खरसाङ अग्निशमन केन्द्रमा पेट्रोल बम्बद्वारा आक्रमणः आगलागीमा अग्निशमनका तीनवटा गाडी क्षतिग्रस्त

खरसाङः खरसाङ अग्निशमन केन्द्रमा केही असामाजिक तत्वहरूद्वारा पेट्रोल बम्बद्वारा आक्रमण गरी आगो लगाउने प्रयास गरिएको छ। आगलागीमा अग्निशमन केन्द्रमा रहेका तीनवटा गाडीहरु जलेर क्षतिग्रस्त भएको छ।

घटनाको जानकारी पाउनसाथ पुलिस आईजी अजयकुमार, खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्त लगायत उच्चपदस्थ पुलिस अधिकारीवर्ग घटनास्थल पुगेका थिए। पुलिस अधिकारीहरू घटनाबारे केही बोल्न नचाहे पनि अग्निशमन केन्द्रमा तैनाथ कर्मचारीहरूले बताए अनुसार शनिबार बेलुका लगभग ७.४४ बजीतिर कालो पट्टि बाँधेर आएका असामाजिक तत्वहरूले फ्याँकेको पेट्रोल बम्बद्वारा आगो लगाउने प्रयास गरिएको भएपनि अग्निशमन केन्द्रमा तैनाथ कर्मचारीहरुले तत्काल नै आगो निभाउन सफल भए।

यद्धपि अग्निशमन केन्द्रमा रहेका तीनवटा गाडी भने जलेको छ। तीनवटा गाडीहरुमा एउटा जीप जलेर ऐेना नष्ट भएको छ, दुईवटा अग्निशमन केन्द्रमा रहेका ठूला गाडीमा एउटाको आधा भाग अनि अर्को गाडीको भित्री इञ्जिन जलेर नष्ट भएको छ। कर्मचारीवर्गले गाडीहरु जल्दै गरेको अवस्थामा नै निभाउन सफल भएको छ तर अब तीनवटा गाडीहरु नै आपतकालीन सेवाको लागि उपलब्ध हुन नसक्ने अवस्थामा छन्। खरसाङ क्षेत्रमा कतै आगो लागिसकेपछि अब दमकल सेवाका कम्ती गाडी मात्रै प्रयोगमा रहने देखिएको छ। आसामाजिक तत्वहरूले आगो निभाउन जाने आपतकालीन सेवाको रुपमा रहेको अग्निशमन केन्द्रमाथि नै हमला गर्दा धेरै सनसनी फैलिएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया