6 जना पुलिस कर्मी, तीन मोर्चा कार्यकर्ता घाइतेः पुलिसले असली गोली चलाएको छ-कर्णल आले

कालेबुङः गोर्खा जनमुक्ति युवा मोर्चाले निकालेको जुलुस अवधी कालेबुङ शहर रणभुमिमा परिणत भयो। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै कालेबुङ शहरमा सदा झैँ आज पनि जुलुस निस्केपछि उक्त जुलुस 10 माइल फाटक हुँदै शहर परिक्रमा गर्ने क्रममा तृणमूल काङ्ग्रेस पार्टी कार्यालयको बिल्डिङमा आगो लगाएपछि तनाव सिर्जना भएको थियो।

जुलुसको क्रममा अचानक केही मानिसहरूले तृणमूल कङ्ग्रेसको पार्टी कार्यालय रहेको बिल्डिङमा आगो लगाएका थिए। उक्त बिल्डिङको चौथो तल्लामा तृणमूल कङ्ग्रेसको पार्टी कार्यालय रहेको छ भने मानिसहरूले सडकसँग टाँसिएको उक्त बिल्डिङको एउटा ‘वाइन सप’ अनि एउटा वाई-वाई आदि राख्ने भण्डारामा आगो लगाएका थिए।

अचानक जुलुसको क्रममा आगो लागेपछि अघिबाटै तृणमूल कार्यालयको सुरक्षार्थ खटेका पुलिस कर्मीहरूले भीडलाई त्यस क्षेत्रबाट पन्साएर आगोलाई नियन्त्रणमा ल्याउने कार्य सुरु गरेका थिए। यसक्रममा पुलिसले त्यस बाटो भएर जुलुसलाई हिँड्न समेत दिएको थिएन। आगलागी पछि पुलिस अनि स्थानीय मानिसहरूको सहयोगमा तत्कालै आगोलाई नियन्त्रणमा ल्याउने कार्य चलिरहेको अवस्थामा पुन: केही मानिसहरूले पुलिस कर्मीहरूलाई ढुङ्गा बर्साउन थालेपछि स्थिति बिग्रन पुगेको हो।

आगलागीको घट्नासँगै पुलिसमाथि ढुङ्गा बर्साउन थालेपछि पुलिसकर्मीले पनि भीडलाई पन्साउनका निम्ति हवाई फायरसँगै अश्रु ग्यास छोड्न परेको थियो। यसका साथै पुलिसले स्थितिलाई नियन्त्रणमा ल्याउनका निम्ति रबर बुलेट समेत चलाउन परेको थियो। जसको कारण तीनजना गोजमुमो समर्थक घाइते बनेका छन्। उनीहरूलाई रबर बुलेटले लागेको बताइएको छ भने घाइतेहरू तीनै जनलाई उपचारको निम्ति कालेबुङबाट बाहिर लगेको थाहा लागेको छ।

सूत्रले बताए अनुसार उनीहरूलाई लागेको गोली रबरको होइन, असली गोली हो।

पुलिसले अश्रुग्यास फ्याँक्नका साथै रबर बुलेटद्वारा भीडलाई नियन्त्रण गर्ने कार्य गरेपछि मानिसहरू अझ आक्रोशित बनेका थिए। जसको कारण तनाव अझ बढेको थियो। आगलागीको कारण उक्त बिल्डिङको वाइन सप अनि वाई-वाईको भण्डार जलेर व्यापकरूपले नष्ट भएको छ।

अचानक 10 माइलमा उक्त तनाव सिर्जना भएकै अवस्थामा यता कालेबुङ मोटर स्ट्याङमा रहेको एन.बी.एस.टी.सी कार्यालयमा आगो लगाउने कार्य गरेको थियो। जसको कारण उक्त कार्यालय जलेर नष्ट भएको छ। आगलागीको घट्ना थाहा पाउन साथै घट्ना स्थलमा अग्निसमन विभागको दुईवटा दमकल आएर आगोलाई नियन्त्रणमा ल्याउने कार्य गरेको थियो भने आगोलाई नियन्त्रणमा ल्याउँदा समेत कार्यालय जलेर नष्ट भइसकेको थियो।

उक्त घट्नापछि व्यापक रूपले पुलिस प्रशासन मोटर स्ट्याण्डमा भेला भएका थिए भने सोही क्रममा पुन: मानिसहरूको भीड गोर्खाल्याण्डको नारबाजी गर्दै डम्बर चौकमा भेला भएका थिए।

पुलिसले असली गोली चलायो- रमेश आले

सोहीक्रममा एकजना पुलिस कर्मीलाई आफ्नो ज्यान बचाउनलाई भाग्दै भीडमा आइपुगेपछि मानिसहरूले उक्त पुलिसकर्मीलाई सकुशल उद्धार गरेर सुरक्षित निकाल्ने कार्य गरेका थिए। जसको कारण उक्त पुलिस कर्मी सकुशल थाना पुग्न सकेका थिए। यता पुलिसले चलाएको गोलीलाई गोजमुमो केन्द्रिय समिति सदस्य अवकास प्राप्त कर्णल रमेश आलेले रबर बुलेट नरहेको दाबी गरेका छन्।

‘मेरो अनुभवको आधारमा 7.65 सेल्फ लोडिङ राईफलबाट निस्केको त्यो बुलेट रबर बुलेट होइन। यो नितान्त लाइभ बुलेट पुलिसले चलाएको छ’, रमेश आलेले भने। यसक्रममा उनले पुलिसले चलाएको बुलेट पनि पत्रकारहरूलाई देखाएका थिए।

रबर गोली चलाएका हौंपुलिस अधिक्षक

कालेबुङ रणभुमिमा परिणत भएपछि घट्नाबारे कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले पत्रकार सम्मेलन डाकेर भने, ‘गोजमुमोले आज शहरमा एउटा जुलुस निकालेको थियो। जसमा धेरै मानिसहरू सामेल भएका थिए। जुलुस अघि बढ्दै 10 माइल पुगेपछि त्यहाँ रहेको तृणमूल पार्टी कार्यालयमा रहेका सुरक्षा कर्मीहरूलाई जुलुसले ढुङ्गा हिर्काउने कार्य गरेको थियो। त्यसैक्रममा उनीहरूले तृणमूल कङ्ग्रेसको पार्टी कार्यालय रहेको बिल्डिङको वाइन सप अनि एउटा दोकानमा आगो लगाएका थिए।’

जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले आज दिनभरि भएको घट्नामा मोठ 6 जना पुलिस कर्मी घाइते भएको जसमध्ये 4 जना अस्पतालमा भर्ना भएको अनि 2 जना प्राथमिक उपचार पछि अस्पतालबाट छुट्टी दिइएको बताएका छन्।

घट्नामा घाइते हुनेहरूमा क्रमैले उत्तम बर्मन, श्याम सुनार, सुकदेव दास, सुकेन्दु दास कालेबुङ अस्पतामा भर्ना भएको अनि पार्थो प्रतिम र अपुर्व घोसाललाई प्राथमिक उपचार पछि अस्पतालले छुट्टी दिएको उनले अझ बताएका छन्। सोहीक्रममा पुलिसले भीडलाई गोली चलाएको सन्दर्भमा प्रश्न गर्दा पुलिस अधिक्षक अजित सिंह यादवले रबर बुलेट चलाएको स्पष्टिकरण दिएका छन्। ‘हामीले नन् लिथिकल ग्यास गन फायर गरेका थियौँ। यो नै रबर बुलेट हो’ उनले अझ भने। यता घट्नाबारे पुलिसले छानबिन गरेको अनि मुद्दा दर्ता गरेर दोषीहरूलाई कार्वाही गर्ने पनि बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन