म गोर्खा हुँ , आतङ्कवादी होइन

अनिल तेलैजा

 


हिन्दी सिनेमाका महानायक अमिताभ बच्चनले

राष्ट्रिय टीभी च्यनलहरूमा घरि-घरि दोहोऱ्याइ बुझाउन पर्ने

एक -वुँद जिन्दगी की- कुनै पोलियो निरोधक औषधीको थोपा होइन म।

न त ठण्डा मतलब कोकोकोला भन्दै

अमिर खानले फलाकी रहनुपर्ने कोल्डड्रिङ्कको ब्राण्ड नै हुँ म।

 

म त मेरै पौरख र वीरताले बनिएको विश्वविश्वास

र इमान्दारिताको प्रतिक हुँ।

कञ्चनजङ्गा जस्तै अटल र महाकाल जस्तै पवित्र

म त मेरै रगत र पसिनाले अर्जेको सुनाम हुँ।

यो देशको छात्तीमा तेञ्जिङ भएर उदाउने मै हुँ।

यो देशको राष्ट्रिय गीतमा कप्तान रामसिंह भएर गुञ्जने पनि मै हुँ।

आजाद हिन्द फौजका सावेत्री, इण्द्रानीहरू पनि मै हुँ।

देश स्वतन्त्रताको आन्दोलनमा कप्तान दुर्गा मल्ल भएर

पहिलो शहीद हुने पनि मै हुँ।

देशको संविधानमा अरिबहादुर भएर हस्ताक्षरित मै हुँ।

देशको हिप हिप हुर्रे मा भाइचुङ र सुनिल छेत्रीहरू भएर गोल दाग्ने पनि मै हुँ।

देशको मुक्काहरूमा आत्मविश्वास भएर बज्रिने शिव थापा पनि मै हुँ।

म नै हुँ मेरो देशको राष्ट्रिय खेलमा भरत छेत्री भएर देशको नेतृत्व गर्ने।

अब त मलाई चिन्नु भो होला नि?

मेरो प्यारो देशवासी।

म गोर्खा हुँ, भारतीय गोर्खा, आतङ्कवादी होइन।

 

मेरै काँटा फरूवा र कोदालोले खनिएको हो यो देश।

मेरै रगत,पसिना र पौरखले बनिएको हो यो देश।

मेरै हो टिस्टा, रङ्गीत, बालसन, मेची र जलढाकाहरू।

1859 अर्थात् मेरो देश बनिन भन्दा ठीक 88 वर्ष अघि

तिमीहरूले पिउँदै गरेको दार्जीलिङ टी रोप्ने पनि मै हुँ।

मै हुँ मेरो देशभन्दा जेठो कुलैन रोपेर टाइफाइड निको पार्ने।

एशिया कै पहिलो हाइड्रोपावरप्लान्टको घडेरी खन्ने मेरै कोदालोहरू हो।

मेरै दानमा फराकिलो बनेको हो तिलकचन्द्र खेलमैदान

जो भनेको छ आजको कञ्चनजङ्गा स्टुडियम।

मेरो प्यारो देशवासी

तिमी हाम्रो कञ्चनजङ्गा चिन्छौ हामीलाई चिन्दैनौ।

तिमी होम्रो वीरता चिन्छौ हामीलाई चिन्दैनौ।

तिमीलाई त हाम्रो ढाँड भाँचिएको भन्दा चौरस्ताको बेञ्ची भाँचिकोमा धेर चिन्ता लाग्छ।

यसैले त जुग जुग बस्दै आएका हाम्रो सुर्ता भन्दा रमाइलो गर्न आउने

पर्यटकहरूको असुविधा मात्रै तिम्रो बहसको विषय बन्छ।

तिमी हाम्रो सबथोक चिन्चौ हामीलाई चिन्दैनौ।

अलोपम्पिक खेलमा जीतु राई भएर फुलिने 56 इञ्चको छात्ती मेरै हो।

मेरो प्यारो देशवासी

सिमानाबाट हरेक दिन फर्कने शहीदको अनुहारमा हेरे हुन्छ

तिमीले मेरो अनुहार

म त्यहीँ हुनेछु।

 

तिमी हाम्रो उत्सर्ग चिन्छौ हामीलाई चिन्दैनौ।

तर मेरो प्यारो देशवासी म देशभन्दा जेठो देशवासी हुँ।

महेञ्जदरो र हरप्पाको पतनसितै पश्चिमबाट पूर्व बसाईसर्ने आर्यनहरू

अनि गाँस बास र कपासको निम्ति युद्ध गर्दै उत्तरपूर्वबाट दक्षिण झर्ने हुणहरू

या ता सागरतलबाट उँभो उठ्ने द्राविडहरू

सबै मेरा समकालिन हुन।

महाभारतमा किरात राजा यलम्बर भएर उपसस्थिति दिने मै हुँ।

 

1839 मा क्याम्बेलले दार्जीलिङको महाकाल डाँडा छेउछाव भेटेका

100 घर जति झुपडी र यसका मालिक मै हुँ।

1829 मा लोयड्ले देखेको ओल्ड गोर्खा स्टेसन अफ् दार्जीलिङ पनि मै हुँ।

यसैले देश नबनी अनि देश बनिएपछि दुवैमा म थिएँ, म छु।

देश बनाउनमा अनि देश बढाउनमा दुवैमा मेरो योगदान थियो, योगदान छ।

मेरो प्यारो देशवासी

अब त मलाई पक्कै चिन्यौ होला नि?

म गोर्खा हुँ आतङ्ककवादी होइन।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया