गोर्खाल्यान्डको सङ्गीतमय आन्दोलनः शोषण शोषण सहँदैनौं, शासन आफै गर्नेछौं

मोहन लामा

दार्जीलिङः गोर्खाल्यान्डको सङ्गीतमय आन्दोलन। आज दार्जीलिङका कलाकारहरुले शहरमा सङ्गीतमय आन्दोलन गरे। हातमा गिटार, हार्मोनियम, कङ्गो, मेरिका आदि लिएर गीत गाउँदै सड़कमा निस्किए कलाकारवर्ग, जसको धुन मन छुने थियो भने शब्दहरु कर्णप्रिय अनि जनवादी वा क्रान्तिकारी थिए। गोर्खाल्यान्ड गठनकै मागमा दार्जीलिङका शब्दकारहरुद्वारा तयार पारिएका यी गीतहरुमा कसैको शोषण नसहने अनि शासन आफै गर्ने हुँकारहरु थिए।

दार्जीलिङका वरिष्ठ कलाकार कर्म योञ्जन, डेजी बराइली, सङ्गीतकार बसन्त छेत्रीलगायत सयौं कलिला कलाकारहरुले स्वरमा स्वर मिलाउँदै गाएको जनवादी गीतहरुले दार्जीलिङ शहरनै गुञ्जयमान बनाएको थियो भने गीतका शब्दहरु सुनेर यी कालाकरहरुको सङ्गीतमय जुलूस जता गइरहेको थियो, त्यतै जनताको भीड़ लागिरहेको थियो। यहाँको रेलवे स्टेशनबाट शुरू गरिएको गीत अनि सङ्गीतमय जुलूसले जनवादी गीतहरु गाउँदै शहरको परिक्रमा गरेपछि चौरास्तामा पनि एक कार्यक्रमको आयोजना गरेको थियो।

गत 13 जुलाई 203औं भानु जयन्तीको अवसरमा गोर्खाल्यान्डकै मागलाई समर्थन जनाउँदै राज्य सरकारबाट प्राप्त भएका सम्मान फर्काउने दार्जीलिङका वरिष्ठ सङ्गीतकार एवं गायक कर्म योञ्जनसित यसबारे सोध्दा उनले भने-हामीलाई अलग राज्य गोर्खाल्यान्डनै चाहिएको छ। गोर्खाल्यान्ड दार्जीलिङ पहाड़का राजनैतिक पार्टीहरूलाई मात्रै चाहिएको होइन, यसको खाँचो आम जनतालाई पनि छ। यसैले अहिले गोर्खाल्यान्डको आन्दोलनमा प्रत्येक जनतानै सड़कमा आइरहेका छन्, सबैले आ-आफ्नो क्षेत्रबाट यस आन्दोलनलाई सहयोग गरिरहेका छन्।

यसैले दार्जीलिङका कलाकारहरु पनि गोर्खाल्यान्डको आन्दोलनलाई केही हदसम्म भए पनि साथ दिन आफ्नै तरिकाले आज सड़कमा ओर्लिएका हुन्। आन्दोलन सङ्गीत र गीतबाट पनि गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्नको लागिनै आज हामीले गीत गाउँदै शहरको परिक्रमा गरेका हौं। राज्य सरकारले गोर्खाल्यान्डको आन्दोलनलाई विदेशी शक्तिको सहयोग प्राप्त भइरहेको छ, आन्दोलनकारीहरुलाई आतंकवादी जस्तो संज्ञाले लाञ्छित तुल्याउने कुप्रयास भइरहेको छ, यसैले यी आरोप र लाञ्छनाहरुलाई सही जवाब दिनको लागिनै आज दार्जीलिङका कलाकारहरु पनि सड़कमा ओर्लिएका हुन्। गोर्खाल्यान्डको आन्दोलन दार्जीलिङ पहाड़का खाँट्टी नागरिकहरुले गरिरहेका छन् भन्ने देखाउनको लागिनै आज यो सङ्गीतमय आन्दोलन गरिएको हो।

यस अवसरमा दार्जीलिङका कलाकारहरुले यस्तो जनवादी गीत गाइरहेका थिए-

शोषण शोषण सहँदैनौं

शासन आफै गर्नेछौं

अस्तित्वको युद्ध हो हाम्रो

गोर्खाल्यान्डको बाटो तर्नेछौं।

 

वीर गोर्खाको सन्तान हौं

अन्याय अत्याचार सहँदैनौं

नाँघ्यो नाँघ्यो सीमा नाँघ्यो

पराधीनको साङ्लो तोड़्नेछौं।

 

बाल वृद्ध सब लागेको

सारा गोर्खा जागेको

भयो भयो अतिनै भयो

अब हामी अघि बढ्नेछौं।

यसरीनै कलाकारहरूले गोर्खा जाति धेरै थिचिएको, पिसिएको पनि अनुभव गरेका छन्। यसैले हाल भइरहेको गोर्खाल्यान्ड आन्दोलनलाई उन्मुक्तिको अन्तिम अभियान मान्दै एक भएर अघि बढ्ने पनि आह्वान गरेका छन्। यसैको लागि उनीहरुले भनेका छन्-कि त लड़ेर मरौं, कि त जितेर फिरौं।

अत्याचारीहरुको जञ्जालमा सर्वस्व गुमायौं, धेरै लुटियौं, धेरै लुछियौं, लाटोपनले गर्दा हामी सधैं यति साह्रो दबियौं। यसैले अब कि त जुझेर बढ़ौं, कि त लिएर बाँचौं। यो अस्तित्वको अन्तिम संघर्षमा गोर्खाल्यान्डको लक्ष्यसम्म पुगौं। कलाकरहरुको यस गीतमा गोर्खा जातिको सोझोपन दर्शाइएको छ, यसै सोझोपनको कारणनै गोर्खा जाति सधैं हेपिएको बताइएको छ। यसैले अब संघर्ष गरेर वा जुझेरनै आफ्नै राज्य गोर्खाल्यान्डसम्म पुग्न संघर्ष गर्ने पनि गीतमा आह्वान गरिएको छ। यति मात्रै होइन, कलाकारहरुको गीतमा देशरक्षाको लागि आफ्नो जीवनको बलिदान दिने गोर्खा सेनाको उत्सर्ग पनि उल्लेख गरिएको छ। जुन गीतले भनेको छ-

जागौं हाम्रो इतिहासको माटो मागौं

गोर्खाल्यान्डको कसम गोर्खाल्यान्डको कसम

जागौं सुगौली सन्धिको माटो मागौं

गोर्खाल्यान्डको कसम गोर्खाल्यान्डको कसम।

 

नूनको सोझो हामी सधैं

सिमानामा बली भयौं

देशको गुण गाउँदा गाउँदै

आफ्नै माटोमा दास भयौं।

 

चियाको गाछमा सपना सजाउँदै

छात्तीको आगो चिसो पार्यौं

रोई रोई शहीदले भन्छ

गोर्खाल्यान्डको सपना नबेचौं॥

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन