मेरो जिब्रो

मनप्रसाद सुब्बा

 


यो मेरो जिब्रो छ नि
मेरो आफ्नै जिब्रो हो
तिमी यसलाई तिम्रो आफ्नो जिब्रोको आकार दिने दुस्साहस नगर

यो जिब्रोको जरा छ मेरो मुटुको फेदमा
जो तिमीले कहिल्यै भेट्न सक्तैनौ
मुटुको ढुकढुकी यो जिब्रोमा तरङ्गित भइरहेको
तिमी कहिल्यै महसुस गर्न सक्तैनौ

मेरो जिब्रोको संवेदनशीलतामा जुनजुन स्वाद सल्बलाउँछ नि
ती स्वादका अर्थ जति नै व्याख्या गरे तापनि
तिमी बुझ्न सक्तैनौ
मेरो जिब्रोको कोषिकाहरूबिच सञ्जाल फैलिएर बसेको गुन्द्रुकको काङलाङकिङलिङलाई
तिम्रो ल्याबमा जतिनै केलाएर छुट्टाउनु खोजे पनि
ती छुट्टिने छैनन्

तिम्रो जिब्रोको इलिस माछाको स्वादलाई
मेरो जिब्रोमा बसाउन चाहन्छौ तिमी
तर पहिले
मेरो जिब्रोमा रमाउने किनामाको स्वाद चाखिहेर त, कस्तो लाग्छ!

मेरो गुन्द्रुकको झोलमा
तिमी चिनी घोल्ने दुस्साहस नगर
उता लैजाऊ तिम्रो त्यो मिष्टीदोइ
यहाँ मेरी आमाले बनाएकी एकसाँझे दही मिट्ठो छ

अलुवा चामलको पिठो कुटेर
मेरी बहिनीले बनाएकी सेल रोटीलाई
चुँडाएर टुक्र्याउन खोज्ने तिमी को हौ?

तिमी खाऊ तिम्रो पान्ताभात
म आफ्नै भुटेको भात खान्छु
मेरो जिब्रोमा जबर्जस्ती तिम्रो मुरिघन्टो पस्किने दुस्साहस नगर
मलाई मेरै पकुवा प्यारो छ
जसको स्वाद सोध्नू वनबास गएका राम-लछुमनलाई पनि

मेरो यो जिब्रोको जुन बनावट छ नि
त्यसको शिल्पी हुन् मेरी आमा
उनकै धुकधुकीले
यौटा यौटा पल टिप्दै जोड्दै
यो जिब्रोलाई
आफ्नै उच्चारणका अनगिन्ती लचकहरूमा नाच्ने बनाएको हो
र मुखभित्रको मञ्चमा मेरो जिब्रो जसरी नाच्छ नि
त्यसरी चैँ अरू कोही नाच्न सक्तैन
मुखभित्रको गुफामा मेरो जिब्रोको झाँक्रीले
जुन भाकामा मन्त्र र मुन्धुम फलाक्छ नि
त्यसरी त कसैले फलाक्नै सक्तैन

मैले पहिले पनि भनेको हूँ
कि मेरो जिब्रो नै मेरो गाउँको मानचित्र हो
यो मानचित्रलाई तिम्रो उपनिवेश बनाउने दुस्साहस नगर
यो मानचित्रको मान राख्न
म जे पनि गर्न तयार छु
हाराकिरी गर्न पनि तयार छु !!

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया