जीएमसीसीले गऱ्यो घटनाको प्रतिवाद, केन्द्रसमक्ष गऱ्यो न्यायिक जाँचको माग

कालेबुङः गोर्खाल्याण्ड मुभभमेन्ट को-अर्डिनेसन कमिटीले सोनादा अनि दार्जीलिङको घटनाको प्रतिवाद जनाउँदै यथाशीघ्र केन्द्र सरकारले हस्तक्षेप गर्नुपर्ने तथा न्यायिक जाँच हुनुपर्ने माग लिएर देशका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री अनि राज्यपाललाई पत्राचार गरेको छ।

आज कालेबुङमा कमिटी अन्तर्गत रहेका राजनैतिक दलहरूका प्रतिनिधिहरूलाई लिएर संयोजक कल्याण देवानले एउटा आपतकालिन बैठक गरेपछि उक्त निर्णय लिएको बताएका छन्। ‘बङ्गाल पुलिसले अहिले म्याजिस्ट्रेटको आदेशबिना अन्धाधुन्ध गोली चलाएर हाम्रो मान्छे मारिरहेको छ। यसको हामी घोर भर्त्सना जनाउँदछौ अनि यस्ता घटनाहरूको न्यायिक जाँच हुनुपर्ने माग गर्दै देशका राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री अनि राज्यपाललाई पत्राचार गरेका छौं’ देवानले बताए, ‘राज्य सरकारले पुलिसलाई मिसयूज गरिरहेको छ। गोर्खाहरूको गणतान्त्रिक आन्दोलनलाई हिंसात्मक बनाउन खोजिरहेको छ।’

उनले राज्यले गोर्खाल्याण्ड आन्दोलनलाई दबाउन जुन प्रकारको कुप्रयास गरिरहेको छ त्यसले जनता दबिने नदबिने तर जनाक्रोस अझ बञेर जाने बताए।

बङ्गाल सरकार सिक्किम अनि दार्जीलिङ पहाडका जनता भोकै मरोस् भन्ने पक्षमा रहेको अनि सोही कारण सिक्किम अनि दार्जीलिङ पहाड खाद्य सामाग्री, औषधी तथा अन्य आवश्यकीय सामाग्रीहरू लिएर आउने वाहनहरूमाथि रोक लगाउने गरेको अनि तोडफोड गर्ने गरेको देवानले बताए। ‘यस्तो नीच मानसिकता भएको बङ्गाल सरकारको शासन हामी कसरी स्वीकार गर्नु? यस्तो मानसिकता भएको सरकारले चलाउने राज्यभित्र हामी कसरी बस्नु?,’ उनले भने।

गोर्खाल्याण्ड मुभभमेन्ट को-अर्डिनेसन कमिटीको आजको आपतकालिन बैठक गोर्खा जनमुक्ति मोर्चा कार्यालयमा बसेको थियो। उक्त बैठकमा गोर्खा जनमुक्ति मोर्चा लगायत क्रामाकपा, गोर्खालीग, जाप, हिल काङ्ग्रेस लगायत कमिटी अन्तर्गत रहेका अन्य राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन