चुनौती

 

शरण मुस्कान

 


खेतबारीमा उमारेको सपनालाई

जङ्गी असीनाले निर्वस्त्र पारेपछि

किसानको पाखुरीले जुन गीत गाउँछ

त्यही गीत गाउँदैछ अहिले-पहाड़।

 

सरकार!

तिमीले छरिरराखेका बतासे सपनाहरू उखेलिँदैछ

हजार झूटहरूले खड़ा गरेको तिम्रो सुनको लङ्का दहन गरिँदैछ।

 

तिमी नै हौ भरोषाका कूलोहरू भत्काउने

युगौदेखि बचाइराखेका हाम्रा सपनाहरूमाथि बन्दूक चलाउने

हाम्रो स्वाभिमानमाथि बीच सड़कमा लाठीचार्ज गर्ने

हाम्रो आस्था- भरोषाहरूमाथि टियर ग्यास फ्याँक्ने।

 

विश्वासको सन्धि जलिसकेपछि

पहाड़मा जुन आवाज हुर्किरहेछ अहिले

याद राख सरकार!

तिम्रो टियर ग्यासभन्दा कैयौं गुणा शक्तिशाली छ त्यो

तिम्रो  बुलेटभन्दा सैयौं गुणा बलशाली छ त्यो।

 

तिम्रो जङ्गी फरमानसित जुझ्न

अहिलेघरि हामीसित सामुहिक आवाजका हातेमलोहरू छन्

जसलाई तिमी आतङ्कवादी भनिरहेका छौं

आफ्नो सुरक्षा अनि अस्तित्वको गुहार खोज्न

अहिलेघरि हामीसित भारतमाताका  तिरङ्गा  झण्डा छन्

जसलाई तिमी जङ्गी हतियार भनिरहेका छौं।

 

सुन सरकार!

अहिले हामी आफ्नै पदछाप भएको बाटोको निर्माणमा जुटेका छौं

जहाँबाट भएर हामी निर्धक्क संसद छिर्न सकौं

हामी आफ्नै सुगन्ध भएको माटोको खोजीमा हिँड़ेका छौं

जहाँ हामी आफ्नो  कालजयी इतिहास लेख्न सकौं।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया