दार्जीलिङमा तनाउ जारीः जल्यो तृणमूल कार्यालयः मुख्यमन्त्रीले भनिन्, हिंसा प्रायोजित हो, योसित अन्तराष्ट्रीय सम्बन्ध छ

मोहन लामा

दार्जीलिङः सोनादामा पुलिसको गोली लागेर हिजो राती गोर्खाल्यान्ड समर्थक टाँसी भोटियाको विभत्स मृत्यु भएको विरोधमा शुरू भएको दार्जीलिङको तनावपूर्ण स्थितिबीचनै आज पुलिसले चलाएको गोली लागेर अझै दुइ गोर्खाल्यान्ड आन्दोलनकारीको मृत्यु भयो। जसको नाम सुरज सुन्दास  र समिर गुरूङ  हुन् भनेर चिन्हित भएको छ। उनीहरूको घाँटी र टाउकोमा गोली लागेको छ।

दार्जीलिङको स्थिति असामान्य बनेपछि सेना पनि मैदानमा उत्रिन परेको छ। दार्जीलिङ शहरमा सेना आएपछि स्थिति केही सामान्य बने पनि आभा आर्ट ग्यालेरी, दार्जीलिङ शहर आदि क्षेत्रमा अझैसम्म पनि टीयर ग्यास पड़्काउने, गोली चलाउने क्रम रोकिएको छैन। आज बिहान लगभग 11 बजीदेखि शुरू भएको दार्जीलिङको स्थिति अपरान्ह 3 बजीसम्म पनि साम्य बनेको थिएन। यसैले लगभग 3 बजी दार्जीलिङ शहरमा सेनानै उतारिएको छ।

घट्नाअनुसार, हिजो राती लगभग 11 बजीतिर सोनादामा एकजना गोर्खाल्यान्ड समर्थकको पुलिसको गोली लागेर मृत्यु भएको थियो। यो खबर फैलिनसाथ दार्जीलिङमा पनि आज बिहानदेखिनै उत्तेजना शुरू भएको थियो, गोर्खाल्यान्ड समर्थकहरुले पुलिसका गाड़ी, पुलिस बुथ आदिलाई लक्ष्य गरेर तोड़फोड़ गर्न शुरू गरेका थिए। यसैबीच, यहाँको रेलवे स्टेशन नजिक अविस्थत मोहनलाल पेट्रोल पम्पअघि एउटा पुलिसको गाड़ीलाई पनि उत्तेजित भीड़ले पल्टाएर आगो लगाइदिए।

यहाँको मोटर स्ट्यान्डमा पनि एकाएक स्थिति तनावपूर्ण बन्यो अनि एकपछि अर्को गर्दै पुलिस बुथहरु तोड़फोड़ शुरू भएको थियो। उत्तेजित जनताले गत केही महीनाअघि मात्रै लगाएको शहरका सम्पूर्ण सीसी टीभी क्यामेराहरु पनि भत्काइदिए। यसपछि दार्जीलिङ सदर थानाबाट पुलिसले पनि गोली चलाउन शुरू गऱ्यो, यसै समय पुलिसले चलाएको गोली लागेर सुरज सुन्दासको विभत्स मृत्यु भयो। यस समय पुलिसले कैयौं राउण्ड टीयर ग्यास पनि पड़्काएको थियो भने दार्जीलिङको पुलिस डीएसपी कार्यालय, ट्राफिक पुलिस कार्यालयभित्रबाट विभिन्न सामग्रीहरु बाहिर निकालेर जलाइदिए। यति मात्रै होइन, जजबजारस्थित तृणमूल काङ्ग्रेसको कार्यालयमा पनि आगो लगाइयो। अर्कोतर्फ सोनादाको स्थिति आज लगभग दिनभरिनै तनावपूर्ण बनेको थियो। हिजो राती लगभग 11 बजीतिर सोनादा निवासी टाँसी भोटियालाई पुलिसले गोली चलाएर हत्या गरेको विरोधमानै आज गोजमुमो अनि गोरामुमो समर्थकहरुले सोनादामा विक्षोभ प्रदर्शन गरेका थिए, यसै अवधि उत्तेजित जनताले सोनादाको पुलिस बुथ र सोनादा रेलवे स्टेशनमा पनि आगो लगाइदिए।

यसै समय पुलिसले टीयर ग्यास, गोली चलाउन शुरू गऱ्यो भने जनताले पनि ढुङ्गा प्रहार गर्न शुरू गरेका थिए। यस समय पुलिसले चलाएको गोली लागेर दुइजना गोर्खाल्यान्ड समर्थक घाइते भए। यसपछि स्थिति तनावपूर्ण बनेको थियो भने अपरान्ह 1 बजीदेखि भने सोनादाको स्थिति केही शान्त बनेको छ। पुलिस, अर्द्धसैनिक बलले सोनादामा टहलदारी शुरू गरेको छ भने दार्जीलिङमा सेनानै आउन परेको छ। यद्यपि, दार्जीलिङमा अपरान्ह 3 बजीसम्म पनि स्थिति तनावपूर्णनै बनिरहेको छ भने अहिलेसम्म पनि पुलिसले टीयर ग्यास पड़्काउन, गोली चलाउन छोड़ेको छैन। दार्जीलिङको यस तनावपूर्ण स्थितिको फलस्वरूप पुलिस अनि अर्द्धदैनिक बलले मीडियाकर्मीहरुलाई पनि घट्नास्थलमा आउन दिएका छैनन्।

हिजो राती 11 बजी पुलिसको गोली लागेर निधन हुने सोनादा निवासी टाँसी भोटिया (30)-का दाज्यू जिङ्गे भोटियाले सोनादा थानामा एक प्राथमिकी दर्ता गरेका छन्, जसमा टाँसी भोटिया आफ्नो लागि औषधि किन्न भनेर सोनादा बजार गइरहेको समय पुलिसले अचानक गोली चलाएर उनको हत्या गरेको आरोप लगाएका छन्। जसमाथि कार्वाही गर्ने पनि माग गरिएको छ। टाँसी भोटियामाथि गोली चलाइएको घट्नाको विरोध गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले यसमाथि न्यायिक जाँच शुरू गर्नुपर्ने माग गरेका छन्। आज मन घिसिङ पनि टाँसी भोटियाको घर पुगेका थिए। यसरीनै गोरामुमो प्रवक्ता निरज जिम्बाले पनि यस घट्नाको विरोध जनाउँदै एक निहत्था युवकमाथि पुलिसले गोली चलाएको छ, दोषी पुलिसकर्मी विरूद्ध कठोर कार्वाही हुनपर्छ भन्ने माग गरेका छन्।

यता मुख्यमन्त्रीले सोनामा काण्डलाई मुख्यमन्त्री मममता व्यानर्जीले दुर्घटना भनी बताएकी छन्। ययता दार्जीलिङमा भइरहेको हिंसालाई उनले अन्तराष्ट्रीय सम्बन्धसित जोडेकी छन्।

‘दार्जीलिङको घटना प्रायोजित हो, यसको सम्बन्ध अन्तराष्ट्रीयस्तरमा छ,’ उनले भनिन्, ‘पहाडमा खाद्यान्न लैजान दिनुपर्छ, स्कूल खोल्नुपर्छ। दार्जीलिङको स्थिति साम्य भए दसपन्ध्र दिनमा बैठक बोलाइनेछ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन