भारत सरकार, सिक्किम सरकार र बङ्गाल सरकार जिम्मेवारः भारत हेर्ने सिक्किमले चीन हेर्न नपरोस्ः सिसक

गान्तोकः भारत र बङ्गाल सरकारले सिक्किमेको सुरक्षा गर्न सक्दैन र सिलगढीमा मुट्ठीभर गुण्डा लगाएर सिक्किमेको वाहन तो़ड्ने र लुट्ने-कुट्ने घृणित कार्य जारी रहेको खण्डमा दक्षिण (भारत) को साटो उत्तर (चीन) फर्किन नपरोस् भन्दै सिक्किम सब्जेक्ट कमिटीले कडा मन्तव्य जाहेर गरेको छ।

कमिटीका मुख्य सल्लाहकार तथा पूर्व सांसद पहलमान सुब्बाको उपस्थितिमा संयोजक नविन किरणले तुरन्तै सिलगढीमा सिक्किमको वाहन र मानिसहरूको सुरक्षा गरिनुपर्ने नत्र दोस्रो विकल्प सोच्न सिक्किमेहरू बाध्य हुने बताएका छन्।

भारत सरकार, सिक्किम सरकार र बङ्गाल सरकार यसमा जिम्मेदार रहेको बताउँदै तीनैवटा सरकारले एक हप्ताभित्रमा पहल गरेर सिक्किमको सुरक्षा र शान्ति सिलगढीमा बहाल नगरेर आफूहरूले आफ्नो सुरक्षाको निम्ति आफै तैयारी गर्ने उनले कडा मन्तव्य व्यक्त गरेका छन्।

सिलगढीमा भइरहेको सिक्किमे वाहन तोडफोड र यात्रुहरूलाई कुटपिट तथा माल वाहक वाहनहरु लुट्ने घटनाको तीब्र निन्दा गर्दै यसबारे पश्चिम बङ्गालको प्रशासनले केही नगर्नु तथा भारत सरकारले हस्तक्षेप नगर्नु एंव सिक्किम सरकारले पनि मौनता साधेर बस्ने प्रवृत्ति देखाएपछि यस प्रकारको मन्तव्य व्यक्त गर्दै न्याय खोज्न बाध्य भएको उनीहरूको मन्तव्य छ।

यो मुद्दामा सिक्किम सरकार, भारत सरकार र बङ्गाल सरकार हितधारक रहेको र तीनै सरकारले पुलिसकै छेउमा कुटपिट र तोडफोड गर्दा कुनै प्रतिक्रिया नगर्नुले सिक्किमेहरू भारतमा असुरक्षित बनेको महसुश गर्दै तुरन्तै भारत सरकारले हस्तक्षेप गर्नुपर्ने माग गरेका छन्।

यसैगरी संयोजक किरणले सबै वाहनका मालिक र चालकहरूलाई आफ्नो वाहन तोडफोड र कुटपिटको विरूद्ध सिक्किमकै थानाहरूमा प्राथमिकी दर्ता गर्नुपर्ने सुझाउ दिँदै त्यसले थानाबाट मुद्दा अर्को राज्यको थानामा सारेर अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउन सकिने पनि बताएका छन्।

चालकहरूले अहिले वाहन चलाउन बन्द गरेको अवस्थालाई सङ्गठनले पूर्ण समर्थन गर्ने उनले बताए। यसका साथै सिक्किम सरकार पनि अब धेरै लुब्धो भएर नबस्ने अनि आफ्नो लाचारीपन त्याग्ने आह्वान गर्दै उनले 30 वर्षदेखि गोर्खाल्याण्ड आन्दोलन सिक्किमले पनि गरिरहेको कुरालाई स्पष्ट राखेर सिक्किमको सुरक्षाको निम्ति अघि आउनुपर्ने बताए।

‘हामी अहिलेसम्म दक्षिणबाट राशन पानीको निम्ति निर्भर छौं यस्तै स्थिति रह्यो र हाम्रो अवस्थालाई ध्यान नदिइए उत्तरतिर फर्कन बाध्य हुनेछौं,’ उनले भने, ‘सिलगढीमा एक मुट्ठी गुण्डाहरूले सिक्किमलाई होस्टेजेस बनाइरहेको छ। पुलिसकै छेउमा गाडी फुटाउँदा पुलिस हेरिबस्छ र शान्ति जुलुसमा पुलिसले गोली हान्छ भने हामीले हाम्रो भविष्यको गन्तव्य कसरी निर्णय गर्नुपर्ने त्यो भारत सरकारले बुझ्नुपर्छ।’

उनीहरूले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस प्रकारको मन्तव्य व्यक्त गरेका हुन्। साथमा चालक समुदायका केही युवा चालक प्रतिनिधिहरू पनि थिए जसले जोरदार विरोध गर्दै सुरक्षाको माग गरेका छन्। उनीहरूले भने, ‘एसके नम्बरको वाहनलाई सालुगढादेखि एनजेपी र बागडोगरासम्म दश ठाउँमा चेकिङ गरेर पक्राउ गर्दै पैसा माग्ने बङ्गाल पुलिसले हाम्रो गाडी फुटाउँदा चै किन सुरक्षा दिन सक्दैन?’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन