दार्जीलिङमा मैला पनि बन्द छ

दार्जीलिङः दार्जीलिङ शहरमा मैला थुप्रिन पनि बन्द भएको छ। पहाड़ खुल्ला रहँदा जताततै मैलाको थाक देखिने दार्जीलिङ शहर बन्दको चपेटमा परेपछि यहाँ मैलाको थाक देखिन पनि बन्द भएको छ। यसबाट सहजै अनुमान लगाउन सकिन्छ, दार्जीलिङ शहरमा सबैभन्दा बेसी मैला-कुचेला निस्किने ठाउँ के अनि कुन हो।

आज पहाड़ लगातार बन्द भएको 18 दिन पूरा भयो, यहाँका दोकानपाट, होटल सबै अचल छन्। पहाड़की रानी पर्यटकशुन्य बनेको छ। दार्जीलिङ खुल्ला रहेको समय यहाँको रेलवे स्टेशन नजिक, मोहनलाल पेट्रोल पम्पअघि, रोबर्टसन रोड, एचडी लामा रोड, चौरास्ता रोड, मारवाड़ी सहायक समिति भवन अघितिर जताततै मैलाको राश छरिएको देखिन्थ्यो, तर अहिले यी कुनै पनि ठाउँमा मैला थुप्रिएको छैन।

जसको फलस्वरूप दार्जीलिङ बन्द भए पनि सफा भने देखिन थालेको छ। यसबारे दार्जीलिङ नगरपालिकाको कन्जर्भेन्सी विभागका एक सफाई कर्मचारीसित सोध्दा उनले दार्जीलिङमा सबैभन्दा बेसी मैला होटल र सब्जी दोकानहरुबाटै निस्किने गरेको बताए। उनको भनाईअनुसार, दार्जीलिङ शहरमा सबैभन्दा बेसी मैला होटलहरूबाटै निस्किन्छ, जसले होटलको नजिकै रहेका डस्टबीनतिर लगेर मैला थुपार्ने गर्छन्।

यदि कन्जर्भेन्सी विभागको मैला बोक्ने गाड़ी आउनअघिनै सम्बन्धित डस्टबीनतिर मैला राखिदिए, त्यसलाई सफा गर्न सजिलो पर्नेथियो, तर डस्टबीनहरूबाट मैला उठाएर गाड़ी गइसकेपछि मात्रै अधिकांश होटलहरुले उक्त डस्टबीनहरूमा मैला राखिदिन्छन्। जसको फलस्वरूप दार्जीलिङलाई जतिनै सफा गर्ने कार्य गर्दा पनि शहरलाई सफा बनाउन सकिएको छैन। तर खोई! अहिले दार्जीलिङ शहर बन्द छ, होटलहरु बन्द छन्, कहीं-कतै मैला थुप्रिएको देखिन्दैन त। विशेषमारवाड़ी सहायक समिति भवनअघि मैला ढ्वाङ्गकै छेउमा सागसब्जी, फलफूल अनि माछा-मासु आदिका दोकानहरु छन्,  यी दोकानहरुले पनि सड़े-गलेका सब्जी, माछाको छिल्का आदि यसै मैला ढ्वाङमा फ्याँक्ने गरेका छन्।

तर अहिले यी दोकानहरु पनि बन्द भएको कारण यस ढ्वाङमा पनि मैला थुप्रिएको छैन। यदि यहाँका होटल व्यवसायी, दोकानदार आदिले दार्जीलिङलाई सधैं सफा राख्नको लागि विशेष ध्यान दिए दार्जीलिङ साँच्चै पहाड़की रानीनै हुनेछ। दार्जीलिङ नगरपालिका सूत्रसित सोध्दा उनले भने-अहिले दार्जीलिङ पहाड़ बन्द भए पनि नगरपालिकाको कन्जर्भेन्सी विभागका कर्मचारीहरुले शहरका सबै क्षेत्रबाट मैला उठाउने कार्यलाई जारी राखेका छन्। तर शहर बन्द भएको कारण विभागका कर्मचारीहरुलाई मैला उठाउन त्यति गाह्रो परेको छैन।

मैला कम्ति थुप्रिन्छ, यसैले यसलाई उठाउन धेरै मेहनत गर्न परेको छैन। शहरलाई स्वच्छ राख्नको निम्ति प्रत्येक दोकानदारहरुले डस्टवीन प्रयोग गर्नुपर्ने नगरपालिकाले आदेश जारी गरेको थियो, तर  हालसम्म शहरका अधिकांश दोकानहरूमा डस्टवीनको प्रयोग गरिएको छैन। शहरका लगभग 80 प्रतिशत दोकानहरुमा डस्टवीन छैन। फलस्वरूप, मैला सोझै सड़कमा फ्याँकिने काम भइरहेको छ। मुख्यरूपले शहरवासीहरूको असहयोगको कारणनै दार्जीलिङ शहर दुर्गन्धित बन्दै गएको हो।

नगरपालिकाले प्रत्येक वार्डवासीहरूबाट मासिक 50 रूपियाँ शुल्क उठाएर उक्त वार्ड क्षेत्रको परिवेश सफा राख्न हीप नामक संस्थामार्फत सोही वार्डका बेरोजगार युवाहरूलाई तनाखा प्रदान गरी उक्त क्षेत्रको सफाई अभियानमा लगाउने योजना बनाएको थियो, तर कतिपय वार्डवासीहरूले मासिक 50 रूपियाँ पनि दिन अस्वीकार गरेका थिए। जसले गर्दा यो योजना पनि लागू हुन सकेन।

यदि प्रत्येक वार्डवासीले महीनाको 50 रूपियाँ आफ्नो वार्ड सफाईको निम्ति प्रदान गर्न सहमत भए दार्जीलिङ शहरलगायत वरिपरिको सम्पूर्ण इलाकाको परिवेश पनि सफा बन्नेछ साथै कतिपय बेरोजगार युवाहरूले रोजगारको अवसर पनि पाउनेछन्। तर दार्जीलिङलाई साँचो माया गर्नेहरुको कमी खट्किरहेको छ। यदि आगामी दिनमा पनि दार्जीलिङ शहर बन्दको समय जस्तै सफा भइदिए र यसमा जनता, होटल व्यवसायी अनि दोकानदारहरूले सहयोग प्रदान गरे दार्जीलिङ पक्कै पहाड़की रानीनै बन्नेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन