पुरस्कृतहरूले फर्काए राज्यको सम्मान

मोहन लामा

दार्जीलिङः दार्जीलिङका वरिष्ठ सङ्गीतकार कर्म योञ्जन, सहित्यकार कृष्णसिंह मोक्तान अनि शिक्षक डा. प्रभात प्रधानले आज राज्य सरकारबाट पाएका पुरस्कारहरु क्रमैले सङ्गीत सम्मान, बङ्ग रत्न अनि शिक्षारत्न पुरस्कार राज्य सरकारलाई फर्काए। यसरीनै आज कालेबुङका शिक्षाविद् एवं एसयूएमआईका प्रधान अध्यापक नवरत्न प्रधानले पनि राज्य सरकारको तर्फबाट 2015-मा प्राप्त गरेको शिक्षारत्न पुरस्कार आज राज्य सरकारलाई फर्काउने घोषणा गरे।

दार्जीलिङका वरिष्ठ सह्गीतकार कर्म योञ्जनलाई 2016-मा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीको हातबाट सङ्गीत सम्मान प्राप्त भएको थियो भने साहित्यकार एवं पूर्व एडिशनल आईजी कृष्णसिंह मोक्तानलाई 2004-मा राज्य सरकारकै तर्फबाट कवि भानुभक्त स्मृति पुरस्कार प्राप्त भएको थियो। यसबाहेक 2014-मा पनि उनलाई राज्य सरकारबाटनै बंगरत्न पुरस्कार पनि प्राप्त भएको थियो। यसरीनै खरसाङ महाविद्यालयका पूर्व प्राचार्य एवं बिजनबारी महाविद्यालयका प्रशासक डा, प्रभात प्रधानले पनि शिक्षा क्षेत्रमा उनले दिएको योगदानस्वरूप पाएको शिक्षारत्न सम्मान पुरस्कार 2015 आज राज्य सरकारलाई फर्काए।

आज यहाँको चौरास्तामा गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीको तत्वावधानमा आयोजना गरिएको 203औं भानु जयन्ती एवं गोर्खा एकता दिवसको अवसर पारेरनै यी व्यक्तित्वहरुले राज्य सरकारबाट पाएका सम्पूर्ण सम्मानहरु फर्काउने घोषणा गरे। यसबारे प्रश्‍न गर्दा सङ्गीतकार कर्म योञ्जनले भने-अहिले अलग राज्य गोर्खाल्यान्डको माग चर्किरहेको छ, तर यस संवैधानिक मागलाई राज्यको ममता व्यानर्जी सरकारले कुल्चिने प्रयास गरिरहेको छ। गोर्खाल्यान्ड हामी प्रत्येक गोर्खा समुदायलाई चाहिएको छ, भावी सन्तानलाई चाहिएको छ। तर यसै गोर्खाल्यान्डको माग गर्ने गोर्खा जातिमाथि राज्य सरकारको थिचोमिचो क्रमशः जारी छ।

यस आन्दोलनको लागि अघि आएका गोर्खाल्यान्ड समर्थकहरुमाथि पुलिसले गोली चलाउँदैछ, सरकारको यस्तो नीतिको विरोधमानै हामीले पश्‍चिम बंगाल सरकारबाट पाएका सम्मानहरु फर्काउने निर्णय लिएका हौं। अब अलग राज्य गोर्खाल्यान्डको गठन भएपछि हाम्रा गोर्ख प्रतिभाहरुले गोर्खाल्यान्ड राज्यबाटै यस्ता प्रशस्तै सम्मान अनि पुरस्कारहरु पाउनेछन्।

यसरीनै डा. प्रभात प्रधानले पनि उनको यसै मतमाथि जोड़ दिंदै भने-संवैधानिक अलग राज्य गोर्खाल्यान्डको मागमा आन्दोलन गर्दा पनि राज्यकी मुख्यमन्त्रीले गोर्खा जातिलाई आतङ्कवादीको संज्ञा दिइरहेकी छन्, गोर्खाल्यान्ड आन्दोलनकारीहरुमाथि पुलिसले गोली चलाउँदैछ। राज्यको यस्तो कु्रर शासनको विरोधमानै हामीले पश्‍चिम बङ्गालबाट पाएका सम्मानहरु फर्काएका हौं। जुन राज्यकी प्रमुखले गोर्खा जातिलाई आतङ्कवादी ठान्छ, उनैको हातबाट पाएको सम्मान कदापि सम्मान हुँदैन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन