छैटौं अनुसूची डेट एक्सपायर भएको मुद्दाः मन घिसिङ

दार्जीलिङः गोरामुमोले छैटौं अनुसूचीलाई डेट एक्सपायर भएको मुद्दा बतायो।  यसैले अब केही समयपछि गोरामुमोले छैटौं अनुसूचीका सम्पूर्ण दस्तावेजहरु जलाउने पनि निर्णय लिएको छ। यसका साथै गोजमुमोले आफूलाई गोर्खाल्यान्डको एकमात्र मुद्दामा कसैले पनि शङ्का गर्न नहुने पनि अपील गरेको छ। आज यहाँको डालीबाट गोरामुमोले एक जुलूसको आयोजना गरेको थियो, जसले यहाँको चौरास्तामा एक सभाको पनि आयोजना गर्यो। यसै सभालाई सम्बोधन गर्ने क्रममा गोरामुमो अध्यक्ष मन घिसिङले छैटौं अनुसूचीलाई डेट एक्सापयर भएको मुद्दा बताउँदै डेट एक्सपाएर भएको औषधि खान नहुने जस्तै डेट एक्सपायर भएको मुद्दा पनि कसैले उठाउन नहुने र यस विषयलाई लिएर शङ्का उत्पन्न गरिरहन पनि नहुने बताए।

उनले भने-छैटौं अनुसूचीको च्याप्टर क्लोज भइसकेको छ। यसैले कसैले पनि गोरामुमोलाई यस विषयमा शङ्का गर्नुहुँदैन। हामी सबै मनमुटाउ, रिस-राग, द्वेष आदि सबै भुलिएर एकमात्र गोर्खाल्यान्ड राज्य गठनको लागि सड़कमा आएका छौं, अब छोड़िसकेको मुद्दालाईनै लिएर शङ्का गरिरहन उचित छैन। वर्तमान गोर्खाल्यान्ड आन्दोलन कुनै एउटा पार्टीको हातमा छैन, यसले जनआन्दोलनको रूप लिइसकेको छ। यसैले सबै पार्टीले शङ्का-उपशङ्का अनि अफवाहहरुमा नलागेर गोर्खाल्यान्डको लागि काम गर्नुपर्छ।

जसको लागि गठन भएको गोर्खाल्यान्ड मूभमेन्ट कमिटीमा पनि हामीले दुइजना नेताको नाम दिइसकेका छौं। अब यसै मूभमेन्ट कमिटीको नेतृत्वमा गोर्खाल्यान्ड आन्दोलनको रोडम्याप तयार पार्नुपर्छ अनि केन्द्र सरकारमाथि चाप दिने ठोस कार्य हुनपर्छ। अब गोरामुमोलाई छैटौं अनुसूची होइन, केवल अलग राज्य गोर्खाल्यान्ड चाहिन्छ, यो गोरामुमोको स्पष्ट अड़ान हो र यसको लागि पार्टी साँच्चै गम्भीर र इमान्दार छ। उनले भने-गोर्खाल्यान्ड आन्दोलनको लागि गोरामुमोका समर्थकहरु उत्तेजित बनिरहेका छन्, तर अहिलेसम्म मैले उनीहरुलाई थम्थमाएर राखिरहेको छु। अब धेरै दिनसम्म पार्टी कार्यकर्ताहरुलाई थम्थमाएर राखिरहन सकिन्दैन। स्मरण गराइन्छ, गोर्खा जनमुक्ति मोर्चाले छैटौं अनुसूची विषय लिएर गोरामुमोमाथि शङ्का गरिरहेको थियो।

हिजो मात्रै गोजमुमो अध्यक्ष विमल गुरूङले पनि गोरामुमोको नाम नलिई छैटौं अनुसूची जस्तो व्यवस्थाको लागि खिचड़ी पकाउने काम कसैले पनि गर्न नहुने अनि गोर्खाल्यान्डको लागिनै काम गर्नुपर्ने आह्वान गरेका थिए। यसरीनै गोरामुमो प्रवक्ता निरज जिम्बाले पनि छैटौं अनुसूची लिएर गोरामुमोमाथि शङ्का गर्नु असान्दर्भिक हो भन्ने बताउँदै गोरामुमो गोर्खाल्यान्डको लागि कटिवद्ध छ र गोरामुमोले कहिले पनि जनतालाई धोका दिनेछैन भने। उनले भने-छैटौं अनुसूचीको खिचड़ी पाकेको हेर्न राज्यको किचनमा को गएको थियो? यो अहम विषय बनेको छ। गोजमुमोले गोरामुमोमाथि शङ्का गरिरहनु उचित छैन।

उनीहरुलाई हामीलाई केही समय दियोस्, हामी छैटौं अनुसूचीकै दस्तावेजहरु जलाएर नष्ट पारिदिनेछौं। स्मरण गराइन्छ, गत 13 जूनको दिन भएको प्रथम सर्वदलीय बैठकमा गोरामुमोले गोजमुमोलाई जीटीए त्याग्ने चाप दिएको थियो, जसलाई गोजमुमोले स्वीकार गरेर सम्पूर्ण सभासदहरुले आ-आफ्नो पदबाट राजीनामा दिएका थिए भने जीटीएको ऐन अनि सम्झौता पत्र पनि जलाएको थियो। यसपछि गोजमुमोले पनि गोरामुमोमाथि छैटौं अनुसूचीको मुद्दामाथि आफ्नो अड़ान स्पष्ट पार्ने चाप दिन थालेको थियो।

यसपछि आज गोरामुमो अध्यक्षलेनै छैटौं अनुसूचीको च्याप्टर क्लोज भइसकेको छ भनेपछि यी दुइ पार्टीमाथि चाप दिने क्रम बन्द हुने सम्भावना छ। यसैबीच, आज नेपाली साहित्य सम्मेलनले पनि गोर्खाल्यान्डको मागलाई समर्थन गर्दै दार्जीलिङमा एक जुलूस निकालेको थियो। जसले 17 जूनको सिंहमारी काण्डको विरोध, गोर्खाल्यान्डको समर्थन र नेपाली भाषामाथि राज्य सरकारको अतिक्रमणको विरोधमा जुलूस निकालेको सम्मेलनका अध्यक्ष कर्ण थामीले बताए। यसअघि यहाँको घूम-जोरबङ्लो इलाकामा पनि गोर्खाल्यान्डको माग गर्दै आज युवाहरुले खुकुरी जुलूस प्रदर्शन गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन