गोरामुमोमाथि गोजमुमोको चापः छैटौं अनुसूची स्पष्टरूपमा खारेज गर्नुपर्छ

दार्जीलिङः आगामी 6 जुलाईको सर्वदलीय बैठकअघिनै गोरामुमोले छैटौं अनुसूचीको मुद्दालाई खारेज गर्नुपर्ने साथै मन घिसिङले नर्थ बेंगल स्पोर्टस् काउन्सिलका उपाध्यक्ष पदबाट राजीनामा दिनुपर्ने गोर्खा जनमुक्ति मोर्चाले पुनः माग उठाएको छ। यसबारे आज गोजमुमो प्रवक्ता विनीता रोकाले भनिन्-हालसम्म पनि गोरामुमोले छैटौं अनुसूचीमाथि चर्चा गरिरहेको छ र यसको लागि राज्यकी मुख्यमन्त्रीसित सम्पर्क गर्ने कार्य गरिरहेको छ। एकतर्फ गोरामुमोले गोर्खाल्यान्डको मागलाई समर्थन गरेर सर्वदलीय बैठकहरुमा भाग लिइरहेको छ, तर अर्कोतर्फ छैटौं अनुसूचीबारे पनि चर्चा गरिरहेको छ।

यसैले आगामी 6 जुलाईको दिन हुने सर्वदलीय बैठकअघिनै गोरामुमोले छैटौं अनुसूचीलाई लिखितरूपमा खारेज गरेर एक प्रस्ताव पारित गर्नुपर्छ अनि उक्त प्रस्ताव जनताअघि छर्लङ्ग पार्नुपर्छ। यसरीनै गोरामुमो अध्यक्ष मन घिसिङलाई राज्य सरकारले नर्थ बेंगल स्पोर्टस् काउन्सिलको उपाध्यक्ष पद दिएको थियो, यो पद पनि उनले छोड़्नुपर्छ। यदि गोरामुमोले गोजमुमोको यो दुइवटा प्रस्तावलाई मान्दैन भने आगामी दिनमा गोजमुमोले अन्य पार्टीहरुसित मात्रै मिलेर गोर्खाल्यान्डको आन्दोलनलाई अघि बढ़ाउन बाध्य हुनेछ। उनले अझै अघि भनिन्-प्रथम सर्वदलीय बैठकमा गोरामुमो, जाप आदि पार्टीहरुले गोजमुमोलाई जीटीए त्याग्ने अपील गरेका थिए, जसलाई स्वीकार गरेर गोजमुमोले साक्षात प्रमाण दिइसकेको छ।

अब छैटौं अनुसूचीमाथि आफ्नो अड़ान स्पष्ट पार्ने पालो गोरामुमोको हो। किनभने, जनता छैटौं अनुसूचीको लागि सड़कमा आएका छैनन्, सम्पूर्ण जनताको एउटै चाहना छ अलग राज्य गोर्खाल्यान्ड। यसैले गोरामुमोले पनि अलग राज्य गोर्खाल्यान्डको मागलाई मात्रै समर्थन गरिनेछ, छैटौं अनुसूचीलाई पार्टीले कुनै मान्यता दिनेछैन भनेर आफ्नो अड़ान सार्वजनिक गर्नुपर्छ। स्मरण गराइन्छ, गत केही दिनअघि मात्रै गोरामुमो प्रवक्ता निरज जिम्बाले गोरामुमो अध्यक्ष मन घिसिङलाई आधिकारिकरूपमा नर्थ बेंगल स्पोर्टस् काउन्सिलका उपाध्यक्ष पद दिइएको छैन, यसको अर्डर आएको छैन भन्दै यस पदमा राजीनामा दिइरहने कुनै आवश्यकतानै छैन भन्ने बताएका थिए।

यसैबीच, भोलि दार्जीलिङमा गोर्खाल्यान्ड आन्दोलनको क्रममा गोरामुमोले पनि जुलूस निकाल्ने भएको विषयलाई ध्यानमा राख्दै गोजमुमोले बिहान 10 बजीनै यहाँको रेलवे स्टेशन परिसरबाट जुलूस निकाल्ने निर्णय लिएको पनि उनले जानकारी गराइन्। यसरीनै उनले सिलगढ़ीमा अर्द्धसैनिक बल होइन, सेना तैनाथ गर्नुपर्छ भन्ने माग गर्दै सिलगढ़ी इलाकामा जारी रहेको अमानवीय क्रियाकलापमाथि रोक लगाउनुपर्ने केन्द्र सरकारसमक्ष अपील गरेकी छन्। उनले भनिन्-हाल आमरा बंगाली अनि अन्य केही संगठनहरुले सिक्किमका गाड़ी अनि गोर्खा समुदायमाथि आक्रमण गर्ने अमानवीय कार्य गरिरहेका छन्। यसमाथि रोक लगाउन अनि सिलगढ़ीमा सम्पूर्ण समुदायको सुरक्षा सुनिश्‍चित गर्न सिलगढ़ी क्षेत्रमा सेना तैनाथ गर्नुपर्छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन