पहाड़-सिक्किमको राशिन, ग्यासमा नाकाबन्दी: मानव अधिकारको हनन

 

मोहन लामा

दार्जीलिङ:


दार्जीलिङ पहाड़प्रति राज्यकी मुख्यमन्त्रीको ममता राशिन, ग्यास आदिको नाकाबन्दीबाट छर्लङ्ग हुँदैछ। अहिले दार्जीलिङ पहाड़ अनि सिक्किम आदि क्षेत्रमा सिलगढीबाट राशिन लान दिइएको छैन। सिक्किम राज्य र दार्जीलिङ पहाड़को कालेबुङ जिल्लामा लगिने राशिन सालुगढाबाट अघि लाननै दिइएको छैन भने दार्जीलिङ आउने राशिनका गाड़ीहरुलाई  सालबारी नजिकनै रोक्ने कार्य भइरहेको छ।जसको लागि राज्य सरकारले पुलिस बलनै तैनाथ गरेको छ।

जसको चौफर्ती विरोध भइरहे पनि राज्य सरकारले यी विरोधहरुलाई एक कानले सुनेर अर्को कानले उँड़ाउने गरिरहेको छ। सिलगढीबाट प्राप्त भएको जानकारीअनुसार, हिजो मध्यान्ह 12 बजीतिर पनि सिलगढी पुलिसले सालुगढामा एसके 01बी/3585 नम्बरको पिकअप् भ्यानलाई रोक्ने कार्य भएको थियो।

यति मात्रै होइन, गत आइतबार मात्रै सिक्किमबाट लगिएको एक गाड़ी दूध अड़ाई माइल चेकपोष्ट नजिकनै झारेर सिलगढीका केही दुष्कर्मीहरुले नष्ट गर्ने कार्य गरेका थिए। दार्जीलिङ पहाड़ आउने राशिनका गाड़ीहरुलाई मात्रै सिलगढी क्षेत्रमा रोकिएको छैन, सिलगढी नजिक सालुगढा अनि सालबारी, सुकुना आदि क्षेत्रमा आउने राशिनका गाड़ीहरुलाई पनि रोक्ने कार्य भइरहेको छ। सिलगढी क्षेत्रमा यस्तो कार्य गत लगभग एक सप्ताहदेखि जारी छ।

विशेष दार्जीलिङ पहाड़मा चर्किरहेको गोर्खाल्यान्डको आन्दोलनलाई कुनै पनि शक्तिले रोक्न नसकेपछिनै राज्य सरकारले पहाड़का जनतालाई भोकै बनाएर आन्दोलन दबाउने प्रयास गरेको पहाड़का अधिकांश राजनैतिक पार्टीहरूले आरोप लगाएका छन्। यसरीनै सिक्किमले पनि गोर्खाल्यान्डको आन्दोलनलाई समर्थन गरेको कारणनै सिलगढीबाट राशिन लिएर सिक्किम जाने गाड़ीहरुलाई पनि यस्तो यातना दिइएको पनि उनीहरुले बताएका छन्। सिलगढीबाट पाइएको जानकारीअनुसार, सालुगढामा प्रायः दिउँसोको समय ट्राफिक पुलिस राखेर सिक्किम अनि कालेबुङ जाने गाड़ीहरुलाई रोक्ने कार्य गरिन्दैछ भने रातीको समय पुलिस आफै तैनाथ रहने गरेको छ।

जसले राशिन बोकेर सिक्किम जाने गाड़ीहरुलाई वे बील, चलान आदि माग्ने गरेको छ भने उनीहरुले रड, सिमेन्ट आदि बोकेका गाड़ीहरुलाई केही  गर्दैनन्। केवल पुलिसले राशिन बोकेका गाड़ीहरुलाई मात्रै यसरी दुःख दिने कार्य गरिरहेको छ। यसबारे गत केही दिनअघि मात्रै राज्यका पर्यटनमन्त्री गौतम देवले भनेका थिए, पहाड़मा बन्द यथावत छ, यस्तो अवस्थामा सिलगढीबाट पहाड़ गएका गाड़ीहरु तोड़फोड़ हुन्छ भनेरनै सिलगढीबाट पहाड़ जाने गाड़ीहरुलाई रोकिएको हो। तर सिक्किम जाने गाड़ीहरुलाई किन रोकिन्दैछ? प्रश्‍नको उत्तर अधुरै छ।

यसरीनै राज्यका खाद्य विभागीय मन्त्री ज्योतिप्रिय मल्लिकले पनि गत केही दिनअघि पहाड़ बन्द जबसम्म खोलिनेछैन, तबसम्म पहाड़मा राशिनको सर्वराह बन्द गरिनेछ भनेर दिएको बयानपछिनै सिलगढीबाट दार्जीलिङतर्फ राशिन ल्याउन नदिइएको जानकारी पाइएको छ। जसको विरोधमा माकपाले मानव अधिकार आयोगसमक्ष पत्राचारनै गरेको छ भने एसयूसीआई, गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीले पनि यसको कठोर शब्दमा विरोध जनाएका छन्। यसबारे गोर्खाल्यान्ड मूभमेन्ट कमिटीका सदस्य एवं क्रामाकपाको युवा एकाई गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाका महासचिव अरूण घतानीसित प्रश्‍न गर्दा उनले भने-पश्‍चिम बंगाल सरकारले गोर्खाल्यान्डको आन्दोलनलाई दबाउनको लागि जनताको जिउने अधिकार पनि हनन गरिरहेको छ।

पहाड़मा राशिन, ग्यास जस्ता आवश्यक सामग्रीहरु लान नदिएर राज्य सरकारले आफ्नो कु्ररता देखाइरहेको छ। बंगाल सरकारको राज्यका समतल क्षेत्र र पहाड़लाई हेर्ने दृष्टिकोणनै अलग छ। यसैले यस्तो सरकारको अधीनमा गोर्खा जाति बस्नेछैन अनि हामीलाई अलग राज्य गोर्खाल्यान्डनै चाहिएको हो। राज्यको यस्तो कार्यप्रणालीको उनले कठोर शब्दमा आलोचना गर्दै यस विरूद्ध मूभमेन्ट कमिटीको मानव अधिकार सेलले मानव अधिकार आयोगसमक्ष पत्राचार गर्ने निर्णय िएको पनि बताए। उनले भने-सिलगढीबाट पहाड़ अनि सिक्किम जाने गाड़ीहरुमा राशिन लगिएको छ वा छैन भन्नेबारे राज्यका केही मन्त्री अनि तृणमूल कंग्रेस समर्थकहरुले सिलगढीमानै बसेर देखरेख गरिरहेका छन् अनि उनीहरुकै निर्देशमा पुलिसले सिलगढीका विभिन्न ठाउँमा नाकाबन्दी गरिरहेको छ।

यसरीनै गोजमुमो सहसचिव विनय तामाङले भने-विभिन्न अपराध गरेर जेल सजाय पाउने कैदीहरुलाई पनि खाना दिने सरकारको दायित्व हो। तर यहाँ राज्यको तृणमूल कंग्रेस सरकारले संवैधानिक अलग राज्यको मागमा आन्दोलन गर्दा पनि खाना जस्तो चीज बन्द गर्ने कार्य गरिरहेको छ। यस्तो सरकारसित कसरी वार्ता हुनसक्छ? उनले भने। यसै सम्बन्धमा माकपा नेता एवं पूर्व सांसद समन पाठकले भनेका छन्-राशिन पाउने अधिकार सम्पूर्ण भारतीय नागरिकको हो। तर राशिन, चुल्हा ग्यास जस्ता सुविधाबाट पहाड़ र सिक्किमलाई वन्चित गराउने राज्य सरकारले प्रयास गरिरहेको छ। मानव अधिकारको हनन भइरहेको यसै विषय लिएर उनले पार्टीको पक्षबाट मानव अधिकार आयोगसमक्ष पत्राचार गरेको पनि जानकारी गराए।

 

फोटो ः सिलगढी नजिक सालुगढामा राशिन लिएर सिक्किम गइरहेको गाड़ीको पुलिसद्वारा जाँच।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन