चालकहरूले लेखे छात्तीमा गोर्खाल्याण्ड: भने ‘चालकभन्दा अघि हामी गोर्खा हौं’

कालेबुङः वाहन चलाएर आफ्नो अनि परिवारको जीविकोपार्जन गर्ने चालकहरूलाई बन्दअवधि गरिखाने भाँडो वाहन कुदाउन नपाएर जीवन धान्न असुविधामा भए पनि गोर्खाल्याण्ड राज्य गठन नभएसम्म उक्त असुविधा भोग्न तयार छन् अनि गोर्खाल्याण्डको निम्ति प्राणको आहुती दिन पनि  पछि नहट्ने बताउँछन्।

लगभग एक महिनादेखि बन्दले दैनिक जीवनमा धेरै असर परेको भए पनि चालकहरूलाई आफ्नो असुविधाको भन्दा धेर जातीय माग गोर्खाल्याण्ड राज्य गठनको आवश्यक्ता बोध बेसी छ। सोही कारण घरमा वाहन थन्काएर उनीहरू पनि गोर्खाल्याण्डको आवाज बुलन्द गर्न कुना-कुना जग्गाबाट पनि कालेबुङको सडकमा आज व्यापक मात्रामा उत्रिएका छन्।

“हामी चालक भन्दा अघि गोर्खा जाति हौं। जातिलाई अहिले जुन कुरा चाहिएको छ हामीलाई पनि त्यहिँ चाहिएको छ। जातीय माग प्राप्त गर्नको निम्ति हामी चालकहरू आफ्नो समस्यालाई पर सारेर पनि आन्दोलित बन्न सक्छौं”-चालक महासङ्घ अध्यक्ष महेन्द्र गुरूङ भन्छन्।

गोर्खाल्याण्ड प्राप्तिपछि अवश्य नै चालकहरूको वर्तमान समस्या समाधान हुने कुरामा उनी निश्चित छन् भने वाहन नचलाएर पेटपालोको माध्यम बन्द राखे पनि चालकहरू गोर्खाल्याण्डको आवाज उठाउन कदापि पनि पछि पर्दैनन् भन्ने सन्देश सरकारसम्म पुगोस् भन्ने उनी चाहन्छन्।

विभिन्न स्थानका चालकहरूलाई लिएर आज यहाँको मोटर स्ट्याण्डबाट चालक महासङ्घले जुलुस शुरू गरेको थियो। जुलुसमा सहभागी चालकहरूले अर्द्धनग्न बनेर छात्ती अनि शरीरमा ‘वी वान्ट गोर्खाल्याण्ड’ लेखेका थिए।

“बङ्गाल सरकारले जुन प्रकारको बर्बरतापूर्ण नीति गोर्खाहरूमाथि अप्नाइरहेको छ त्यसको विरोध जनाउन नै हामीले यसरी अर्द्धनग्न बनेर प्रदर्शन गरेका हौं”-महासङ्घ अध्यक्ष भन्छन्। व्यापक मात्रामा चालकहरूको सहभागिताको रहेको जुलुस डम्बर चोक आइपुगेपछि सोही जुलुसमा त्यहाँ उपस्थित जनसमूह पनि सामेल बनेको थियो भने जुलुसले शहर परिक्रमा गरेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन