सिक्किम सरकारले बङ्गाल सरकारलाई हाल्ने मुद्दाः 60 हजार करोड़को क्षतिपूर्ति मागिनेः मुख्यमन्त्रीले भने, बङ्गाल सरकारले गोर्खाल्याण्डको माग पुरा गर्न नसक्दा सिक्किमलाई समस्या

गान्तोकः मुख्यमन्त्री पवन चामलिङले पश्चिम बङ्गाल सरकार विरूद्ध देशको सर्वोच्च न्यायालयमा जाने बताएका छन्। अहिलेसम्म गोर्खाल्यण्ड आन्दोलनको कारण भएको समस्याले सिक्किमलाई भएको नोक्सानको क्षतिपूर्ति बङ्गाल सरकारले तिर्नु पर्ने बताउँदै मुख्यमन्त्री पवन चामलिङले सर्वोच्च न्यायालयमा 60 हजार करोड रूपियाँको क्षतिपूर्तीको माग गर्न मुद्दा हाल्ने बताएका छन्।

दक्षिण सिक्किमको नाम्चीमा आयोजित जनता मेलालाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन्। ‘दार्जीलिङ पहाड़मा उठिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई पश्चिम बङ्गाल सरकारले सम्बोधन गर्न नसक्दा सिक्किमले समस्या झेल्न परिरहेको छ,’ उनले भने, ‘छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनका कारण सबैभन्दा ठूलो नोक्सानी सिक्किमले झेल्नु परिरहेको छ।’

मुख्यमन्त्री चामलिङले दार्जीलिङमा उठिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको माग संवैधानिक रहेको र संविधानअन्तर्गत नै जनताले यो माग उठाइरहेको बताए। तर, यो मागलाई पश्चिम बङ्गाल सरकारले अहिलेसम्म दबाएर राखेको उनले बताए।

उनले राज्यमा उठिरहेको छुट्टै राज्यको माग र समस्यालाई बङ्गाल सरकारले समाधान गर्न नसकिरहेको उनले आरोप पनि लगाए। उनले बङ्गालभित्र उठिरहेको छुट्टै राज्य गोर्खाल्याण्डको माग अनि समस्यालाई समाधान गर्ने जिम्मेवारी पनि बङ्गाल सरकारको रहेको बताए।

राज्यको कानून एवं व्यवस्था सुनिश्चित गर्ने जिम्मेवारी पूर्ण रूपले राज्य सरकारको रहेको, तर बङ्गालमा कानून एवं व्यवस्था नै भङ्ग भइसकेको उनले बताए। मुख्यमन्त्रीले बङ्गाल सरकारमाथि सिक्किमे जनतालाई राष्ट्रिय राजमार्ग 10 मा टेरोराइज अनि अन्याय गरेर राखेको आरोप पनि लगाए।

गोर्खाल्याण्ड आन्दोलनका कारण सिक्किमलाई 60 हजार करोड़ भन्दा अधिक नोक्सानी भएको उनले दाबी गरे। ‘विगत 32 वर्षको अन्तरालमा सिक्किमले खप्नु परेको नोक्सानीको क्षतिपूर्ति बङ्गाल सरकारले बेहोर्नुपर्छ,’ उनले भने, ‘बङ्गाल सरकारको षड़यन्त्र विरूद्ध न्यायालय जाने छौँ। सिक्किम ठूलो छिमेकी राज्यको हेपाई खानु भारतमा सामेल भएको होइन। भारत सरकारले सिक्किमे जनताको सुरक्षा गर्नुपर्छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन