ममतालाई मोर्चाको चुनौती: ‘आन्दोलनमा अन्तराष्ट्रीय हात रहेको प्रमाणित गरून्’

कालेबुङ, १० जुलाई।

अब हामी बङ्गालसँग मुख दुखाउँदैनौं किनकी जत्ति नै सम्झाए पनि बङ्गाल सरकारले गोर्खाल्याण्ड राज्य गठनको मुद्दालाई सहि भन्ने होइन। अब हामी अन्य २८ वटा राज्यहरूको समर्थन लिएर गोर्खाल्याण्ड राज्य गठन गर्नेछौं।”

गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिका साङ्गठनिक सचिव सामुएल गुरुङले आज उक्त मन्तव्य पोखेका छन्। कालेबुङमा भइरहेको धारावाहिक जुलुसपछि उपस्थित जनसमूहलाई सम्बोधन गर्दै उनले उक्त मन्तव्य व्यक्त गरेका हुन्। वर्तमान स्थितिमा गोर्खाल्याण्डको मागलाई बङ्गाल सरकारले बुझ्न नचाहे पनि केन्द्र सरकारले गोर्खाल्याण्ड राज्य गठनको महत्त्व अनि गोर्खाहरूको माग बुझिसकेको दाबी गर्दै गुरुङले भने- “केन्द्र अनि अन्य राज्यहरूले हाम्रो आवाज सुन्यो अनि हाम्रो माग बुझ्यो भन्दैमा हामी चुप लागेर भने बस्नु हुँदैन। हामीले हाम्रो गोर्खाल्याण्ड मागलाई अझ तीब्र बनाएर लैजानु पर्छ।”

गोर्खाल्याण्ड आन्दोलनलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीले ‘अन्तराष्ट्रिय हात छ’ भनेर दिएको वक्तव्यमाथि पनि गुरुङले प्रतिक्रिया व्यक्त गर्दै कुन देशको सहयोग अनि समर्थन गोर्खाल्याण्ड आन्दोलनलाई छ त्यो ममता ब्यानर्जीले प्रमाणित गरेर देखाउनुपर्ने चुनौती दिए। गोर्खाहरू देश स्वतन्त्र अघिदेखि लिएर वर्तमानसम्म पनि देशको सुरक्षार्थ बलिदान दिन पनि पछि नपर्ने जाति रहेको उनले बताए।

बङ्गाल सरकारले अहिले राज्यको दुईवटा स्थानमा दुईमुखे नीति  अप्नाएको कुरा कसैबाट पनि लुक्न नसकेको अनि उक्त कुरा केन्द्र्ले पनि बुझिसकेको गुरूङले बताए। एकातिर गोर्खाल्याण्ड राज्यको मागमा जुलुस गरिरहेका जनसाधारणमाथि सोझै गोली चलाएर मार्ने काम गरिरहेको राज्य सरकारले अन्य स्थानमा भने अलग्गै नीति अप्नाएको उनले बताए। “दार्जीलिङमा जुलुसमा हिँडिरहेका जनसाधारणमाथि किन सोझै गोली चलाउँदैछ यो प्रश्न संसदमा पनि उठ्नुपर्छ” भन्ने माग उनले राखे।

गोर्खाल्याण्ड आन्दोलन बङ्गाली समुदाय अनि ममता ब्यानर्जीको विरूद्ध नभएर बङ्गाल सरकारले गोर्खाहरूमाथि अप्नाएको नीति अनि व्यवहारलाई लिएर रहेको तथा गोर्खाहरूको संवैधानिक अधिकार प्राप्तिको निम्ति रहेको बताउँदै गुरूङले “गोर्खाल्याण्ड राज्य गठनपछि ममता ब्यानर्जी आफै अथवा कोही बङ्गाली समुदायबाट नै गोर्खाल्याण्डको मुख्यमन्त्री रहे तापिन आपत्ती नरहने” मन्तव्य पनि व्यक्त गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन