5 जुलाईदेखि विद्यार्थीहरूले शुरु गर्ने ‘सड़क कक्षा’

मोहन लामा

दार्जीलिङः आज पनि गोर्खाल्यान्डको नारा लगाउँदै दार्जीलिङका हजारौं बाल-बालिकाहरु सड़कमा ओर्लिए। जसले जिल्लापाल कार्यालयको मूलद्वारअघि नारा लगाउँदै हालसम्म जिल्लापाल कार्यालयमा उपस्थिति दिइरहेका कर्मचारीवर्गलाई कार्यालयमा अनुपस्थित भएर उनीहरुको सुनौलो भविष्यको लागि गोर्खाल्यान्ड राज्य निर्माणमा सहयोग गर्ने अपील गरे। यसरीनै अब गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाले आगामी 5 देखि 8 जुलाईसम्म दार्जीलिङको मोटर स्ट्यान्डअघि विद्यार्थीका लागि सड़क कक्षा लगाउने निर्णय लिएको छ भने 9 जुलाईको दिन यहाँको गोर्खा दुःख निवारक सम्मेलन भवनमा विद्यार्थीहरुलाई लिएर गोर्खाल्यान्डमाथि वार्ता प्रस्तुत गर्ने कार्यक्रम पनि बनाएको छ।

यसबारे विद्यार्थी मोर्चा अध्यक्ष सत्यम लामा, उपाध्यक्ष भाष्कर राई आदिले भने-आगामी 5 जुलाईदेखि हुने 4 दिवसीय सड़क कक्षा कार्यक्रममा विद्यार्थीहरुलाई गोर्खाल्यान्ड गठनको औचित्य अनि गोर्खाल्यान्ड किन चाहिएको छ आदिबारे दार्जीलिङका विभिन्न महाविद्यालयका शिक्षकहरुले जानकारी दिनेछन्। यसरीनै 9 जुलाईको दिन विद्यार्थीहरूमाझ गोर्खाल्यान्ड विषयमानै वार्ता प्रस्तुतिकरणको कार्यक्रम तयार पारिएको छ, जसमा वार्ता प्रतियोगिता पनि हुनेछ। यसका साथै यसै वार्ता कार्यक्रमबाट विद्यार्थी मोर्चाले असल वक्ताहरुको पनि चयन गर्ने भएको छ।

यसैबीच, आज यहाँको रेलवे स्टेशनबाट विद्यार्थी मोर्चाले निकालेको जुलूसमा व्यापक बाल-बालिकाहरु पनि सहभागी बनेका थिए, जसले वी वान्ट गोर्खाल्यान्डको नारा लगाउँदै जिल्लापाल कार्यालयअघि प्रदर्शन गरेका थिए। जहाँ यी बाल-बालिकाहरुले जिल्लापाल कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई सम्बोधन गर्दै गोर्खाल्यान्ड हाम्रो भविष्य हो, यसैले गोर्खाल्यान्ड राज्य निर्माणको लागि सरकारी कर्मचारीहरु पनि कार्यालय जानु उचित छैन। सरकारी कर्मचारीहरु आफ्नो कार्यालय नगएर राज्य सरकारको विरोध गरिदिए असल हुनेछ अनि गोर्खाल्यान्डको यस आन्दोलनमा पनि सहयोग पुग्नेछ।

यसरीनै आज गोर्खा जनमुक्ति नारी मोर्चा सदस्याहरु यहाँको जिल्लापाल कार्यालय प्रवेश गर्ने चारैतिरका बाटोमा तैनाथ रहेर जिल्लापाल कार्यालय गइरहेका कर्मचारीहरुलाई खदा लगाइदिए। यसबारे नारी मोर्चाकी एक सदस्यासित सोध्दा उनले भनिन्-अहिले दार्जीलिङ पहाड़मा गोर्खाल्यान्डको आन्दोलन भइरहेको छ, सबै कार्यालय, बजार, यातायात सेवा, स्कूल-कलेज आदि ठप्प छन्। सम्पूर्ण जनता गोर्खाल्यान्डको लागि सड़कमा ओर्लिरहेका छन्, तर सरकारी कर्मचारीहरु लुकीलुकी आफ्नो कार्यालय गएर उपस्थिति दिइरहेका छन्। यसैले आज सरकारी कार्यालय जाने कर्मचारीहरुलाई खदा लगाइएको हो। उनले भनिन्-गोर्खाल्यान्डको लागि गणतान्त्रिक आन्दोलन भइरहेको छ, यसैले कर्मचारीहरुलाई धम्की दिने कुनै काम गरिएन। यदि उनीहरुमा पनि आफ्ना छोरा-छोरी वा भावी सन्तानको लागि अलग राज्य गोर्खाल्यान्ड चाहिन्छ भन्ने भावना छ भने उनीहरुले निडर बनेर यस आन्दोलनलाई साथ दिनुपर्छ। गोर्खाल्यान्डको यस नयाँ आन्दोलनकै क्रममा तीनजना युवाहरु शहीद बनेका छन्, उनीहरुको बलिदानलाई अब गोर्खे सन्तानले खेरो जान दिनु हुँदैन।

यसैबीच, आज दार्जीलिङ जिल्लापाल कार्यालय आइरहेका धेरै कर्मचारीहरु आधा बाटोबाटै घर फर्किएको पनि जानकारी पाइएको छ भने आज जिल्लापालमा केवल 20 प्रतिशत मात्रै कर्मचारीहरूको उपस्थिति रहेको पनि सूचना प्राप्त भएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन