पाक्दैछ छैटौं अनुसूचीको खिचड़ीः यसमा राज्यको षड़्यन्त्र छः विमल

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले राज्य सरकारको षड़्यन्त्रमा पहाड़को कुनै पार्टी फँस्न नहुने अपील गर्दै गोर्खाल्यान्डको आन्दोलनलाई विफल बनाउन छैटौं अनुसूचीको खिचड़ी पकाउने कार्य भइरहेको आरोप लगाए। उनले आज पातलेबासमा पत्रकार सम्मेलनको आयोजना गरी भने-छैटौं अनुसूचीको खिचड़ी पकाउने प्रयास भइरहेको छ, तर कुनै पनि पार्टीले यस्तो गर्नु हुँदैन। पहाड़का जनता अलग राज्य गोर्खाल्यान्डको एकमात्र मुद्दाको लागि सड़कमा आएका छन्, जनताको यस भावनालाई सबै पार्टीले सम्मान गर्नुपर्छ। तर गोर्खा जातिको यस एकवद्ध आन्दोलनलाई तोड़्नको लागि राज्य सरकारले षड़्यन्त्र रच्न शुरू गरेको छ, यस्तो षड़्यन्त्रमा पहाड़को कुनै पनि पार्टी पर्नु हुँदैन। यो गोर्खा जनमुक्ति मोर्चाको अनुरोध हो।

यसैबीच, उनले हिजो मात्रै दार्जीलिङका सांसद एवं केन्द्रिय राज्यमन्त्री एसएस बाहलुवालियाले आफूलाई फोन गरेर गोर्खाल्यान्डबाहेक अन्य मुद्दामा वार्ता गर्ने प्रस्ताव दिएको बताउँदै सांसदको प्रस्तावलाई उनले सोझै खारेज गरेको पनि बताए। उनले भने-केन्द्र सरकारसित वार्ता हुन्छ भने केवल अलग राज्य गोर्खाल्यान्डको लागि हुनपर्छ, उनले सांसदलाई यसो भनेको पनि बताए।

उनले छैटौं अनुसूचीको मुद्दामा खिचड़ी पकाउने कार्य भइरहेको सम्बन्धमा गोरामुमोको नाम भने लिन मानेनन्। यसका साथै उनले दार्जीलिङ पहाड़मा आगामी दिन हुने कुनै पनि चुनाउमा पहाड़का कुनै पनि पार्टीले भाग नलिने बताउँदै राज्य सरकारद्वारा गरिने चुनाउहरूमा कसैले पनि भाग लिन नहुने पनि अपील गरे। एक प्रश्‍नको उत्तरमा गोजमुमो अध्यक्ष गुरूङले भने-दार्जीलिङ पहाड़मा जे-जति हिंसात्मक कार्यहरु भए, यसको सम्पूर्ण दायित्व राज्य सरकार र मुख्यमन्त्री व्यानर्जीको हो। मुख्यमन्त्रीको कारणनै पहाड़ अशान्त बनेको हो, जसको कारणनै तीनजना गोर्खे युवाहरु शहीद बनेका छन्।

उनीहरूमाथि गोली चलाएको आरोप दार्जीलिङ पुलिसले गोजमुमोमाथिनै लगाए पनि सत्यता सबैअघि छर्लङ्गै छ। पुलिसले गोली चलाउँदै गरेको भीडियो फूटेज हामीसित छ। यसैले यस घट्नामाथि सीआईडी जाँच होइन, सीबीआई जाँचनै हुनपर्छ। यस विषय लिएर गोजमुमोले केन्द्र सरकारसमक्ष पत्राचार गरेको पनि उनले जानकारी गराए। प्राप्त जानकारीअनुसार, भारतीय सेनाले केन्द्रिय गृह मन्त्रालयलाई 17 जूनको गोलीकाण्डको रिपोर्ट सुम्पिएको छ। यसबारे गुरूङले भने-सेनामाथि गोर्खा जनमुक्ति मोर्चा मात्रै होइन, गोर्खा जातिकोनै ठूलो विश्‍वास छ। यसैले सेनाले केन्द्र सरकारलाई जुन रिपोर्ट दिएको छ, त्यो सही हो। यसैबीच, उनले गोर्खा जनमुक्ति मोर्चाको पक्षबाट पहाड़ बन्द जारी रहने निर्णय गरिएको बताए पनि यसको जिम्मेवारी गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीसित पनि छ भन्ने पनि बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन