अन्य मुद्दासँगै तृणमूलमुक्त बन्यो पहाड़

दार्जीलिङः दार्जीलिङ पहाड़मा छैटौं अनुसूची, विकास, स्वायत्त शासनका साथै अन्य कैयौं क्षेत्रीय व्यवस्थाका मुद्दाहरुसँगै यथार्थको राजनीति गर्नुपर्छ भनेर पहाड़मा फैलिरहेको तृणमूल कंग्रेस पार्टी पनि लगभग समाप्त भयो। प्रथमतः छैटौं अनुसूची गोरामुमोको आत्मीय मुद्दा थियो, जसलाई गोरामुमोका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङले लगभग सन् 2000-देखि उठाउँदै आइरहेका थिए अनि यसमाथि केन्द्र, राज्य सरकार र गोरामुमोमाझ 6 दिसम्बर 2005-को दिन त्रिपक्षीय सम्झौता पनि भएको थियो। यसपछि राज्यको विधानसभाले यस मुद्दालाई पारित गरेर संसदमा पठाउने कार्य पनि गरेको थियो। तर पहाड़का जनताले यसको विरोध गर्न थालेपछि पहाड़मा छैटौं अनुसूचीको मुद्दानै हराएर गएको थियो। अक्टोबर 2007-मा गोर्खाल्यान्डको माग गर्दै गोर्खा जनमुक्ति मोर्चाको उदय भएपछि गोरामुमो अध्यक्ष सुवास घिसिङसँगै कैयौं नेताहरु पहाड़ छोड़्न बाध्य बनेका थिए।

तर समयको परिवर्तनसँगै पहाड़को राजनीतिमा पनि केही वर्षको अन्तरालमानै व्यापक परिवर्तन आउन आयो, गोजमुमोले केन्द्र र राज्य सरकारसित जीटीएको लागि सम्झौता गर्यो। यो सम्झौतासम्म पहाड़मा सबै ठीकै थियो, राज्य सरकार र गोजमुमोको मित्रता कायम थियो, गोरामुमो अध्यक्ष सुवास घिसिङ सिलगढीतिरनै बसिरहेका थिए। तर जीटीएको सम्झौता भएको केही वर्षपछिनै गोजमुमो र राज्य सरकारमाझ फाटो आउन शुरू भयो। जीटीएको सम्झौताअनुसार, हस्तान्तरण हुनपर्ने विभागहरु जीटीएमा हस्तान्तरण गरिएन, यसको लागि जीटीएले घरिघरि आवाज उठाउँदा पनि राज्य सरकारले टेरपुच्छर लगाएन। यसको एउटा मूल कारण गोजमुमोको भाजपासित गठबन्धन पनि हो। गोजमुमोले भाजपासित गठबन्धन गरेको कारणनै राज्य सरकारले जीटीएलाई उत्ति ध्यान दिन छोड़ेको थियो।

गोजमुमोले लगातार लोकसभा चुनाउहरुमा भाजपालाईनै सघाएर यहाँबाट भाजपाकै उम्मेद्वारलाई सांसद बनाएर पठाएको थियो, जुन भाजपालाई तृणमूल कंग्रेसले एक नम्बर राजनैतिक शत्रु मानेको छ। तर यी दुइ पार्टीको राजनैतिक द्वन्दको फलस्वरूपनै राज्य सरकारले बिस्तारै पहाड़ अनि जीटीएमा गोजमुमोलाई अचल बनाउने रणनीति शुरू गरेको थियो। पहाड़मा बिस्तारै तृणमूल कंग्रेस पार्टीको बिस्तार शुरू भयो, विभिन्न जातहरुलाई विकास बोर्डहरु दिएर जीटीएको क्षमता घटाउने पहल भयो, जीटीएको तुलनामा धेरै धनराशि यी विकास बोर्डहरुलाई दिइएको थियो, कालेबुङलाई अलगै जिल्लाको दर्जा दिइयो, मिरिकलाई महकुमाको दर्जा प्रदान गरियो, थर्बु चियाबगान अधीनस्थ मिरिक नगरपालिका क्षेत्रका जनतालाई जमीनको मालिकाना हक प्रदान गर्न थालियो। राज्य सरकारका यी सम्पूर्ण कार्यहरुबाट गोजमुमोको रिसले आकाश छोइसकेको थियो।

यति मात्रै होइन, गत नगरपालिका चुनाउमा पहाड़का चारवटा नगरपालिका चुनाउमा गोजमुमोलाई हराउनको लागि राज्य सरकारले कठोर प्रयास गरेको थियो, नगरपालिका चुनाउमा प्रचार गर्नको लागि राज्यका लगभग 8 जना मन्त्रीहरुलाई लगाइएको थियो। तर यसै चुनाउ प्रचारको समय राज्यका एक शीर्ष मन्त्रीले गोजमुमोका अध्यक्ष विमल गुरूङसँगै नगरपालिका चुनाउमा खड़ा भएका गोजमुमो उम्मेद्वारहरुलाई चुनाउपछि बाकसमा हालेर डाँड़ा कटाउने वक्तव्य दिएपछि गोजमुमोसँगै पहाड़का आम जनता पनि तृणमूल कंग्रेससित रिसाउन थाले। चुनाउ सकियो, मिरिकमा तृणमूल कंग्रेसलेनै बोर्ड बनायो। तर यसैबीच राज्य सरकारले बंगालभरिका विद्यालयहरुमा बंगला भाषाको पठन-पाठन अनिवार्य गर्ने बयान जारी गरेपछि सम्पूर्ण गोर्खा जातिलेनै यसको विरोधमा गर्न शुरू गरे। यदि राज्य सरकारले आफ्नो क्षमतालाई सही रूपमा प्रयोग गरेर बंगला भाषा अनिवार्य गर्ने बयान फिर्ता गरेको भए, पहाड़ अहिले शान्तनै हुनेथियो। तर राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको ढिट्पन जारी रह्यो, दार्जीलिङ पहाड़ राज्य सरकारसित रिसाइरहेको थियो। त्यसै समय दार्जीलिङमा राज्यको क्याविनेट मन्त्री मण्डलको बैठक गरियो।

जुन दिन शुरू भएको आगो अहिलेसम्म पनि निभेको छैन अनि पहाड़लाई शान्त बनाउनको साटो मुख्यमन्त्रीले अझै गोर्खाल्यान्ड एक, दुइ, तीन हुँदैन भनेर गोर्खा जातिलाई अझै उत्तेजित बनाउने कार्य गरिरहेकी छन्। दार्जीलिङ पहाड़ बन्द भएको आज 22 दिन भयो, तरै पनि राज्य सरकारले यस स्थितिलाई साम्य पार्ने कुनै पहलनै गरेको छैन, उल्टा पहाड़को स्थिति यस्तो बनाउनमा भाजपाको हात रहेको आरोप लगाइरहेकी छन्। जसको कारण पहाड़मा बढ्दै गइरहेको तृणमूल कंग्रेसको अस्तित्वनै समाप्त भइसकेको छ भने हिल तृणमूल कंग्रेसका शीर्ष नेतृत्वहरुले पनि पार्टीबाट राजीनामा दिइसकेका छन्। यसैबीच, छैटौं अनुसूचीको आत्मीय मुद्दाका साथै सम्पूर्ण रिस-रागलाई पर सारेर गोरामुमो पनि छुट्टै राज्य गोर्खाल्यान्डको यस आन्दोलनमा कुदिसकेको छ। जसले गर्दा हाल दार्जीलिङ पहाड़ अलग राज्य गोर्खाल्यान्डबाहेक अन्य मुद्दा र तृणमूल कंग्रेसमुक्त भइसकेको छ, जुन तृणमूल कंग्रेस विकासको मुद्दामा पहाड़मा निकै फैलिसकेको थियो। तर राज्य सरकारको गलत नीतिको फलस्वरूप आज पहाड़मा तृणमूल कंग्रेसको मूलनै सुकेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन