पहाड़का विधायकहरुको शिवसेना प्रमुखलाई भेट्ने कार्यक्रमः 18 जुलाईको बैठकमा ठोस निर्णय होस्

Girl in a jacket

दार्जीलिङः दार्जीलिङ पहाड़का तीनजना विधायक क्रमैले अमरसिंह राई, डा. रोहित शर्मा अनि सरिता राई राज्यको विधानसभामा राष्ट्रपति चुनाउको लागि मतदान गरेर सोझै मुम्बई जाने भएका छन्। दार्जीलिङ पहाड़का यी तीनजना विधायकले आज एनडीएका राष्ट्रपति उम्मेद्वार रामनाथ कोविन्दको पक्षमा मतदान गरेको पनि बताएका छन्।

यसबारे दार्जीलिङका विधायक अमरसिंह राईले भने-गोर्खा जनमुक्ति मोर्चा एनडीएको एक घटक दल हो, यसैले गोजमुमो अध्यक्षले हामीलाई एनडीएकै राष्ट्रपति उम्मेद्वार रामनाथ कोविन्दको पक्षमा मतदान गर्ने निर्देश दिएका थिए, जसअनुसार हामीले आफ्नो गठबन्धनको धर्म पालन गरेका छौं। अब सम्भवतः भोलि मङ्गलबार पहाड़का यी विधायकहरु शिवसेना प्रमुख राज ठाकरेसित भेट गर्नको लागि मुम्बई जाने भएका छन्।

जसले शिवसेना प्रमुखसित अलग राज्य गोर्खाल्यान्ड गठनको सम्बन्धमानै कुरा गर्ने अनि यसको लागि समर्थन माग्ने भएको विश्‍वस्त सूत्रबाट जानकारी पाइएको छ। स्मरण गराइन्छ, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङको शिवसेना प्रमुखसित असल सम्बन्ध छ अनि यसअघि गुरूङले शिवसेना प्रमुखसित भेट गरेर गोर्खाल्यान्ड राज्य गठनको मागबारे चर्चा गरिसकेका छन्। जसलाई शिवसेना प्रमुखले पनि समर्थन जनाइसकेको गोजमुमोले बताएको छ। यसै विषयलाई पुनः दोहोर्याउने उद्देश्यलेनै पार्टी अध्यक्ष गुरूङकै निर्देशमा पहाड़का तीन विधायक पुनः मुम्बई गएर ठाकरेसित भेट गर्ने योजना बनाइएको हो।

किनभने, पहाड़मा हाल गोर्खाल्यान्डको आन्दोलन चलिरहेको छ, तर अहिलेसम्म पनि केन्द्र सरकारले यसमाथि कुनै प्रतिक्रिया दिएको छैन, यसैले अब गोजमुमोले विभिन्न राष्ट्रिय राजनैतिक पार्टीहरुको माध्यमबाट केन्द्र सरकारमाथि चाप दिने योजना बनाएको हो। यसैले पहाड़का यी तीनजना विधायकले मुम्बईमा शिवसेना प्रमुखसित भेट गरेपछि उनीहरु दिल्ली पनि जानसक्ने अनुमान लगाइएको छ, जहाँ भाजपाकै शीर्ष नेतृत्व अनि दार्जीलिङका सांसद एसएस आहलुवालियासित पनि भेट गरी गोर्खाल्यान्ड राज्य गठनको विषयमाथि चर्चा गर्ने भएको सूत्रले बताएको छ।

गोर्खा जनमुक्ति मोर्चाले राष्ट्रपति चुनाउलाई केन्द्र गरेरनै आफ्नो कतिपय आन्दोलनात्मक कार्यक्रमहरुलाई स्थगित गर्ने निर्णय लिएको थियो, जसमध्ये गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीका शीर्ष नेतृत्वहरुरको आमरण अनशन एउटा मुख्य थियो। राष्ट्रपति चुनाउको कारण देशका सबै राजनैतिक दल अनि मन्त्रीहरु व्यस्त रहने भएको कारणनै मूभमेन्ट कमिटीले आमरण अनशनको कार्यक्रमलाई केही समयको लागि थाँतीमा राखेको छ। तर राष्ट्रपति चुनाउ पूरा भएपछि पनि गोर्खाल्यान्ड राज्य गठनको मागमा वा दार्जीलिङ पहाड़मा चलिरहेको आन्दोलनमा केन्द्र सरकारले ध्यान दिने कार्य नगरे आन्दोलन अझै तीव्र बनेर जाने सम्भावना प्रबल बनेको छ। यसैले गोजमुमो अध्यक्ष विमल गुरूङले अहिलेसम्म भइरहेको आन्दोलनलाई ट्रेलर मात्रै मानेका छन्।

पक्का आन्दोलन हुन अझै बाँकीनै छ र पक्का आन्दोलन कस्तो हुन्छ, त्यो आगामी दिनमानै स्पष्ट हुनेछ। तरै पनि पहाड़मा गोर्खाल्यान्ड राज्य गठनको लागि कठोर आन्दोलन हुनअघि गोजमुमोले राष्ट्रिय स्तरका पार्टी अनि नेताहरुसित भेट गर्ने साथै उनीहरुको समर्थन बटुल्ने कार्यक्रम शुरू गर्ने योजना बनाएको छ। यसै योजनाअनुसार, पहाड़का तीनजना विधायकलाई पार्टीले शिवसेना जस्तो एक शक्तिशाली पार्टीका प्रमुखसित भेट गर्न मुम्बई पठाएको छ।

यसरीनै अब गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीको एक शीर्ष प्रतिनिधि टोली पनि दिल्ली गएर केन्द्रिय गृहमन्त्रीसित भेट गर्ने कार्यक्रम बनाउनुपर्छ भन्ने जनचाहना छ। यसैले अब भोलि 18 जुलाईको दिन हुने मूभमेन्ट को-अर्डिनेशन कमिटीको बैठकले यसबारे ठोस निर्णय लिनुपर्ने जनताको सुझाउ छ। अब को-अर्डिनेशन कमिटीले दार्जीलिङका सांसद एवं केन्द्रिय राज्यमन्त्री आहलुवालियाको माध्यमबाटनै केन्द्रिय गृहमन्त्री साथै प्रधानमन्त्रीसित भेट गरेर वार्ता शुरू गर्नुपर्छ भन्ने पनि जनताको माग छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया