त्यो काव्यिक आकस्मिकता

विज्ञापन

चित्रः अमिर सुन्दास
  • अबीर खालिङ

सबैले पागल, मानसिक सन्तुलन नभएको, छुच्चा, सन्काहा, पैसाको निम्ति रौरौ गर्ने, अमिल्दो, व्यावहारहीन, रिसाहा  भनेर बदनाम गरेको कवि वीरेन्द्रले मलाई भने तलतल लागिरहने साथ दिएर गए।  


हुरीले हच्केको हलेसोजस्तो उनी एक साँझ वास खोज्दै म कहाँ आईपुगेका थिए। अस्वाभाविक, आकस्मिक र अपत्यारिलो भेट भएको थियो हाम्रो। अर्थात् मेरो र आदरणीय कवि वीरेन्द्र सुब्बाको। न घर, न घरको वातावरण। न औपचारिक आथित्य सत्कार। उत्तर बङ्ग विश्वविद्यालयको विवेकानन्द छात्रवासको उत्तरखण्डको भुईंतलाको कोठा न १३। म र बङ्गाली बन्धु हेमन्त लस्करको साझा कोठा थियो। म थिएँ स्नातकोत्तर प्रथम वर्षको विद्यार्थी। त्यही कोठामा ओत खोज्दै उनी आईपुगेका थिए।

‘९३ सालको सरस्वती पूजाले मादकता र रौनकता थपिदिएको थियो छात्रवासको परिवेशमा। हामी पढ्दाताका एनबीयुमा सरस्वती पूजा ठूलै उत्सव हुन्थ्यो। हामी व्यग्र भएर यो एउटा दिनको प्रतीक्षा गर्थ्यौ। गर्ल्स होस्टेलबाट  केटीहरू बोईस होस्टेल हेर्न आउँथे। वर्षभरि कुचो नदेखेको कोठाले कुचोको स्पर्श पाउँथ्यो। पलङ्गले नयाँ तन्नाको अङ्गालो पाउँथ्यो। केटाहरू साफसफाइमा व्यस्त हुन्थे र साँझ सरस्वतीको प्रतीक्षा गरे झै आ-आफ्ना मन मिल्ने केटी साथीहरू पर्खिन्थे। त्यो प्रतीक्षा कविताजस्तो हुन्थ्यो। गीत / सङ्गीत घन्किरहेको यस्तै मादक र उन्मादी माहौलमा एकजना बङ्गाली विद्यार्थी साथीले मसित भेट गराइदिँदै हतारमा भनेका थिए- “तिमीहरूको नेपालीको कवि हरे, नेपाली विद्यार्थीहरू खोज्दै-सोध्दै बाहिर उभिरहनु भएको थियो।’’

मैले प्रथमचोटि नमस्कार गरेर परिचय सोधेको थिएँ। अप्ठ्यारो मानेर उनले “म वीरेन्द्र’’ भनेका थिए।

बिस्तारै उज्यालो निलिसक्दै थियो साँझले। घाम शहीद भइसकेको थियो त्यो दिन जुन दिन आत्मीयताको ओत् खोज्दै उनी उभिएका थिए मेरो सामु एउटा पूर्ण अपरिचित कलेवर लिएर। यसरी हाम्रो भेट भएपछि सहजतामा उक्लिँदै मैले मेरो परिचय दिएपछि मेरो छात्रवासको कोठामा उनलाई लिएर गएको थिएँ।

मनमा कौतूहलता र डर थियो। सुनेको थिएँ ‘वीरेन्द्र सुब्बा सन्काहा, मुडी र रिसाहा प्रवृतिका छन्, चित्त नबुझ्दा मुक्का हान्न पनि बेर लाउँदैनन।` डर, सङ्कोच र प्रथमभेटले मलाई उनीसित खुलिन दिएको थिएन। भेटेपछि जति नजिक हुँदै गएँ उति उनको माया लाग्न थाल्यो।

mmm

चार्ल्स शोभराजको जस्तो टोपी, घाँटीमा पुरानो गलबन्दी, पुरानै ट्वीटको कोट, एउटा झोला काँधमा, र पुरानो क्लिक थर्ड् क्यामेरा। गोलो साँउलो अनुहारमा पीड़ा र उमेरले कोर्दै लगेका रेखाहरू। केही हराए झैँ केही बिर्से झैँ मनस्थिति। हातका औंलाहरू, नङ्हरू सूम्सुम्याइरहने, कोट्याइरहने। समाधान नगरिएको गणित जस्तो उनको व्यक्तित्व थियो त्यो बेला जुनबेला मैले उनलाई भेटेको थिएँ।

केहीबेर बसेपछि सुत्ने र खानेको व्यवस्था उनले सोधे र मेरो उत्तरले उनी निश्चिन्त बनेका थिए। सुत्नलाई मेरो पलङ अनि खाना छात्रवासकै भान्सामा गरिदिएको छु भनेको थिएँ मैले। मेरो विद्यार्थी जीवनको अतिथि सत्कार त्यही र त्यति नै थियो।

मेरो अपराध’ ‘बिहान’ ‘सयपत्री’ ‘मेरा कविता’ ‘डायरी लेख्न लागिरहेछु’ आदि जस्ता कविता पढ़ेर म वीरेन्द्र सुब्बाको फ्यान भएको थिएँ। ‘मलाई ता मेरै श्वास, प्रश्वास झैँ लाग्दछन, मेरा कविता।’ कण्ठस्थ थियो। यस्ता सुललित, प्रगीतात्मक पङ्क्तिका रचयिताको दर्शनले म विभोर भएको थिएँ। छात्रवासको कोठामा मैले सरस्वति पूजाको पूर्व सन्ध्यामा सरस्वतीका साक्षात पुत्रसँग भेट गर्ने मौका पाएको थिएँ।

मेघमाला’ र उनी स्वंयद्वारा अङ्ग्रेजीभाषामा सम्पादित/ प्रकाशित पातुलो पत्रिका ‘आर्ट्स’(ARTS) का केही अङ्क बिक्रिका निम्ति लिएर आएका रहेछन। सम्भव भए ‘मेघमाला’ माथि विमर्शकार्यक्रम एम ए का छात्रछात्रासँग गर्ने उनको धोको थियो। आगामीकाल सरस्वती पूजाको विदाले यो उनको धोका पूरा हुन  सकेन।

विश्वविद्यालयका विद्यार्थीहरूलाई हर साँझ शिवमन्दिर बजार केही न केही कारणले जानै पर्छ। छोटो त्यो पैदल यात्रा तर विभिन्न कारणहरूले अनिवार्य र आकर्षणीय बनेको हुन्छ। त्यो रूमानी र मादक क्षणको स्वर्गीय पल सबैले आनन्दानुभूत गर्ने गर्छन्। अलिकति आवश्यकताले, केही मायाका आग्रहले, कसैलाई झुक्किएर भेट्नुको प्रलोभनले शिवमन्दिर बजार साँझमा तीर्थ बन्छ। कवि वीरेन्द्रको विरल सान्निध्यमा मैले त्यो तीर्थलाई झन अविस्मरणीय बनाएको छु।

सौन्दर्य र शिल्पका पारखी/ पौरखी व्यक्तित्वसँग सरस्वती माताका मूर्तिहरू हेर्दै हिँडेको त्यो क्षण मेरो जीवनको एउटा अनमोल क्षण बनेको छ। दुईवटा पूजा मण्डपको मूर्तिहरुको पार्थक्यलाई उनको कलाकार आँखाले कसरी हेरेको रहेछ, भनेका थिए उनले, “यो मूर्तिकारको संसर्ग हाम्रो मंगोल समुदायसँग अधिक रहेछ। आँखा केही साना, गोलो डल्लो अनुहार, घाँटी छोटो र नाक सुहाउँदो अग्लो, चुच्चो उति नभाको। आर्येली सौन्दर्य दृष्टिदेखि पृथक।’’     

हिँडदै फेरि थपेका थिए उनले, ‘त्यो परको मूर्तिमा ओठ, आँखा र नाकले हाम्रो आफ्नोपन हराइदिएको छ, यहाँको सरस्वती हाम्रै गाउँको कुनै चेलीबेटी जस्ती  छैन र?’

अब हामी सहजतामा ओर्लिसकेका थियौं। शिवमन्दिरमा पुगेर बाटाकिनारमा बेच्दै गरेको मेचेरोटी (त्यहाँ भनिने भक्का) रू ५ मा किनेर खायौं। त्यस सन्दर्भमा उनको मार्क्सवादी चिन्तन र हाम्रो घरेलू निजी उत्पादनको महत्वबारेको टिप्पणी घतलाग्दो थियो। हरेक कुरालाई हेर्ने उनको अर्कै दृष्टिभङ्गी थियो।

ब्रेड खानुभन्दा यो खानु स्वास्थ्यको निम्ति मात्र होइन तर सामाजिक अर्थनीतिको दृष्टिले पनि धेर उपयुक्त छ। यसको उत्पादक स्वंयले मुनाफा कमाउने, उसको श्रमको ज्याला पनि पाउने। यो रोटीमा मालिकको मुनाफाको अंश छैन।’’ -भन्दै मज्जा मान्दै उनले भक्का खाएका थिए। विद्यार्थीको खल्तीले खाजा खुवाउन त्यतिमात्र अनुमति दिएको कुराचाहिँ उनले बुझे कि बुझेनन्, थाह भएन।

राति सुत्नभन्दा अघि मैले केही कौतूहलता राखेको थिएँ। युग कवि किन औ कुन सन्दर्भमा उनको नामसित जोड़िएको होला? चित्तबुझ्दो उत्तर उनले दिन सकेनन्। अस्पष्ट, गाँजिएको उत्तरले मेरो तृष्णा मेटाएका थिए, जसलाई यहाँ दोहोऱ्याउउनु मुनासिब छैन। श्री इन्द्रबहादुर राईसँगको उनको खटपट के रहेछ त भनेर पनि मैले मेरो कौतूहलताको जाल बिछयाएँ।

“इन्द्रेले डाह पाल्यो नि त मसँग, मेरो मेघमाला दबाउनलाई नाना थरीको राजनीति खेल्यो। मलाई नेपाली साहित्य सम्मेलनबाट प्रश्नावली पठाइयो मेघमाला प्रकाशित गराउनलाई। पछि जाने बुझेपछि थाह लाग्यो, त्यो प्रश्नावली बनाउने, पठाउने त्यही इन्द्रे नै थियो। माननीय रामकृष्ण शर्माजीले वीरेन्द्रको  कविता छाप्ने हो भने सम्मेलनलाई म पैसा दिन्छु पनि भनेका थिए। त्यति हुँदा पनि मेरो कविता यहाँबाट प्रकाशित हुन सकेनकेदारमान व्यथितजीको सदाशय र उदारताले यो नेपालबाट छापियो।’’ केही क्रोधित र विशृङखलित उत्तरले म स्तब्ध बनेको थिएँ।

मेरो कवितामा त्यसले त्रुटि देखेछ। कविको हृदय भापो, कविको कल्पनासँग एकाकार होस्। मैले धानका बालाहरूमा हावाको गतिलाई हल्लिँदै आएको सूक्ष्म कल्पना गरें। उसकोलागि  आउनलाई गति चाहिन्छ हरे।’’

उनको उनी आउँछिन् कवितालाई समालोचक इन्द्रबहादुर राईले यसरी टिप्पणी गरेका छन –

‘चाँदनी रातमा धानका बालाझैं

उनी आउँछिन्;

आउँछिन् निश्चय।

(आउँछन भन्नलाई गति चाहिन्छ, उभिरहेका धानका बालाहरूमा गति छैन -इबरा )

रातको आयु सकिँदै थियो अनि आँखाले निद्रा डाकिसकेको थियो। मित्र हेमन्त लस्करको अनुहारमा विरक्तिको सुनामी आइसकेको थियो। ‘अब आराम गर्नुहोस् सर’ भनेर म सुत्नलाई मित्र डम्बर थापाको कोठातिर लागें।

सुत्न त म गएँ, तर मनमा चिन्ता छाइरह्यो। आधारातमा उठेर भा त शास्त्रीय सङ्गीतका साधकले कुनै साजबिना नै रियाज पो गर्न थाल्ने हुन् कि? बङ्गाली बन्धुलाई सुत्न पो दिए कि दिएनन्। थुप्रै कुराहरू वीरेन्द्रसम्बन्धमा सुनेको थिएँ। आधारतामा उठेर रियाज गर्छन रे, तबला बजाउँछन रे, कसैले केही भने ठाडै जाई लाग्छन रे। उनको एकसुरे जिन्दगीमा कसैले बाधा हालेको मन पराउँदैनन रे। आदि।

बिहान नखस्दै आँखाले निद्रा धपायो। एकक्षण मित्र डम्बरसँग ओछ्यानमा ढल्केर बात गरेपछि म मेरो कोठातिर लागें। कोठाको ढोका खुल्लै थियो, भित्र ओछ्यानमा कवि वीरेन्द्र थिएनन्। हेमन्त लस्करमात्र सिरकले मुख छोपेर मस्त निदाइरहेका थिए। सौच गए होलान ठानेर सिरानमा राखेका Arts का अङ्कहरू हेर्न थालें। चार्टपेपरमा रातो र कालो रङका अक्षरमा कुनै अङ्क चार पृष्ठको, कुनै अङ्क दुई पृष्ठको रहेछ। एउटा कति अङ्क हो, थाह भएन, Mother शीर्षकको कवितासँग चित्र पनि रहेछ। अमूर्त्त शैलीको चित्र हेरेर कविता पढ्न थालें। समय निकै बितेर जाँदासम्म पनि उनको आगमन नभए पछि पो म अत्तालिएँ। कोठामा हेरें, जुत्ताले उनको खुट्टाको प्रतीक्षा गरिरहेको थियो, मैले व्यवहार गर्न दिएको चप्पल मात्र थिएन। यति बिहानै कहाँ गए होलान् त? किन भने घामले फरवरी महिनाको चिसो बिहान भेद्न सकेको थिएन। उज्यालोले अनुहार राम्रोसंग देखाएको थिएन। ‘सन्काहा प्रवृत्तिको मान्छे भन्ने सुनेर पनि यसरी छोड्नु मेरो मूर्खता थियो, आफैसँग रिस देखाउँदै बाहिर खोज्न निस्किएँ। वर कान्वोकेसन हल छेवसम्म गएँ, मार्निंग वकमा हिँडिरहेकाहरूलाई उनको हुलिया बताएर उनको पत्तो लाउन खोजें तर त्यस दिशातिर उनको पाइला नपरेको सुँईंको पाएपछि फर्किएँ। अव्यक्त डर र कौतूहलता मनमा सल्किरहेको थियो। कतै चियाको तृष्णामा बजारतिर पो हिँडे कि भनेर पनि त्यताबाट आइरहेका प्रभाती बटुवाहरुलाई सोधें। केही नलागेपछि आएकै बाटो फर्किएँ।

हेमन्तलाई ब्युझाएँ, धेरै अबेरसम्म आफै एक्लै बोलेपछिमात्र उनी निदाएको कुरा सुनाए हेमन्तले। कति बेला उठेर कता हिडे, हेमन्तलाई थाह थिएन।

विवेकानन्द छात्रावासको मूल द्वारको देब्रेपट्टि सुफल दा’को एउटा सानो चिया पसल थियो। त्यसको पछिपट्टि एउटा सानो पोखरी थियो। त्यही पोखरीको डीलमा एकाग्रचित्तले बसेर उनी त पोखरीका माछाहरूको जलक्रीडा आनन्दसँग हेरिरहेका रहेछन्। गुलाबी जलकमलको हरिया पातलाई हल्लाउँदै जब मसिना माछाहरु सल्बलाउँथे, कवि वीरेन्द्रको मुखमा कान्ति छाउँथ्यों। उनको बालशुलभ हर्ष र सन्तोष देखेर म अवाक भएँ। घरी उनी हाँस्थे, घरी परम आनन्दले उनको मुहार भरिन्थ्यो। लोभ, भय, अहङ्कार, डाह, ईर्ष्यादेखि कोशौं टाडा, यसो भनौं सांसारिकतादेखि माथि उठेको त्यो कवि विरेन्द्रको बुद्धरूप थियो। घरी उनी गुलाबी जलकमल हुन्थे, घरी पोखरीमा स्वच्छन्द विहार गर्ने माछो। महान चित्रकार, अव्वल कविको यो शाश्वतरूपलाई म शब्दमा वर्णन गर्न सक्दिनँ।

धेरै मौनता हामी बिच बहेर गयो।

उनको त्यो नैसर्गिक सुखलाई मैले नै भङ्ग गरिदिएँ ‘चिसो लाग्छ होला सर, शीतमा बस्नु भाको छ यस्तो जाडोमा सोधेर। मलाई देखेर दु:खलाग्दो हाँसे उनी। उनको हाँसो निभ्न लागेको दीयो जस्तो थियो। मलाई अपराध बोध भयो। उनको खुशी मैले भङ्ग गरिदिएको थिएँ। केही अनर्थ होला भन्ने सोचेर म कातर भएँ। अब मरो गाला पड्किन्छ कि मैले आँधी झेल्नु पर्छ, त्राहि त्राहि थिएँ। तर स्थितिलाई पूर्ण नियन्त्रण गरेर उनी आफै बोले,-“ऐले मैले ‘बिहानलेखेको भए अलिकति फरक लेख्ने थिएँ। माछोको खुशीसँग पोखरीको तरङले प्रतिस्पर्धा गरेजस्तो अनि यो कमल त्यो हेर्दै रमाए जस्तो छ। म त यो खेल हेरेर अघाइनँ। मलाई बिहानीमुहूर्त साह्रै मन पर्छ। तपाईंलाई मन पर्छ?”

साहस आयो बोल्ने, भय हरायो अनि साविक स्थितिको लाभ उठाउँदै मैले आफूलाई बिहानको समयमात्र होइन उनको  ‘बिहान’ कविता पनि असाध्य मन पर्छ भनिदिएँ। ‘दुनियाँ एकदिन बालक थिए दोस्रो श्रेणीमा, ‘बिहान नवौ श्रेणीमा मुखस्थ बनाएको कुरा बताएँ, उनको मुहारमा फेरि चमक फर्कियो। हामी फेरि सहजतामा त्यही पोखरीको डीलमा गफ्फिन थाल्यौ।

कुरैकुरामा कुन समय कविता र कुन समय चित्र कोर्नुहुन्छ भनेर पनि सोधें। जवाफमा अलिकति गम्भीर भएर उनले उत्तर दिए,-“जुन कुरा कवितामा भन्न धेर समय लाग्छ र राम्रोसँग भन्न पनि सकिन्न, त्यो विषयलाई म चित्रमा कोर्छु, अहिले चित्र बनाउन छोडिसकें। चित्र कोर्नु महङ्गो हुनथाल्यो, रङ कूची, क्यान्भास किन्ने पैसा पनि छैन मसँग अहिले। चित्र बनाएपछि मन पराएर माँग्ने धेर हुन्छन्, किन्ने हुँदैनन्। लान्छन मात्र, पैसा दिँदैनन्।’’ एकछिन रोकिएपछि थपेका थिए,-“कविता पैलापैला लेख्दा, दानियल खालिङसँग लेखिहिँडदा कविता सयपत्री देखेर पनि लेखें गरिब भिखारी देख्दापनि लेखें। आजकल त कविताले एक महिना, दुई महिनाको घोत्ल्याई पर्खिनु पर्छ। मेरा कविताहरु अब कविता रहेनन्, मेरा दर्शन हुन्।’’

एक पल्ट बिक्री भएर गएपछि त त्यो चित्र तपाईले फेरि हेर्नु पाउनु हुन्न, के तपाईंलाई त्यसको तिर्सना लाग्दैन? भनेर मैले सोद्धा एउटा रमाइलो कुरा सुनाए उनले।

“आफूले बनाएका चित्रहरू मलाई मेरै सन्तान झैं लाग्छ, फेरि हेरूँहेरूँ लाग्छ, सम्भव हुने नजिकका ठाउँमा त म पटक पटक पुगेको छु। मेरा पेन्टिङका ग्राहक कति त मसंग रिसाएका पनि छन्। बिक्री गरेर कमाएकोभन्दा धेर रूपियाँ खर्च गरेको छु आफ्नो चित्र हेर्नलाई।’’ एउटा पीड़ाले आएर उनको अनुहारमा यतिखेर बास बसेको थियो। मायालाग्दो अनुहारमा फेरि दु:ख सल्बलाउन थालेको थियो। ‘चिया पिउन जाऊँ सर’ भनेर यो सिलसिला यहीँ समाप्त गरेको थिएँ।

बिहानको खाना खानु अघि मैले घुमीघुमी आर के होस्टेल र मेरो होस्टेलको साथीहरूलाई १४ वटा मेघमाला बिक्री गरें। एम० ए० को पाठ्यक्रममा मेघमाला भएकोले बिक्री गर्नु समस्या भएन। आर्ट्स (Arts)-का केहीप्रतिमात्र बिक्री भए। खाना खाएर जानेबेलामा छात्रबासको बिचमा भएको सानो फुलबारीमा क्लिकथर्ड क्यामेराले फोटोहरू खिँच्यौं। मेरो नाम ‘अबीर खालिङ, एम० ए० , प्रथम वर्ष , नेपाली विभाग, उ० व० वि० वि०,राजाराममोहनपुर’ सानो डायरीमा उनले रातो मसीले लेख्दै फोटो पठाउने छु भनेर विदा भए।

सबैले पागल, मानसिक सन्तुलन नभएको, छुच्चा, सन्काहा, पैसाको निम्ति रौरौ गर्ने, अमिल्दो, व्यावहारहीन, रिसाहा  भनेर बदनाम गरेको कवि वीरेन्द्रले मलाई भने तलतल लागिरहने साथ दिएर गए।  शालीन, भद्र र जिनियस कवि चित्रकारको विरल सान्निध्य पाएर म भने गद्गद् छु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया