तोदे विवादः लोपसाङ लामाले भने, कसलाई सोधेर जीएमसीसी खोल्यौ? मैले मोर्चालाई 1 करोड दिएको छुः 31 सम्म माफ नमागे 800 घर-ले मोर्चा छोड्ने

Girl in a jacket

तोदेः घटना ठूलो थिएन। आन्दोलन शुरु भइसकेको थियो तर जनताको हातमा कुनै कार्यक्रम थिएन। क्षेत्रका नामचिन नेताहरू क्षेत्रमा नै अनुपस्थित थिए। यता गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी गठन भइसकेको थियो।

स्थानीय सचेत, बुद्धिजीवी अनि आन्दोलन प्रेमीहरूले जनसमूहको माग अनुसार जीएमसीसीको दिशा निर्देशमा आन्दोलन अघि बढाउन तोदे ताङ्तामा पनि गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटी गठन गरे।

चिसाङमा आइतबार यसै कमिटले ऱ्याली र जनसभा राखको थियो। जसमा विभिन्न दलका प्रतिनिधिहरू उपस्थित थिए। यसै जनसभामा पूर्व सभासद् लोपसाङ लामाले कमिटी अनि स्थानीय जनतामाथि कटु टिप्पणी गरेपछि जीएमसीसीका प्रतिनिधिहरूले त्यसै टिप्पणीलाई आधार गरेर एउटा बैठक गऱ्यो, बैठकले लिएका प्रस्तावहरू सोसल मिडियामा छाएपछि यसले विवाद उत्पन्न गरेको छ।

वैठकमा प्रस्तावहरूमा भनिए अनुसार घटना यस्तो छ-

जनसभामा स्थानीय मदन तामाङले स्तानीय हेविवेट नेताहरू ‘आजै मात्र देखिँदैछ’ भनेका थिए। त्यसैको जवाबमा पूर्व सभासद् लोपसाङ लामाले जुन जवाब दिए, त्यसले क्षेत्रमा सनसनी मच्याएको छ।

‘आफू शुरुदेखि नै क्षेत्रमा आउन नसकेका कारण खोल्नुको साटो, मलाई त्यसरी प्रश्न गर्ने को हो? तँलाई मेरो विषय प्रश्न गर्ने अधिकार कसले दियो?,’ सोसल मिडियामा भाइरल जीएमसीसीको प्रस्ताव 2 मा लामाले बोलेको संवाद उल्लेख गर्दै लेखिएको छ, ‘के नेतालाई प्रश्न गर्न पाइँदैन? क्षेत्रका जनता उनीसित क्षुब्ध छन्।’

प्रस्तावमा पूर्व सभासद् लामाले सोही जनसभाबाट जीएमसीसी गठन गर्दा आफूलाई किन सोधिएन भनेर गरेको प्रश्नमा पनि आपत्ति गरिएको छ।

‘तोदे ताङ्तामा जीएमसीसी  मेरो अनुमति बिना कसरी गठन गऱ्यो,’ लोपसाङ लामाले जनसभामा भनेका थिए, ‘यो कमिटी गठन गर्ने अनुमति कसले दियो?’

जसको जवाब पनि प्रस्तावमा दिइएको छ।

‘आन्दोलन भएको धेरै दिन बितिसक्दा पनि आन्दोलनबारे निर्देश दिने सल्लाह नदिएकोले जनताको आन्दोलनलाई केन्द्रियस्तरमा गठित जीएमसीसी निर्देशमा अघि बढाउन नै यो कमिटी गठन गरिएको हो,’ प्रस्ताव-3 मा लेखिएको छ, ‘आन्दोलन अघि बढाउन जुनै हद पनि जान तयार जनताको लागि यो कमिटी गठन गर्दा के गल्ती भयो?’

प्रस्ताव-4 मा लोपसाङ लामाले मोर्चालाई 1 करोड रुपियाँ दिइसकेको सोही जनसभामा खुलासा गरेको अनि राज्य र केन्द्रको राशिबाट चल्ने जीटीएमा रहेका सभासद्ले 1 करोड रुपियाँ पार्टीलाई दिन कस्तो बाध्यता थियो? भनी प्रश्न पनि उठाइएको छ।

लामाले गाई बाँध्ने र टाई बाँध्नेको स्तर नै भिन्नै हुन्छ भनेर तोदे-ताङताबासीलाई होच्याएको पनि जीएमसीसीले बैठकमा लिएको प्रस्तावमा उल्लेख गरिएको छ।

जनताले गरेको कार्यक्रममा जनतालाई नै गाली गर्न लामा पुगेको अनि उनको यसप्रकारको बयानबाजीको कारण स्थिति बिग्रिएर गइरहेको भन्दै जीएमसीसी तोदे ताङ्दा कमिटीले लामालाई 31 जुलाईसम्म क्षेत्रमा आएर आफ्नो भूल सच्याउन र माफ माग्न सुझाएका छन्।

लामाले माफ नमागे तोडे ताङताका 800 घर मोर्चा कार्यकर्ताहरूले मोर्चाबाट राजिनामा दिने अनि साझा मञ्चबाट नै आन्दोलन गर्ने पनि जीएमसीसी तोदे-ताङताले गरेको बठकको प्रस्तावनामा लेखिएको छ।

जीएमसीसी तोदे ताङ्ताका प्रमुख सल्लाहकार लाक्पा नाम्गे भोटिया, कार्यकारी सचिव छेवाङ पाल्देन भोटिया, प्रमुख संयोजक छुन्दा शेर्पा, वरिष्ठ सल्लाहकार एवं कोष अध्यक्ष सी.बी राई, गोदकका युवा नेता मदन तामाङ, कार्यकारी सह-संयोजक मणि कुमार राई, एच.बी. घले, पवल राई, एन.बी राई, जङ्गबहादुर राई, अर्जुन छेत्री, दोजी भोटिया, सरन तामङ, एल्वर्ट लेप्चा, पासङ शेर्पा, राफेल राई, कमल राई, लोप्सङ भोटिया, टीकाराम राई, रुपन राई तथा अन्यको उपस्थितिमा उक्त प्रस्ताव लिइएको पनि जनाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया