दार्जीलिङमा शहीदद्वयको निकालियो शवयात्राःसीआरपीएफ, पुलिस विरूद्ध नाराबाजी

दार्जीलिङः दार्जीलिङ र सिंहमारी गोलीकाण्डमा परेर शहीद बनेका दुइजना शहीद क्रमैले सुरज भुषाल र समीर गुरूङको शव आज दार्जीलिङ शहर घुमाइयो। यस समय दार्जीलिङ शहरमा पुलिस, अर्द्धसैनिक बल सीआरपीएफको एकैजना पनि जवान तैनाथ थिएन, यहाँ केवल सेना मात्रै तैनाथ गरिएको थियो। शवयात्रामा सामेल गोर्खाल्यान्ड समर्थकहरुले सीआरपीएफ गो ब्याक, बंगाल पुलिस मुर्दावादको नाराबाजी गरे पनि सेना विरूद्ध कसैले एकै शब्द पनि अनैतिक उच्चाण गरेन। फलस्वरूप उक्त दुइजना शहीदको शव दार्जीलिङ शहर घुमाएर आ-आफ्नो घर लगिञ्जेलसम्म कहीं-कतै कुनै अप्रिय घट्ना भएन।

आज समीर गुरूङको शव सिंंहमारीबाट जू रोड हुँदै दार्जीलिङ शहर ल्याइएको थियो भने सुरज गुरूङको शव पनि तुङसुङबाट शहर ल्याइएको थियो। यी दुवै शवलाई शहरका विभिन्न स्थानहरुको परिक्रमा गराइएपछि यहाँको ट्राफिक ओसी कार्यालयअघिबाट समीर गुरूङको शव सिंहमारीतर्फ प्रस्थान गराइयो अनि सुरज भुषालको शव पुनः उनको घर तुङसुङतर्फ लगियो। यस शवयात्रामा व्यापक संख्यामा गोर्खाल्यान्ड समर्थकहरु सामेल थिए भने उनीहरुले सीआरपीएफ र बंगाल पुलिसको विरोधमा मात्रै नाराबाजी गरिरहेका थिए। शवयात्रा समाप्त भएपछि दार्जीलिङ एकपल्ट पुनः शान्त बनेको छ भने सेना पनि मोटर स्ट्यान्ड परिसरबाट हटेको छ। सेनाले समय-समय शहरमा टहलदारी गरिरहेको छ, तर आज प्रायः दिनभरिनै अर्द्धसैनिक बल सीआरपीएफ अनि पुलिस शहरको कुनै पनि स्थानमा तैनाथ देखिएन।

अर्कोतर्फ दार्जीलिङ महकुमाअन्तर्गत विभिन्न स्थानहरुमा सरकारी कार्यालयहरु तोड़फोड़ भएको अनि पुलिस आउट पोष्टहरुमा आगो लगाइएको पनि जानकारी पाइएको छ। प्रशासनिक सूत्रअनुसार, हिजो राती केही उपद्रवीहरुले खरसाङ महकुमा अधिकारी कार्यालय र बीडीओ कार्यालयमा आगो लगाउने प्रयास गरेका थिए, जसको कारण खरसाङ महकुमा अधिकारी कार्यालय र बीडीओ कार्यालयमा आंक्षिक क्षति पुगेको छ। यसरीनै खरसाङको गैरीगाउँस्थित वन विभागको लज जलेर खरानी भएको छ भने सुकेपोखरी पुलिस आउटपोष्ट तोड़फोड़ गरिएको छ। यसरीनै पोख्रेबुङ ग्राम पञ्चायत कार्यालय, थर्बु पुलिस आउट पोष्ट जलाइएको जानकारी पाइएको छ। यसबाहेक आज दार्जीलिङमा नयाँ कुनै अप्रिय घट्नाको खबर पाइएको छैन, तरै पनि यहाँको स्थिति तनाउपूर्ण बनिरहेको छ। सड़कमा सधैं जस्तो मानिसहरुको चहल-पहल कम्ति भएको छ भने गाड़ीहरुको आउजाउ पनि लगभग शुन्य बराबरनै छ। यहाँ सेना, केही एम्बुलेन्स आदि गाड़ीहरुको आउजाउ मात्रै देखिन्दैछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन