के तपाईँ आन्दोलन दबाउने आफन्त बन्न चाहनुहुन्छ?

 

मनोज बोगटी


कालेबुङमा सर्वदलीय बैठक चलिरहेको थियो। एक बङ्गला च्यानलका पत्रकार थिए डा. हर्कबहादुर छेत्रीको घरमा। ‘हिंसा, आगजनी…हरू समाधानको बाटो होइन,’ डा. हर्कको स्वर मलिन थियो, ‘म यो खाले आन्दोलनको पक्षमा छैन।’

अनिश्चितकालीन बन्द फिर्ता गर्ने कुरा लिएर जापका प्रतिनिधिहरू दोस्रो बैठकमा  पनि पुगेकै हुन्। हर्कबहादुर छेत्री गाडी, सरकारी कार्यालय जलाउने र अनिश्चितकालीन बन्द गरेर जनतालाई प्रताडना दिने पक्षमा छैनन्, दुइवटा बैठकसम्म जाप यही भन्न खोजिरहेको छ।

अब सबैलाई थाहा भइसक्यो।

तेस्रो सर्वदलीय बैठक सकेपछि राष्ट्रीय मिडियाले बारम्बार सोधेको प्रश्न थियो, ‘के कुनै दलले अनिश्चितकालीन बन्द खोल्ने प्रस्ताव राख्यो?’

कोही बेला यस्ता अनावश्यक प्रश्न बोकेर आउने मिडियाले बोलेको भाषा उसको हुँदैन। जतिखेर सर्वदलीय बैठक चलिरहेको थियो अनि डा. छेत्री जे बोलिरहेका थिए, सुनेपछि लाग्यो, – हर्कबहादुर छेत्री  कस्तो आन्दोलन गर्न चाहान्छन्?

आन्दोलनकारीहरूलाई कार्यक्रम दिनको साटो उनी किन अनिश्चितकालीन बन्दको पछि लागेका हुन्?

अचानक सोसल मिडियामा डा. महेन्द्र पी. लामा भाइरल छन्। निश्चित छ, उनी दार्जीलिङमा छैनन्। भारत-नेपाल मैत्री सन्धी 1950-केलाएर दुवै देशको निम्ति व्यवहारिक र समय सापेक्ष बाटो खोज्ने प्रबुद्ध टोलीमा भाजपा सरकारले नियुक्त गरेका एक प्रतिनिधि हुन्, डा. लामा।

जन आन्दोलन पार्टीको व्युरो मेम्बर पनि हुन्। केही दिनदेखि आन्दोलन कस्तो हुनुपर्ने, आन्दोलनकारीहरूले के के गर्नुपर्ने भन्नेबारे सुझावहरू दिइरहेका छन्, पढेपछि लाग्यो,- महेन्द्र लामा, कसले आन्दोलन गरोस् भन्ने चाहान्छन्?

आफू संलग्न रहेर आन्दोलन अघि बढाउनको साटो पर बसेर सुझाउमस्यौरा किन गरिरहेका छन्?

गोर्खाल्याण्डको आन्दोलनको विरोधमा रहेको माकपामा थिए आरबी राई। पछिबाट गोर्खाल्याण्डको निम्ति नै भनेर माकपासित छुट्टिए र बनाए क्रामाकपा। क्रामाकपा आफैले कहिल्यै आन्दोलन गरेन। उसले अरूले गरेको आन्दोलनलाई समर्थन गऱ्यो। गोर्खाल्याण्डको निम्ति जन्मिएको पार्टी तर आन्दोलनलाई नेतृत्व गर्ने, सर्वदलीय समहतिको योजना बनाउने र मुद्दालाई राष्ट्रीय सतहमा ल्याउने काम चाँही गरेन। उसले केही गऱ्यो भने कि त गोरामुमोले कि त गोजमुमोले गरेको आन्दोलनलाई समर्थन गऱ्यो। गोरामुमो र गोजमुमोले झैँ अनेकौं जोखिम मोलेर कुनै कार्यक्रम पनि बनाएन आन्दोलन पनि गरेन। कि त जसवन्त, कि त अहलुवालियालाई जिताउन सघायो। जतिखेर मोर्चालाई सङ्कट पऱ्यो अघि क्रामाकपा नै आयो र भन्यो, ‘दुश्मन हाम्रो मान्छे होइन, राज्यसत्ता हो।’

 

अतिभावुकतालाई सैद्धान्तिकीसित मोलेर दार्जीलिङमा आफू बाँच्न स्पेस बनाउन सफल बनिरहेको यही क्रामाकपाका शीर्ष नेता आरबी राई दार्जीलिङको क्रामाकपा कार्यालय रुङिरहेका छन्। देखेपछि लाग्यो, –के पर्खेका होलान्? यी क्रान्तिकारी नेताले?

जनता सडकमा हुँदा उनलाई घरैमा बसेर रमाइलो लिनुपर्ने कुनचाँही त्यस्तो बाध्यता आइपऱ्यो होला?

विमल गुरूङ जङ्गलमा छन्। जङ्गलमा के गर्दैछन? कसैलाई थाहा छैन। बेलाबेला बोल्छन्, कुरा बिगार्छन्। बिग्रिएको कुरा सपारिसक्दा अझ धेरै कुरा बिग्रिसक्छ, पत्तै पाउँदैनन्। बङ्गला च्यानलले आन्दोलनलाई ‘जङ्गी’ भन्दिन्छ अनि विमल गुरूङ पस्छन्, जङ्गल। लाउँछन्, जङ्गी लुगा। मानौं उ सशस्त्र आन्दोलनमा उत्रिररहेछ। आन्दोलनकारी नेता विमल गुरूङ लुक्न जङ्गल पसेका हुन् कि जङ्गी आन्दोलन गर्न? यो प्रश्न उठ्नसाथ लाग्छ, नेताको यो चालाले कता पुऱ्याउँला ?

गोरामुमोका मन घिसिङ छन्, जोसित न आन्दोलन बुझ्ने मन छ न क्षमता। राजा मरेपछि लठेप्रै किन नहुन्, उसैलाई राजा बनाउनुपर्ने खानदानी र पौराणिक परम्परा अब काम लाग्दैन भन्ने कुरोसमेतको हेक्का नराख्ने दलको प्रमुखबारे सोच्दै लाग्छ, कमसेकम भातै खानको लागि राजनीति गर्नेबारे सोचेर किन दिमाग गलाउनु?

सर्वदलीय बैठकमा संलग्न धेरै पार्टीका नेताहरू छन्।

केही छन्, सोसल मिडियामा क्रियाशिल। केही च्यानलहरूमा आफूले बोलेको, केही पत्रिकामा आफ्नो छापिएको नाममुनि धर्का तानीतानी हाइलाइट गर्दै सेयर गर्नुलाई उनी आन्दोलन ठानिरहेका छन् अनि लाइक, कमेन्ट र सेयर बटुलिरहेका छन् र ठानिरहेका छन्, अबको तक्निकीय जेनेरेशनका लिडर मै हुँ।

कोही छन्,  सर्वदलीय बैठकमा बस्नु पाउनु उसको जीवनको सबैभन्दा ठूलो अहोभाग्य हो। त्यहाँ पुग्न आफ्ना फ्यानहरूलाई आफूले लेखेका कुराहरूको प्रचारप्रसार गर्न लाउँछन्। कोही छन्, उ हुँदा नि उसको पार्टी चल्छ, नहुँदा नी। कोही छन्, आन्दोलनमा ‘म पनि माथ्लै सतहमा छु’-मनोवृत्ति देखाउनसम्मको निम्ति मात्र।

 

ऐरे पनि सर्वदलीय बैठकमा पुगेकै छन्, गैरे पनि। पुग्नु पर्नेहरूलाई आह्वान छैन। आह्वान बेगरै नपुग्नुपर्नेहरू कुदिरहेछन्। कोही छिमेकीलाई सङ्गठनको सदस्य बनाएर बैठकमा लगिरहेका छन्, कोही नजिकका मित्रलाई। मित्र पनि छिरेकै छ दुश्मन पनि। न बैठकको आचार संहिता छ न अनुशासन। उनीहरू आन्दोलन गरिरहेका छन् कि टाइम पास?

उपस्थित सदस्यहरू 6 घन्टा बहस गर्छन् र निचोड निकाल्छन्-बन्द जारी, कोअर्डिनेशन कमिटी र आमरण अनशन। के उनीहरू मजाक गरिरहेका छन्?

सप्पै दल छुट्टै राज्यकै निम्ति जन्मिएका। अचम्म त त्यतिबेला लाग्छ, जब तीनपल्टको बैठकमा कुनै पनि दलले आफूसित भएको आन्दोलन, राज्य प्राप्तीको बाटो र कार्यक्रमको रूपरेखा वा खाका राख्दैनन्। अहिलेसम्म गोर्खाल्याण्ड भन्ने पार्टीहरूसित आन्दोलनको रुपरेखा नै थिएन? मोर्चाले (सप्पै पार्टीले पनि) अहिलेसम्म छुट्टै राज्यसम्म पुग्ने कार्यक्रमहरूको रुपरेखा तयार पारेर राखेकै थिएन? सडकमा पुगेका जनताको हातमा कार्यक्रम खै?

दिल्लीमा बनिएको छ, संयुक्त सङ्घर्ष समिति, सिक्किम, मुम्बई, चेन्नई, इज्राइल, बिहार, नेपाल…जतासुकै आन्दोलन गर्ने समिति बनिन थालेको छ। खै उनीहरूलाई गरिएको सम्बोधन?

खै कोअर्डिनेशन कमिटीमा देशभरिका प्रतिनिधिहरू? के सप्पै कोअर्डिनेशन कमिटीमा नै झुत्तिने? के एउटै मात्र कमिटी पर्याप्त छ त?  कोअर्डिनेशन कमिटीमात्र बैठकको प्राप्ती हो?

क्षमताशीलहरूलाई विभिन्न स्तरका कमिटी बनाएर कार्यभार सम्हाल्न गरिएको आह्वान खै?

जो कुनै दल र सङ्गठनमा छैनन्, उनीहरूलाई कसले बोलाउने?

गाउँगाउँमा आआफै कार्यक्रमहरू भइरहेको छ। कसैले खुकुरी जुलुस गरिरहेका छन्, कसैले सरकारी कार्यालय जलाउनु र भत्काउनुलाई आन्दोलन मानिरहेका छन्। यता तृणमूल काङ्ग्रेसले तराई र डुवर्समा साम्प्रादायिक सद्भावना बिगार्ने कुटनीति शुरु गरिसक्यो। सिक्किमका वाहन तोडफोड त सामान्य हुन थाल्यो। नेपाली भाषीहरू घरबाट बाहिर निस्कन मुश्किल बनिसके। पुलिसले दोकानेहरूलाई कुनै पनि नेपाली भाषीलाई राशन नदिने हुकुम गरिसके। पहाडमा जनता बिस्तारै थेग्नै नसक्नेगरी उम्लिरहेछन्। कथङ्काल जनता आफैआफ लाखौँको सङ्ख्यामा तराई र डुवर्स झरेर खुकुरी जुलुसमा उत्रिए स्थिति के होला?

बोर्ड ग्रहण गर्ने, तृणमूल काङ्ग्रेसमा जाने र गैरगोर्खाहरूलाई आक्रोशित भीडले छानिछानी चान हान्न थाले के हुन्छ?

आक्रोशित भीडले स्थानीय पुलिस स्टेशन, सरकारी सम्पति नष्ट गर्न थाले, पहाडमा पनि साम्प्रादायिक सद्भावना बिग्रिए दोषी को हुन्छ?

जनता कि आन्दोलनको रुपरेखा तयार पार्न तीनपल्ट घन्टौं बहस गर्ने ती प्रतिनिधिहरू, जो आन्दोलनको भार टाउकोमा लगाउँछु भनेर बैठकमा बसेका छन् अनि ताइँ न तुइँका कार्यक्रम घोषणा गरिहेका छन्।

6 जुलाईको दिन पनि यी प्रतिनिधिहरूले सडकमा भड्किएका यी जनताको हातमा कार्यक्रम दिन नसके निश्चित छ, आन्दोलन दबाउने आफन्तहरू तपाईँहरू नै साबित हुनुहुनेछ।

के तपाईँ आन्दोलन दबाउने आफन्त हुन चाहनुहुन्छ?

सर्वदलीय बैठक चलिरहेको छ। होटल बाहिर छ विशाल भीड, जो कराईरहेको छ- ‘जसले अनिश्चितकालीन बन्द खुलाउँछ, ठिक गर्ने छैनौँ।’

बैठकमा बस्ने तपाईँहरूलाई लाग्ला, जनताले अनिश्चितकालीन बन्दको कुरा गरिरहेका छन्। यदि तपाईँलाई यस्तो लाग्यो भने बैठकको खाताबाट आफ्नो नाम डिलिट गर्नुहोस् र नर्थ इष्ट, दिल्ली, मुम्बई वा कतैको एक क्षमताशील मानिस खोजेर त्यहाँ उसको नाम लेखिदिनुहोस्।

यसो गर्नुको अर्थ हुन्छ, जसले राजनीति बुझ्दैन उसलाई नेता हुने अधिकार छैन्।

पहिलोपल्ट दार्जीलिङ, कालेबुङ जिल्ला लगायत, तराई डुवर्समात्र होइन, देशभरिका नेपालीहरू ‘एक मुद्दाःएक आन्दोलन’-को निम्ति गोलबद्ध छन्। उनीहरू आन्दोलित छन्। जनता आफै सबथोक हो तर उसलाई नेतृत्व चाहिन्छ, नेतृत्वले तयार पारेको प्रभावकारी कार्यक्रम चाहिन्छ। उ माटोको निम्ति ज्यान पनि दिन तयार छ।

त्यसै कारण तपाईँहरूलाई जनताले आन्दोलनलाई नेतृत्व गर्ने अवसर प्रदान गरिरहेको हो। तर घरि सम्झौताको, घरि नेताहरूबाट हुने धोकाको, घरि जुटेकोलाई फुटाउने वयान, घरि एक्लो नेतृत्व, घरि नेताहरूको फोस्रे सोसल मिडियाको प्रदर्शनी, घरि राष्ट्रीय मिडियामा जानीबुझी गरिएको कमजोर प्रदर्शनी, घरि केन्द्र र राज्यको आन्तरिक मेलमिलापमा पहाड पसेको सेना, घरि भाजपाका नेताहरूले फेरिरहेको भाका, घरि दिल्ली बस्ने नेताहरूको आन्तरिक कुचक्र…यस्ता घटनाहरू जसको उद्देश्य आन्दोलन बिथोल्नु अनि फेरि अर्को सम्झौतातिरै लम्किनु छ, हो यस्ता खेलहरूबाट जनता असाध्य डराएका छन्।

जनताले न त आफ्नै नेतालाई विश्वास गर्न सकिरहेका छन्, न त आन्दोलनलाई।

विश्वभरिका गोर्खाहरू एक भएर गोर्खाल्याण्डको निम्ति लडिरहेको बेला बङ्गालका, केन्द्रका एजेन्टहरू पसेर, बन्द खुलाएर, आन्दोलन शिथिल गरेर फेरि अर्को सम्झौतातिर लगिदिने हुन् कि? जनताको मनमा यो डर छ। अघिबाटै आफ्नै नेताहरूले धोका दिइसकेकाले उनीहरू यसपल्टको आन्दोलनमा बारम्बार डराइरहेका छन् र नै भनिरहेका छन्, ‘लाखेस…बन्द खोल्लाउ…’

तपाईँ तीनपल्ट बैठक बसेर कम्तीको तीनवर्षको निम्ति (लोकसभा चुनाउ-2019) कार्यक्रम तयार पार्नको साटो, (उदाहरणको लागि) लेखकहरूको भिन्दै समूह र कार्यक्रम, जसले देशभरिका साहित्यकार, संस्थाहरूसित सम्बन्ध बनाउँनेछ, पत्राचार गरेर विभिन्न भाषामा गोर्खाल्याण्डबारे बुझाउनेछ, पुरस्कार पाउनेहरूले राज्य र देशलाई पुरस्कार फर्काउनेछ र केन्द्रको ध्यानाकर्षण गराउनेछ, लेखकहरूको विशाल जुलुस र बहसहरू गरेर आफ्नो हिस्साको आन्दोलन गर्नेछ। नेताहरूको भिन्दै समूह ( तपाईँहरूः आमरण अनशन बस्नेछन्, केन्द्रसित बोल्ने डेलिगेशन तयार गर्नेछन्, बोल्न जान्ने छान्नेछन्, सांसदहरूको सहमति र समर्थन बटुल्नेछन्, राष्ट्रीयस्तरमा प्यानल बहस गर्नेछन्, छुट्टै राज्य हुँदाका फाइदाबारे बताउनेछन्, आदिआदि। यसरी नै हरेकका आआफ्नै समूह, कार्यक्रम र जिम्मेवार हुनेछ।

इन्जिनियरको आफ्नै, वकिल, श्रमिक, शिक्षक, विद्यार्थी, नारी, युवा, नेता, सामाजिक संस्था, देशभरि रोजगार गरिरहेकाहरूको समूह, विदेशमा गोर्खाहरूको समूह, पूर्व अधिकारी, बगान, कर्मचारी, खेलाडी, कलाकार, बौद्धिक, पत्रकार, प्रोफेसर, डा. युनियनको आफ्नै। अर्थात यसरी सबैलाई आआफ्नो हिस्साको कार्यक्रम दिनको साटो 6 घन्टा बहस गर्नहुन्छ र टुङ्गो न पुच्छरको कार्यक्रम घोषणा गर्नुहुन्छ?

तपाईँहरूले भरोसा लाग्दो कुनै कार्यक्रम नबनाएकै कारण सिलगडीमा साम्प्रादायिक हिंसा भड्किँदैछ र विस्तारै त्यो पहाड पस्दैछ। तपाईँहरूले समय सापेक्ष कार्यक्रम नबनाएकै कारण सरकारी सम्पतिमा आगो लाग्दैछ। कतै गुण्डा पिकेटर्सले आफ्नैलाई पिट्दैछ। कतै पहाडका अल्पसंख्यकहरू असुरक्षित बन्दैछ, यस्ता धेरै घटनाहरू भइरहेको छ, जो आन्दोलनको निम्ति लाभदायक छैन।

बन्द नखोल्नु भनेको तपाईँहरूमाथि गरिएको अविश्वास पनि हो। बन्द भनेको जनभाषामा आन्दोलन हो, जनता त ज्यान दिन तयार छ। जनताले अनिश्चितकालीन बन्द थेगिञ्जेलसम्म त ठिकै छ, तर विस्तारै जनता गाह्रोमा पर्दै गए र अभाव पुर्तिको निम्ति पहाडमा अन्यथा हुनथाले त्यसको दायी को हुनेछन्?

वास्तवमा जनता बन्द नखोल्न होइन आन्दोलन जारी हुनुपर्छ भनिरहेका छन्। यसो भन्नको निम्ति अहिले जनतासित रहेको भाषा केवल बन्द मात्र हो। अनि त्यो भाषा पनि गोर्खा जनमुक्ति मोर्चाले उपलब्ध गरेको हो।

विमल गुरूङ, रोशन गिरीहरूले बारम्बार भने, ‘आन्दोलन मोर्चाकै नेतृत्वमा छ, जनता मोर्चाकै पछि छ।’

यसो भनिँदिँदा धेरै बौलाए। तर उनीहरूले विचार गरेनन्, विमल र रोशनले जे बोलिरहेका थिए, त्यो साँचो थियो।

सर्वदलीय बैठकले सर्वदलीय सहमति अनुसार एउटै पनि कार्यक्रम फ्याँकेको छैन। अनिश्चितकालीन बन्द, मोर्चाले डाकेको हो। दार्जीलिङका तीन शहीद मोर्चा कै कार्यकर्ता हुन्। पातलेबाससम्म न त क्रामाकपा, न गोरामुमो, न जाप, न भागोपका समर्थकहरू हिँडेका हुन्। अहिलेसम्म पनि जुन आन्दोलन छ, त्यो मोर्चाले गरेकै आन्दोलन हो। तर अहिले आन्दोलन मोर्चाको हातबाट फुत्कियो।

पछिबाट यो अन्तिम पल्ट उठेको हुनसक्ने जनलहरलाई समावेशी बनाउन र मोर्चाको आन्दोलनलाई जन आन्दोलन बनाउन विभिन्न दल, सङ्घ, बौद्धिक, आम नागरिक, सचेतहरूले धेरै ठूलो भूमिका निर्वाह गरे।

मोर्चाको आन्दोलनले जन आन्दोलनको रूप लिइसकेपछि मात्र धेरै पार्टीलाई झण्डा थन्क्याउन बाध्य पारेको हो, धेरैलाई सर्वदलीय बैठकमा जानैपर्ने बाध्य बनाएको हो।

अर्थात, यसपल्ट जनशक्ति अघि सबै दल झुक्यो। मोर्चा लगायत। यसकारण अहिले पहिलेजस्तो कुनै सम्झौताको कुरा गर्न न मोर्चालाई सजिलो छ न अरू कुनै पार्टीलाई।  जसले पनि आन्दोलनलाई सम्झौतामा ल्याउँछ, उ यसपल्ट धराशयी बन्ने पक्का छ।

यतिखेर सम्झौता परस्त कुनै पनि पार्टीको दुश्मन कोही छ, भने त्यो जनता नै हो। त्यो जनता जसले दलबाट थुतेर मुद्दा आफ्नो हातमा लिएको छ र भनिरहेको छ-‘खबरदार यसपल्ट कुनै सम्झौता गऱ्यौ भने माफ पाउने छैनौँ।’

जनताले बन्द नखोल्नु भनेर केवल बन्दको कुरा गरेको छैन, जनता चाहन्छ, यस्तो कार्यक्रमहरू बनियोस्, ताकि यसपल्ट आन्दोलन फेरि कुनै सम्झौतामा टुङ्गिन नपरोस्। यस्तो आन्दोलनको रूपरेखा अघि आवोस् कि जनताले सडकमा निस्किएर दवाब बनाइराख्ने अवसर पावोस्। यस्तो कार्यक्रम बनियोस् कि केन्द्र बोल्न बाध्य परोस्। जनता भन्दैछन्-जबसम्म भरोसा लाग्दो कार्यक्रम बनिँदैन खबरदार बन्द खोल्न पाउने छैनौँ।

अनि नेताहरू छन्, केवल बकबक गरिरहेका छन्। जनता र आन्दोलित समाजको मनोविज्ञानसमेतको हेक्का राख्दैनन्।

तीनवटा भइसक्यो सर्वदलीय  बैठक। खास निचोड केही छैन। यति ढिलोढिलो बैठक भइरहेको छ अनि कार्यक्रमहरू भने प्रभावकारी भने छैन। यस्तै सुस्तरूपले सर्वदलीय बैठक चल्दै गयो र आन्दोलनको प्रभावकारी कुनै कार्यक्रम तय गरिएन भने के हुन्छ?

 

अहिलेको आन्दोलन मोर्चाले हतारमा गरेको कार्यक्रमको आधारमा भइरहेको छ। बैठकले त्यसैलाई जारी राख्ने, वरिष्ठ नेताहरू अनशनमा बस्ने र कोअर्डिनेशन कमिटी बनाउने यही तीन कामबाहेक अर्थोक केही गरेको छैन। अन्तिम बैठकको 6 घन्टे मन्थनको निचोडले भोलि हुने आन्दोलनको अन्योलता र अपरिपक्वताबारे धेरै बताइरहेको छ।

अनिश्चितकालीन बन्दको आयु जनताको आर्थिक क्षमतासित जोडिएको सवाल हो। जनता कुनै पनि हदसम्म जान सक्छ। आन्दोलन विथोलिने हो कि, प्राप्तीसम्म नपुगी नेताहरूले सम्झौता गर्ने हो कि भन्ने जुन भय जनतासित छ, यसलाई राजनैतिकरूपले सम्बोधन गर्नसक्ने क्षमता अहिलेसम्म तीनपल्टको बैठकमा देखिएको छैन। जनतालाई कार्यक्रमको आवश्यकता छ। जनता नेताहरूमा त्यो गम्भीरता चाहन्छ, जसले प्राप्तिसम्म पुऱ्यावोस्। जनता दलहरूमा त्यो परिपक्वता चाहन्छ, जसले हरेक आँधीसित लड्ने उर्जा भेटोस्।

6 जुलाईको बैठकले पनि प्रभावकारी कार्यक्रम बनाएर जनताको हातमा थमाएन भने, त्यसपछि मुद्दा, जाति र आन्दोलनलाई आइपर्ने आपत्तिको जिम्मेवार तपाईँहरू नै बन्नुहुनेछ।

महेन्द्र पी. लामा, हर्कबहादुर, आरबी राई, मन घिसिङहरू त अझ आन्दोलन दबाउने परिपक्व अभिभावक बन्नेछन्।

के तपाईँ आन्दोलन दबाउने आफन्त बन्न चाहनुहुन्छ?

तपाईँको उत्तर विश्वभरिका गोर्खाहरूले पर्खिरहेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया