जिल्लापाल कार्यालयमा शान्तिपूर्ण विक्षोप

दार्जीलिङः जनताले आज दार्जीलिङको जिल्लापाल कार्यालय घेराउ गरे। गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीको निर्धारित कार्यक्रमअनुसारनै आज आन्दोलनरत जनताले यहाँको रेलवे स्टेशनदेखि जुलूस निकालेका थिए, जुन जुलूसले गोर्खाल्यान्डको नारा लगाउँदै जिल्लापाल कार्यालयको मूलद्वारअघि विक्षोभ प्रदर्शन गरेको थियो। यसै अवसरमा युवा मोर्चाका महासचिव अमृत योञ्जनले पत्रकारहरुसित कुराकानी गर्दै जिल्लापाल कार्यालयमा काम गर्ने सरकारी कर्मचारीहरुलाई पनि आ-आफ्नो घरमानै बसेर गोर्खाल्यान्डको यस आन्दोलनलाई सहयोग पुर्याउने अपील गरे।

उनले भने-गोर्खाल्यान्ड आन्दोलनको कारण हाल सम्पूर्ण दार्जीलिङ पहाड़ अचल बनिरहेको छ, तर राज्य सरकारको निर्देशमा दार्जीलिङको जिल्लापाल अझैसम्म खुल्ला राखिन्दैछ अनि यस कार्यालयका कर्मचारीहरुले पनि दैनिकरूपमा आफ्नो उपस्थिति दिइरहेका छन्। यसैले उनीहरुले कार्यालयमा अनुपस्थित भएर गोर्खाल्यान्डको यस आन्दोलनमा टेवा दिनुपर्ने हाम्रो अपील छ।

गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीले गत केही दिनअघि भएको बैठकमा पहाड़का जिल्लापाल अनि महकुमा अधिकारीहरुको कार्यालय घेराउको पनि कार्यक्रम बनाएको थियो, यसै कार्यक्रमअनुसार गोर्खाल्यान्ड समर्थकहरुले  जिल्लापाल कार्यालयको मूलद्वारअघि विक्षोभ प्रदर्शन गरेका थिए। यस अवसरमा जिल्लापाल कार्यालयको मूलद्वारअघि व्यापक संख्यामा पुलिस बल तैनाथ गरिएको थियो, विक्षोभकारीहरुको संख्या पनि हजारौंको संख्यामानै थियो। यद्यपि, यहाँ विक्षोभ प्रदर्शन शान्तिपूर्वकनै पूर्ण भएको थियो।

यसपछि उक्त जुलूस पुनः नारा लगाउँदै चौकबजारमा आएर एक जनसभामा परिणत भएको थियो। जुन जनसभालाई गोजमुमो केन्द्रिय समिति सदस्य एवं पार्टीका कानूनी सल्लाहकार तिलकचन्द रोका आदिले सम्बोधन गरेका थिए। आज जिल्लापालसित भेट गर्ने कार्यक्रम रहेको सम्बन्धमा सोध्दा रोकाले भने-हामीले जिल्लापलसित भेट गरेर गोर्खाल्यान्डको सम्बन्धमा एक ज्ञापन दिने कार्यक्रम बनाएका थियौं, तर जिल्लापाल जोयशी दासगुप्तले उनको कार्यालयमा हामीसित भेट गर्न चाहिनन्। जिल्लापाल दासगुप्त हामीसित भेट गर्न जिल्लापाल कार्यालयको मूलद्वारअघि आएकी थिइन्, यसैले उनलाई ज्ञापन दिएनौं।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन