आन्दोलनको चक्र र एकताको बाटो

Girl in a jacket

लेना हेगन


यदि सबैजनाले स्वतःभावमा बन्दलाई समर्थन जताएको हो भने सडकमा धरना (picketting)को किन आवश्यकता पऱ्यो। त्यसो हो भने “एकता” त निहुँ मात्र हो।


गोर्खाल्याण्डबारे बुझ्न सात वर्ष अघि जब म दार्जीलिङ पहिलोपल्ट आएकी थिएँ, त्यतिखेर  जन-आन्दोलन भनी मैले ठानेको गोर्खाल्याण्ड आन्दोलन एउटा पार्टी गोर्खा जनमुक्ति मोर्चाको वर्चस्वले भरिएको दङ्गा मात्र बनेको देखेर म दङ्ग परेकी थिएँI

उत्तराखण्ड-आन्दोलनको उदाहरण हेऱ्यौँ भने देख्छौँ, जहाँको प्रतिरोध समितिले (Protest Committee) आन्दोलनमा कुनै पनि राजनैतिक नेतालाई खुट्टा हाल्ने मौकासमेत नदिएर पार्टी-पोलिटिक्सबाट आन्दोलनलाई टाड़ै राखेका थिए।

गोर्खाल्याण्ड आन्दोलनको पथ भने ठीक उल्टो छ। लगभग तीन दसकभित्र कमसेकम कुनै एउटा क्षेत्रिय राजनैतिक दल जसले अरू दलहरूको प्रतिनिधित्वलाई नकार्दै, धेरैजसो तिनीहरूलाई गोर्खाल्याण्ड विरोधीको दोष हाल्दै आफ्नो एकल वर्चस्व वा नेतृत्व कायम रहेको जताउँदै आइरहेको छ।

यद्धपि, सबै क्षेत्रिय दलका प्रतिनिधि तथा समर्थकहरू चाहे क्रामाकपा वा गोरामुमो  वा अभागोली तथा जापनै होस्, सबैले गोर्खाल्याण्डप्रति पूर्णत समर्थन जनाएका छन्। यहासम्म की, टिएमसीका समर्थकहरूलेसमेत आफूहरू गोर्खाल्याण्डकै पक्षमा रहेको बताएका छन्। उनीहरू टिएमसीमा हुनुको कारण गोजमुमोको प्रभुत्व र भारी मात्राका भ्रष्टाचार विरूद्ध एउटा रणनीति मात्र रहेको बताउँछन् भने धेरैले टिएमसीमा गएको कारण मोर्चाका स्वार्थी नेताहरूप्रति एउटा व्यक्तिगत ईख दर्साउन पनि हो।

वास्तवमा, गोजमुमोले गोर्खाल्याण्ड ल्याउने बहु शपथहरू खाएता पनि यस दलका नेताहरूले आफ्नै माटो पश्चिम बङ्गाल सरकारलाई निजी फाइदाको लागि बेचेको हो भन्ने कुख्याति पाएको थियो। जसले तिनीहरूको जनताप्रतिको जिम्मेवारी देखाइदिने चेष्टा गऱ्यो उसैलाई हिंसापूर्वक दबाएको  तथा मारेकासम्म पनि थिए।

यी सब कुराहरूले के दर्शाउँछ भने एउटा आन्दोलन भनी विदित भएको तथ्य केवल लूटपाटको मैदानमा परिणत भयो। धेरैजनाको अन्दोलनप्रतिको निष्ठा मक्किँदै गयो। पार्टीको पटक-पटक अलग राज्य निर्माणको मागलाई तुहाउने चरित्रतिर संलग्नता बढ्यो। आन्दोलन एउटा ढोङ बन्दै गयो।

अध्ययनहरूले बताएको छ, गोरामुमोले पनि यसरीनै आफ्नो वर्चस्वलाई निरन्तर गर्न यी नै युक्ति कार्यान्वयन गरेको थियो।  फलस्वरूप जबसम्म जनताको समर्थन कमजोर भएर अर्को ताजा बिद्रोहको आवश्यकता हुँदैन तबसम्म, – अलग राज्यको आन्दोलन -सरकारी सहूलियत (विभिन्न श्रोत र साधन औ नेतालाई “कुर्सी” को रूपमा) – क्षणिक शान्ति र फेरि अर्को आन्दोलन —को चक्र बन्दै गयो।

थप, अहिलेको अन्दोलानको जड़ पनि गोजमुमोको मिरिक क्षेत्रमा नगरपालिका चुनाउमा हार तथा आउँदो जीटीए चुनाउमा सम्भवत हारको डरलाई मान्न सक्छौँ। तर यदि फेसबुक अनि अन्य मीडियालाई विश्वास गर्न सकिन्छ भने हालैको आन्दोलनले शुरूवातकोभन्दा भिन्न रूप लिइसकेको छ।

मेरा कही मित्रहरूले यसघरीको आन्दोलन अब गोजमुमोको मात्र नरहेर एउटा “जन आन्दोलन” को रूप लिइसकेको बताए, जसमा अन्य मुख्य पार्टीहरूको समर्थन रहेको । यो निसन्देह एउटा उत्साहपूर्ण विकाश हो पहाड़को राजनीतिमा। तरैपनि एउटा प्रश्न भने रहिरहन्छ, त्यो के हो भने- गोर्खाल्याण्ड आन्दोलनको नाममा सरकारी सहूलियत अनि सम्झौताहरूको चक्रलाई कसरी तोड्न पर्ने हो? ताकि यस आन्दोलनले प्रत्येक जनताको भलो होस् नकी नेताहरूको मात्र!

मैले लिएको धेरैवटा अन्तरवार्ताहरूमा एउटै समाधानको खाँचो बारम्बार गुन्जिरहेको पाए— “एकता”। एकताको मूल्य निर्माणमा केवल राजनैतिक दलका प्रतिनिधिहरूले मात्र नभएर सहर एवं चियाबगानका साधारण मानिसहरूले पनि जोड़ दिन अनिवार्य छ। तर, “एकता” एउटा साझा विषय भएतापनि यसको अर्थ भने विभिन्न मानिसले अर्कै-अर्कै पाराले बुझ्दछन्। उदाहरणको लागि गोजमुमोले एकतालाई सबमिशन (आज्ञाकारिता) भनी बुझ्द्छन्। यदि सबैजनाले स्वतःभावमा बन्दलाई समर्थन जताएको हो भने सडकमा धरना (picketting)को किन आवश्यकता पऱ्यो। त्यसो हो भने “एकता” त निहुँ मात्र हो।

चियाबगानमा काम गर्नेहरूको निम्ति एकता तब हुन्छ जब तिनीहरूको चिया व्यवस्थापन (management) संग समस्या हुन्छ अनि तिनीहरू आफ्नो स्वार्थ छोड़ेर सामूहिक मागलाई कम्पनीको अधिकारीहरू अघि राख्छन्। चियाश्रमिकमा यस प्रकारको एकता धेरै हुन सकेन, जसको पश्चाताप पनि तिनीहरूमा छ। तर यी घटनाहरूले यो दर्साउँछ की साँचो अनि शक्तिशाली एकता केवल आपसी भरोसाले निर्माण गर्छ। कुनै ठुलो कारणको निम्ति आफ्नो समाज/जातिको निम्ति केही सामुहिक सहमतिमा आउन र त्यसको निम्ति एकिकृत बन्न आँटनु नै एकता हो।

यो पक्का हो की मनिसहरूले एकजना नेतालाई चुनेर पछि लाग्नुपर्ने कुरा आँउछ, जसले तिनीहरूको प्रतिनिधित्वलाई सरकार एवं मीडिया अघि प्रस्तुत गर्दछ— साँचो एकता तब हुन जान्छ, जब जनता अनि नेता दुवैले आफ्नो स्वार्थ त्यागेर एकताको अनिवार्यता र अर्थलाई आदर गर्दछ।

यस प्रकारको एकताको अभाव हुन गए पश्चिम बङ्गाल सरकारले फेरि-फेरि जनतालाई भाग गर्न र नेताहरूसंग समझौता गर्न ढिलो गरिबस्दैन। त्यसपछि फेरि एउटा पार्टीको प्रभुत्व भएको आन्दोलनको चक्रमा मानिसहरूलाई बारम्बार घुमिरहन पर्नेछ।

यसघडी सोशल मीडियाद्वारा पार्टी-पोलिटिक्स अनि जन-आन्दोलनमा जुन भिन्नता देखिँदैछ त्यसले यो बताउँछ की गोजमुमो र गोर्खाल्याण्ड एउटै होइन भन्ने चेतना मानिसमा आइसकेको छ।

नेताहरूमाथि जनताको एकता र भरोसाको निम्ति ठूलो चाहना देखा पर्दैछ। यस प्रकारको जागरूकतामा साधारण जनता समेत पुगेपछि र अहिलेका नेताहरूले जनतामाथि कुनै करकाप नगरी केवल प्रतिनिधित्व निर्वाह गरे मात्र जन-अन्दोलानको सही क्षमताको मूल्याङ्कन हुनेछ।


(लेखक एक यूरोपेली छात्रा हुन्, सन् २०१० देखि यस क्षेत्रमाथि अध्ययनरत् छन्)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया