाँ राखिएको छ, त्यसको जानकारी दिने एकैजना पनि कर्मचारी कार्यालयमा उपस्थित छैन। यहाँ रहेका केही विभागीय कार्यकारी निर्देशकहरुको सहयोगमानै जाँच टोलीले आफ्नो कार्य अघि बढाउने कार्य गरिरहेको छ। जसको कारण हाल जीटीएको मुख्यालय लालकोठीमा अवस्थित मुख्य सचिवको कार्यालयमा बसेर जाँच टोलीले विभिन्न विभागका हिसाब-किताब जाँच गर्ने कार्य गरिरहेको छ, जहाँ जाँच टोलीका शीर्ष अधिकारी अनि यहाँ रहेका जीटीएका कार्यकारी निर्देशकहरु मात्रै छन्। तर विभागीय कर्मचारीहरुको अनुपस्थितिमा जाँच टोलीलाई आफ्नो काम गर्न कति गाह्रो परिरहेको छ, त्यो स्पष्ट छ। यस जाँच टोलीलाई आफ्नो काम सुचारूरूपले अघि बढाउनमा गाह्रो पर्नुको अर्को मुख्य कारण आधासरो विभागीय कार्यकारी निर्देशकहरुको सरूवा पनि हो।

यसरीनै पुलिस सूत्रबाट प्राप्त भएको जानकारीअनुसार, राज्य सरकारले दार्जीलिङ पहाड़को पुलिस विभागमा पनि व्यापक फेरबदल गरिरहेको छ। दार्जीलिङ पहाड़का पुलिसकर्मी अनि अधिकारीहरुलाई समतलका विभिन्न स्थानमा सरूवा गरिरहेको छ भने समतलका पुलिसकर्मी अनि अधिकारीहरुलाई पहाड़मा ल्याउने काम गरिरहेको छ। यसैकारण अहिले दार्जीलिङ जिल्लापाल कार्यालयको मूल द्वारमा कलकत्ता पुलिसकर्मीहरु तैनाथ गरिएको छ। जसले गत दुइ दिनदेखि लगातार दार्जीलिङ शहर पस्ने अनि सिंहमारीतर्फ जाने गाड़ीहरुको व्यापक जाँच गरिरहेको छ। यसरीनै पहाड़ बन्द अवधि कार्यालय नआउने सरकारी कर्मचारीहरुलाई पनि व्यापक संख्यामा पहाड़बाट सततलका विभिन्न जिल्लाहरुमा सरूवा गरिएको जानकारी पाइएको छ। यद्यपि, यी सबै विषयमा जिल्ला प्रशासनले मुख खोल्नै चाहेको छैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया