बाल-बालिकाहरु किन चाहन्छन् गोर्खाल्यान्ड?

दार्जीलिङः गोर्खाल्यान्ड राज्यको गठन भए हामी पढ़िसकेपछि कामको खोजीमा बाहिर जान पर्नेछैन, दार्जीलिङमानै काम पाउन सकिन्छ, उच्च शिक्षा हासिल गर्नको लागि दार्जीलिङ छोड़्न पर्नेछैन। यी सबै दार्जीलिङ पहाड़मानै हुने भएको कारणनै हामीलाई अलग राज्य गोर्खाल्यान्ड चाहिएको हो। पूजा अनि अनिशाको बाल चाहना यस्तै छ, यसैले उनीहरु पनि हाल दैनिकरूपमा दार्जीलिङमा गोर्खाल्यान्डको लागि निकालिने जुलूसमा भाग लिन घरको सामान्य काम अनि पढ़ाई पूर्ण गरेर घरबाट बाहिरिने गरेका छन्।

नवौं श्रेणीमा अध्ययनरत 16 वर्षीया अनिशा अनि आठौं श्रेणीमा पढ़्ने पूजा थामीले आज पनि यहाँको मोटर स्ट्यान्डमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाद्वारा आयोजित सड़क कक्षामा अन्य विद्यार्थीहरुसँगै भाग लिइरहेका थिए। यसैबीच, गोर्खाल्यान्ड किन चाहियो? भन्ने प्रश्‍न गर्दा उनीहरु दुवैले एकै स्वरमा भने-अहिले दार्जीलिङमा धेरै पढ़ेका दाज्यू-दिदीहरु छन्, तर उनीहरुले काम पाएका छैनन्। किनभने, दार्जीलिङ पहाड़ अहिले पनि बंगाल राज्यभित्रै छ। यदि अहिले हाम्रो आफ्नै गोर्खाल्यान्ड राज्य भएको भए यहाँ कामको प्रशस्तै सम्भावना हुनेथियो। यी कारणहरुले गर्दा पनि हामीलाई अलग राज्य गोर्खाल्यान्ड चाहिएको हो।

यति मात्रै होइन, हाम्रो मातृभाषा नेपाली हो, तर बंगाल सरकारले दार्जीलिङ पहाड़मा पनि बंगला भाषा पढ़्नुपर्ने कुरा गरिरहेको छ। हामीलाई बंगला भाषा न पढ़्न आउँछ, न बुझ्ननै सक्छौं। यदि बंगाल सरकारले जबर्जस्ती बंगला भाषा पढ्नुपर्छ भन्ने निर्णय गर्यो भने हामी जस्ता विद्यार्थीहरुमाथि अझै ठूलो बोझ थपिनेछ। यसैको विरोधमा पनि हामी सड़कमा आइरहेका छौं अनि गोर्खाल्यान्डको माग गरिरहेका छौं। यदि गोर्खाल्यान्ड राज्यको गठन भए हामीले आफ्नै मातृभाषामा पढ़्न पाइनेछौं। आज यहाँको मोटर स्ट्यान्डमा आयोजित सड़क कक्षाको अवधि गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाका अध्यक्ष सत्यम स्याङ्बो, उपाध्यक्ष भाष्कर राई, सचिव अनमोल थापा आदिको विशेष उपस्थिति थियो। यसै सम्बन्धमा प्रश्‍न गर्दा विद्यार्थी मोर्चाका अध्यक्ष सत्यम स्याङ्बोले भने-गोर्खाल्यान्ड सबैले बुझेका छन्, तर यसको औचित्य के हो, किन गोर्खा जातिलाई अलग राज्य गोर्खाल्यान्डको खाँचो छ, यसबारे बुझ्ने दायित्व सबैभन्दा बेसी अहिलेका बाल-बालिकाहरुको हो।

किनभने, भविष्यमा यी बाल-बालिकाहरुलेनै अलग राज्य गोर्खाल्यान्डको उपभोग गर्न सक्नेछन्, यसको लागि वर्तमान समयमा कति संघर्ष गर्न परिरहेको छ, त्यो अहिलेका बाल-बालिकाहरूले बुझेका छन् भने उनीहरुले भविष्यमा गोर्खाल्यान्ड राज्यलाई असल ढङ्गमा सञ्चालन गरेर लान सक्नेछन्। यसैकारण विद्यार्थी मोर्चाले सड़क कक्षा शुरू गरेको हो। सर्वोच्च न्यायालयको निर्देशबारे प्रश्‍न गर्दा उनले भने-सन् 2013-मा सर्वोच्च न्यायालयले जारी गरेको निर्देशलाई गोर्खा जनमुक्ति मोर्चा वा विद्यार्थी मोर्चाले अलिकति पनि उल्लंघन गरेको छैन। किनभने, हाल जुलूसमा विद्यार्थी वा बाल-बालिकाहरुलाई उनीहरुकै अभिभावकवर्गले स्वेच्छाले भाग लिन ल्याइरहेका छन् अनि उनीहरु कुनै स्कूलको ड्रेसमा छैनन्।

विद्यार्थी मोर्चाले बाल-बालिकाहरुलाई उनीहरुका घर-घरमा गएर जबर्जस्ती जुलूसमा ल्याउने कार्य गरेको छैन, यसैले बाल-बालिकाहरुले जुलूसमा भाग लिने कार्यबाट सर्वोच्च न्यायालयको निर्देशको उल्लंघन भएको जस्तो लागेको छैन। न विद्यार्थी मोर्चाले यी बाल-बालिकाहरुलाई जुलूसमा आउँदा पार्टीको झण्डा दिइरहेको छ, न उनीहरुले स्कूल डे्रसनै लगाएका छन्।

यसैले यसले सर्वोच्च न्यायालयको निर्देशको उल्लेघन भएको छैन। यसैबीच, भोलिदेखि यी विद्यार्थीहरुलाई दार्जीलिङका केही स्कूलका शिक्षकहरुले गोर्खाल्यान्ड राज्य गठनको औचित्यबारे बुझाउने भएको पनि जानकारी गराए। यसरीनै आगामी 9 जुलाईको दिन यी विद्यार्थीहरुका लागि गोर्खा दुःख निवारक सम्मेलन भवनमा गोर्खाल्यान्डमाथि वार्ताको कार्यक्रम गर्ने योजना बनाएको छ। यसअघि आज पहाड़ बन्दको 23औं दिन पनि गोजमुमो साथै अन्य पार्टीका समर्थकहरुले यहाँको रेलवे स्टेशनबाट एक जुलूस निकालेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन