सर्वदलीय बैठकले गऱ्यो महत्त्वपूर्ण घोषणाः बन्द जारीः शीर्षस्थ नेताहरूले गर्ने आमरण अनशन

मिरिकः गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीले आज बोलाएको आपतकालीन सर्वदलीय बैठकमा महत्त्वपूर्ण निर्णयहरू लिएको छ। जनताको प्रचण्ड चाप खप्न परिरहेको कमिटीले अनिश्चितकालीन बन्दलाई जारी राख्ने कार्यक्रमबाहेक पनि अन्य कार्यक्रमहरू सार्वजनिक गरेको छ। मिरिकको युथ होस्टेलमा आज बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै कमिटीको पक्षबाट विनय तामाङले अनिश्चितकालीन बन्दबाहेक पनि दार्जीलिङको चौरस्तामा विभिन्न पार्टीका सचिव र सह-सचिव स्तरीय  नेताहरूले गोर्खाल्याण्डको निम्ति आमरण अनशन गर्ने निर्णय लिएको बताएका छन्।

‘15 जुलाईदेखि जीएमसीसीमा संलग्न विभिन्न राजनैतिक दलका शीर्षस्थ नेताहरूले आमरण अनशन गर्नेछन्’, तामाङले भने, ‘14 वटा राजनैतिक दलका प्रत्येक दुई सदस्यले यो अनशनमा सहभागिता दिनेछन्।’

15 जुलाई दिउँसो 11 बजीदेखि गरिने अनशनको निम्ति गोर्खा जनमुक्ति मोर्चाबाट विनय तामाङ अनि गोर्खा राष्ट्रीय मुक्ति मोर्चाबाट निरज जिम्बाको नाम सार्वजनिक भएको छ। यस अतिरिक्त 13 जुलाईको दिन भानु जयन्तीलाई गोर्खाल्याण्ड एकता दिवसको रुपमा पालन गरिनेछ। यस दिन  भानु पुरस्कार फर्काउनका लागि पुरस्कार प्रापक सबै साहित्यकारहरूलाई आग्रह गर्ने भएको छ । विभिन्न बोर्डका अध्यक्ष अनि उपाध्याक्ष अनि पदाधिकारीहरूलाई बोर्डबाट राजीनामा दिनको निम्ति 14 जुलाई 6 बजीसम्मको अल्टिमेटम पनि दिइएको छ।

यदि बोर्डका अध्यक्ष-उपाध्यक्षले आफ्नो पदबाट राजिनामा नदिएको खण्डमा उनीहरूलाई गोर्खाल्याण्ड विरोधी घोषणा गरिने पनि आजको बैठकले निर्णय गरेको तामाङले जनाएका छन्।

यस उप्रान्त 14 जुलाईदेखि दुवैवटा जिल्लाका एसडीओ अनि डीएम कार्यालयमा धर्ना दिने कार्यक्रमसितै सिलगढीमा झोले जुलुस निकाल्ने पनि तय गरिएको छ।

‘सिलगढीमा दार्जीलिङ अनि सिक्किम आउने राशन बोक्ने वाहनहरूमा नाकाबन्दी लगाइएको छ,’ तामाङले भने, ‘यसैको प्रतिकात्मक विरोध गर्दै सबै झोला बोकेर सिलगढीमा शान्ति जुलुस निकालिने छ। जुलुसको मीति पछिबाट बताइनेछ।’

यसरी नै गोर्खाल्याण्ड आन्दोलन अवधि पुलिसले निर्दोष मानिसहरूमाथि गोली चलाएको सम्बन्धमा सीबीआई जाँच हुनुपर्ने सम्बन्धमा दिल्लीमा रहेका सांसद एसएस अहलुवालियामार्फत केन्द्रमा पत्रचार एवं दवाब दिने पनि बताइएको छ। सांसद आहलुवालियालाई केन्द्रिय भिजिलेन्स पठाउन, संसदमा कुरा उठाउन अनि यो अमानवीय कार्यको राष्ट्रव्यापी विरोधका लागि पहल गर्न दबाउसहितको आग्रह गर्ने भएको छ। कमिटीको आगामी बैठक 18 जुलाईको दिन हुने पनि जनाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन