कमिटमेन्ट कटाक्ष

इन्द्र-बद्री बहस-1


भारतीय नेपाली साहित्यमा बद्रीनारायण प्रधान र इन्द्रबहादुर राईले दुई विरोधी साहित्यिक धारलाई प्रतिनिधित्व गर्दछन्‌। भारतीय नेपाली साहित्यमा प्रगतिवादी साहित्यको जग बसाउनेहरूमध्ये बद्रीनारायण प्रधान पनि एक हुन्‌। आयामेली र लीला लेखनका प्रयोक्ता इन्द्रबहादुर राई कम्युनिस्ट र प्रगतिवादी साहित्य लेखनका कट्टर विरोधी छन्‌। अस्सीको शुरुमा वैचारिक रूपमा दार्जीलिङमा इन्द्रबहादुरेली साहित्यको जगजगी भएको समय राईले ‘कलश’ नामक पत्रिकामा कम्युनिस्ट तथा प्रगतिवादी साहित्यको विरोधमा धारावाहिक रूपमा निकै लामो लेख छपाए। साहित्यमा ‘कमिटमेन्ट’ वा लेखन प्रतिबद्धतामाथि उनले गरेको यो कटाक्ष पछि 1983 मा साहित्यको अपहरणः मार्क्सवादिक प्रतिबद्धता नाममा लघुपुस्तिकाकारमा संयोग प्रकाशन, दार्जीलिङबाट प्रकाशित भयो। पछि पुनः 2004 मा निर्माण प्रकाशन, सिक्किमबाट प्रकाशित इन्द्र सम्पूर्ण-को चौथो खण्डमा पनि यसलाई समावेश गरिएको छ। राईको यो लेखलाई कड़ा समालोचना गर्दै बद्रीनारायण प्रधानले पनि धारावाहिक लेख लेखे, जो रत्न बान्तवाको सम्पादनमा दार्जीलिङबाट प्रकाशित हुने छाल नामक प्रगतिशील सामयिक साहित्यिक पत्रिकामा प्रकाशित भए। 1981 मा छाल-को तेस्रो अंकमा प्रकाशित बद्रीनारायण प्रधानको इन्द्रबहादुर राईलाई जवाफ हामीले यहॉं पुनः प्रकाशित गरेका छौं। छाल-का पुराना अंकहरू अप्राप्य भए पनि त्यस समय उठाइएका बहस आज पनि सान्दर्भिक ठानेर हामीले प्रधानका जवाफ यहॉं पुनः प्रस्तुत गरेका हौं। प्रधानका जवाफलाई थप बुझ्नका लागि इन्द्रबहादुर राईको साहित्यको अपहरणः मार्क्सवादिक प्रतिबद्धता-लाई रेफर गर्न सकिनेछ।

श्री इन्द्र बहादुर राईको ‘कमिटमेन्ट’

  •  बद्रीनारायण प्रधान 

एक

नेपाली समाजका एक बुजुर्ग साहित्यकार, नेपाली साहित्यमा आयामी विधाका अग्नज प्रतिपादक, अकादमी पुरस्कार विजेता श्री इन्द्रबहादुर राई। उहाँले लेख्नु भयो रे ‘कलश’ पत्रिकाका प्रथम अंकहरूमा ‘कमिटमेन्ट’ विषय, साहित्यमा माक्सर्वादीहरू र  प्रगतिवादीहरूको ‘कमिटेड’ अवस्था बारे, एक कम्युनिस्ट विरोधी लेख क्रमशः छापिइरहेछ। कौतुहलवश ‘कलश’-का अंकहरू जम्मा पारेर पढ़ें। असलमा उहाँका लेखनीहरू म निकै कनेर पढ्‌नुपर्छ। कन्दै पनि पढ़ें।

 उहाँका कृतिहरू बुझेर पढ्‌ने, पढ़ेर बुझ्ने अघि पनि मैले चेष्टा नगरेको होइन। पढ़िसिध्याउन सकिनँ। यो मेरै कमजोरी हुन सक्छ। उहाँ जो आयामी साहित्यिक हुनुहुन्छ। बुझ्न गाहै हुने हो।  शैली उहाँको उच्चकोटिको, उहाँ आफै भनुहुन्छ, अनि कम्युनिस्टहरूसित चपेटा लिँदा ‘कलश’-को कमिटमेन्ट लेखमा उहाँले एक ठाउँ लाठो उज्याउनु भएको रहेछ, कम्युनिस्टहरू सरल हुनुपर्छ भन्छन्‌।  त्यसो भन्दैमा ‘हामी हाम्रो स्तर ओहाल्ने होइनौं’ लौ स्तर नओह्राल्नुहोस्‌। त्यो स्तरसम्म नेपाली समाज पुग्नुपऱ्यो र ती बुझिदेलान्‌। अहिलेलाई उहाँका कृतिहरू दुर्बोध्य नै भन्नमा अत्युक्ति हुन्न।

अँ, उहाँका अन्ध कम्युनिस्ट विरोधी कमिटमेन्ट लेखमा परेका केही उक्तिहरूको छानबिन गर्न म आवश्यक ठान्दछु।

हामी माक्सर्वादीहरू। साहित्यलाई हामी माक्सीर्य दृष्टिकोणले नै हेर्छौँ। समाज, जगत्‌, देश-काल, ब्रह्माण्डको अनि यो सँगै साहित्यको विश्लेषण गर्ने, व्याख्या गर्ने हाम्रो आफ्नै दृष्टिकोण छ, दर्शन छ। यो साँचो हो। यो नै यदि ‘कमिटमेन्ट’ भयो भने यसलाई हामी स्वीकार गर्छौ। हाम्रो विश्लेषणमा छ, मानव जीवन र समाजको जग  हो उत्पादन-व्यवस्था र यसको वितरण सम्बन्ध। मानव-जीवनको जग हो अर्थनैतिक ढाँचा। राजनीति, धर्म, रीतिरिवाज, संस्कृति, कला, साहित्य इत्यादि हुन्‌ यो जगमा टिकेका माथिल्लो इमारत र अट्टालिकाहरू। ‘मानव जीवन आर्थिक व्यवस्थाको मूल आधारमाथि बसेको अट्टालिका हो भने ललित कला त्यसको स्वर्णिम गजूर हो। अनि गजूरको पनि धुरीमा चित्रकला बसेको पाइन्छ’ (स्व. गणेशलाल सुब्बा)।

यो मूल आधारबाट कुनै संस्थान जत्ति टाड़ो हुन्छ त्यति नै त्यो अबोधगम्य हुन्छ। श्री इन्द्रबहादुर राईको साहित्य यो मूल आधारबाट, समाजको जगबाट एकदमै टाड़ो हुनाले नै यो अबोधगम्य त होइन दुर्वोध्य छ।

श्री इन्द्रबहादुर राईका आयामी विधाबारे दुइचार कुरा भनौं। यो बुजुर्वा कला, संस्कृति र साहित्यको एक विकरण हो। फ्रान्सेली साहित्यमा यो देखा पर्‍यो। सार्त्र र कामु यसका धुरन्धर प्रतिपादकहरू थिए। तर फ्रान्स देश जहाँ बुर्जुवा क्रान्तिले चरम रूप लिएको थियो, जहाँको बुर्जुवा उत्पादन ढाँचा र यसले जन्माएको समाज-व्यवस्था र यसको सभ्यता चरम शिखरमा पुगेर पतनोन्मुख थियो, जहाँको मानव-समाज एक नयाँ जन्म र परिवर्तनको खोजीमा छट्‌पटाइरहेको थियो, जहाँका एक हूल बुद्धिजीवी समाज प्रगति चाहँदा चाहँदै पनि अन्योलमा परेका थिए, त्यहाँ आयामी साहित्य, भावात्मक कला र एब्सट्रेक्स आर्टको प्रार्दुभाव हुनु स्वाभाविक थियो। अनि हाम्रो समाज, हामी भारतेली नेपाली समाजमा श्री इ.ब.राईले फ्रान्सेली साहित्यको त्यो आयामी विकरणलाई टिपेका टिप्पणी जस्तै टपक्क टिपेर त्यो गजूरको धुरीमा सिउरिन खोज्नुभयो। म सम्झन्थें, गजूर माथिको यो धुरीमा एउटा अनौठो फूल फुलेछ, गाँसिएछ। त्यो त्यहाँ सुहाओस्‌ नसुहाओस्‌ त्यही रहोस्‌। यसमा सफलता प्राप्त गर्नु भयो कि भएन, उहाँ आफैले भन्न सक्नुहुन्छ।

अनि अब श्री राईज्यू ‘कलश’ पत्रिकामा प्रकट हुनुहुन्छ एक अर्कै हतियार लिएर, अन्ध कम्युनिस्ट विरोधको हतियार लिएर। उहाँ एक स्वतन्त्र साहित्य कुसुमाकाशमा मात्र उड़िरहनु हुन्न, धरातलको उजाड़ तर यथार्थ राजनीतिमा पनि लिप्त हुन आइपुग्नु भयो। यो केही मात्रामा स्वागतयोग्य हो। यो क्षेत्रमा उहाँलाई बुझ्न सकिन्छ, ठम्याउन सकिन्छ। उहाँका लेखनी उति दुर्वोध्य हुन्नन्‌। अतएव उहाँसित सामना गर्न सकिन्छ।

कुनै पनि बुर्जुवा व्यक्तिवादी यति पथभ्रान्त भएर अन्योलमा पर्‍यो भने उसको आखिरी शरण हुनेछ कम्युनिस्ट विरोधिता। किनभने कम्युनिज्म नै हाम्रो युगको यस्तो सिद्धान्त हो जसमा विश्वभरिका मानव समाजका आशा-भरोसा निहित छ, रूसको निश्चित भविष्य छ। कम्युनिज्मको विरोध गर्नु सस्तो पनि छ, सजिलो पनि छ। सजिलै नाम आर्जन गर्न पनि सकिन्छ सामयिक रूपमा। अतएवं श्री इन्द्र ब. राईको कम्युनिस्ट विरोधिता उहाँको शेष शरण पनि हुन सक्छ। उहाँको यो विरोधमा कुनै आश्चर्य छैन।

‘कमिटमेन्ट’-को जवाफ लेख्नुपर्छ भनेर मलाई धेरै साथीहरूले भने। यदि श्री इ.ब.राई नेपाली समाजका नभएर अरू कुनै जातीय समाजका भए उहाँका कथनहरूको उत्तर लेखिबस्ने आवश्यकता थिएन। किनभने दुनियाँभरका कम्युनिस्ट विरोधीहरूले जुन-जुन लाञ्छना कम्युनिस्ट र समाजवादी देशहरूमाथि लगाउँछन्‌, ती सबै ‘कमिटमेन्ट’-मा दोहोरिएका छन्‌। ती अति सस्ता छन्‌, अति प्रचलनमा ल्याइएका कथनहरू छन्‌। कतिपय आरोपहरू पुराना भएर थाकिसकेका छन्‌। घिसिएका, पिटिएका कम्युनिस्ट विरोधी आरोपहरू नै राईज्यूले जम्मा गर्नुभएको छ, अनि तिनलाई आफ्नो भनेर उभ्याउने चेष्टा गर्नुभएको छ। नयाँ तर्क तिनमा कुनै छैनन्‌, न छ त्यहाँ प्रबुद्ध पाठकले बुझ्न सक्ने विचारहरूको सँगालो। यस्ता कम्युनिस्ट-विरोधको उत्तर विश्वभरि समाजवादी देशहरूमा भइरहेको प्रक्रिया र अनुभवहरूले अनि पुँजीवादी र सामन्ती व्यवस्थाका देशहरूको सबल जनतान्त्रिक र समाजवादी आन्दोलनले दिइसकेको छ, दिइरहेको छ। यसको उत्तर लेख्ने त्यहाँ आवश्यकता छैन।

तर हाम्रो सानो नेपाली समाजका सुपुत्र हुन्‌ श्री इन्द्रबहादुर राई। हामी अनपढ़हरू माझ उहाँ पढ़न्ते हुनुहुन्छ, पण्डित हुनुहुन्छ। अतएवं आवश्यक छ उहाँका ‘कमिटमेन्ट’-को उचित प्रत्युत्तर हुनु। सिंगौरी खेल्न चम्केकालाई एक्लै किन छाड्‌नु।

‘महान्‌ महत्सैव करोति विक्रमम्‌’ महान्‌ इन्द्रबहादुर राई महान्‌ लेनिनलाई नै पहिले हुङ्‌कार्नु हुन्छ। दार्जीलिङका ‘कमरेड भाइहरू’ त फुचुनाहरू न हुन्‌! लेनिनको लेख ‘पार्टी संगठन र पार्टी साहित्य’-का केही प्रारम्भिक उद्धरणहरूबाट उहाँ आफ्नो अभिलेख शुरु गर्नुहुन्छ अनि भन्नुहुन्छ- साहित्यमा लेनिनले नै शुरु गरेका हुन्‌ साहित्यिकहरूको दासत्व (!)  स्वतन्त्र साहित्यका पुँजारी उहाँ आँसु बगाउनुहुन्छ, कम्युनिस्टले साहित्यिकको स्वाधीनता खोस्यो, कम्युनिस्ट हो स्वतन्त्रताका दुश्मन (!)

लेनिनको यो छोटो लेख श्री इ.ब.राईज्यूले सम्पूर्ण मनन गर्नु भएको छ या छैन मलाई थाहा भएन। कि आफुलाई चाहिने मात्र पढ्नु भएको हो। अनि त टुंगोमा पुगेरै उहाँ लेख्नुहुन्छ, यो हो- ‘लेखकहरूको दासत्वको प्रथम घोषणा-पत्र।’

टुक्रालाई देखाएर पूरा यही हो भन्नु कुनै तर्क होइन। लेनिनका लेखको टुक्रा उद्धरण गरेर निष्कर्ष यही हो भन्नु कलमको दासत्व झल्काउनु नै हो। लेनिनले कुन सन्दर्भमा यो लेख लेखेका हुन्‌, तात्पर्य उनको के थियो, यो बुझ्न ‘पार्टी संगठन र पार्टी साहित्य’ केही तलसम्म उद्धृत हुनु आवश्यक छ। श्री इ.ब.राईज्यू र उनका समविचारवाल व्यक्तिवादी बुर्जुवा इन्टेलेक्चुअलहरूलाई लेनिनले यसै लेखमा उत्तर दिएका छन्‌।

लेनिन लेख्छन्‌,-

‘………….’

‘मेरा यी अन्तिम शब्दहरू परस्पर विरोधी सुनिएलान्‌ अथवा पाठकहरूलाई फुटानीवाला भान पर्ला। के! कोही बुद्धिजीवी, स्वाधीनताका कर्मठ योद्धा चिच्याउलान्‌। के! साहित्य कृति जस्तो बिलपारो, व्यक्ति-निहित विषयमाथि तिमी सामुहिक नियन्त्रण थोपर्न चाहन्छौं? विज्ञान, दर्शन र सौन्दर्यका प्रश्नहरू के तिमी मदजूरहरूको बहुसंख्यक मतद्वारा निश्चय गर्न चाहन्छौं? निरकुंश व्यक्ति-निहित सैद्धान्तिक कृतिको निरंकुश पूर्ण स्वाधीनता के तिमी खोस्न चाहन्छौं?’

-लेनिन पारदर्शी थिए। श्री इन्द्रबहादुर राई जस्ता व्यक्तिहरू यसरी नै तर्सनेछन्‌ अनि यसलाई राईज्यूले जस्तै ‘दासत्वको प्रथम घोषणा-पत्र’ भन्नेछन्‌ भनेर लेनिनले देखेका थिए र उनले उक्त प्रतिक्रिया आफैले लेखे। यसको जवाफ लेनिनले तत्कालै लेखेका छन्‌, त्यही लेखभित्र।

लेनिन लेख्दै जान्छन्‌,-

‘शान्त हुनुहोस्‌, महाशय हो, शान्त। प्रथमतः हामी पार्टी साहित्य विषय विवेचना गरिरहेछौं। पार्टी साहित्य र पार्टीको नियन्त्रणभित्र यो हुनुपर्ने कुरा। आफु खुशी भन्न र लेख्नमा सबै स्वाधीन छन्‌, बिना रोकटोक। तर स्वेच्छाका प्रत्येक समिति (पार्टी लगायत) पनि ती सदस्यहरूलाई बहिष्कार गर्नमा स्वाधीन छन्‌ जसले पार्टी विरोधी विचारहरू प्रचार गर्छन्‌। वाक र प्रकाशन स्वाधीन सम्पूर्ण हुनुपर्छ। वाक्‌ स्वाधीनताको नाममा म तिमीलाई पूर्ण स्वाधीनता दिन बाध्य छु-कराउने-चिच्याउने, झूटो बक्ने, धीत मरुञ्जेल लेख्ने। तर समितिको स्वाधीनताको नाममा तिमी पनि मलाई त्यो अधिकार दिनु बाध्य छौं, जसबाट यो अथवा त्यो विचार राख्ने मानिसहरूसित समितिमा प्रवेश गर्न अथवा त्यहाँबाट निक्लन म सक्नेछु।…..’

लेनिनले यो लेख विशेषतः सन्‌ 1905 मा ‘पार्टी संगठन र पार्टी साहित्य’-पार्टीका भित्रीय मामलाहरूको सन्दर्भमा लेखेका हुन्‌ भन्ने कुरा माथिका उद्धरणबाट प्रस्ट हुन्छ। तिनताक रसियाली सोशल डेमोक्रेटिक पार्टीका एक हूल लेनिनको नेतृत्वमा थियो। भर्खरै असफल भएको रसियाली क्रान्ति  (1905)-लाई सर्वहारा मजदूरवर्गको नेतृत्वमा ल्याएर यसलाई समाजवादी क्रान्तिको मोड़ दिने प्रयासमा लेनिनको अथक परिश्रम थियो। रसियाली सोशल डेमोक्रेटिक पार्टीभित्र बुर्जुवा र निम्न बुर्जुवा तत्वहरू थिए। लेनिनको संघर्ष तिनीहरूको विरुद्धमा थियो। आखिर यो सोशल डेमोक्रेटिक पार्टी फुट्यो। लेनिनको नेतृत्वमा पार्टी भयो-‘बोल्सेभिकी’। रूसियाली कम्युनिस्टहरू।

पार्टीको साहित्य, पार्टीको मुखपत्र, प्रचारपत्र, बुलेटिन, पर्चा पार्टीको नियन्त्रणभित्र नै हुने कुरा हो। गोर्खा लीग, कांग्रेसको साहित्य, मुखपत्रमा कम्युनिस्टहरूले स्थान पाउँछ? प्रत्येक पत्र-पत्रिकाको आ-आफ्नो लक्ष्य र मोड़ हुन्छ। कसैले स्वाधीन र निष्पक्ष हुँ भने भने त्यो कि ढाँट कुरा हो कि कपट हो। प्रत्येक राजनैतिक पार्टीको यो आफ्नो साधारण अनुशासनभित्रको कुरा हो। यदि विज्ञ इन्द्रबहादुर राईज्यूले गोर्खाल्याण्डको डिमाण्डलाई अघि सार्न पार्टी र मुखपत्र खोल्नु भयो भने त्यहाँ बद्रीनारायण प्रधानले स्थान पाउँछ र? यदि स्थान दिनुहुन्न भने तपाईंले मेरो साहित्यिक स्वाधीनता खोस्नु भएन? तपाईंकै विचारमा-फेरि बीसौं शताब्दीका महान्‌ समाजवादी क्रान्तिका प्रणेता लेनिनलाई तपाईं दोष्याउनु हुन्छ!

तर राईज्यू जस्ता स्वतन्त्र साहित्यका प्रेमी, बुर्जुवा व्यक्तिवादीहरूलाई लेनिन त्यही लेखमा दोस्रो उत्तर दिन्छन्‌। श्री राईज्यूले यो मनन गर्नु भएछ तर पूरा पढ़िसिध्याउन उहाँलाई साहस भएन।

लेनिन अघि लेख्छन्‌,-

‘द्वितीयतः बुर्जुवा व्यक्तिवादी हो, हामीले तपाईंलाई भन्नैपर्छ, यो तपाईंहरूको निरंकुश (नखोट?) स्वाधीनताको कुरा कोरा ढोंग मात्र हो। त्यो समाजमा साँचो र वास्तवित ‘स्वाधीनता’ हुनैसक्दैन जुन समाज पैसाको ताकतमा टिकेको छ, जुन समाजमा वृहत्तर मिहिनेत गर्ने जनता दरिद्रतामा बसोबासो गर्छन्‌ अनि मुट्ठीभर धनीहरू परजीवी किटाणु झैं जीवन यापन गर्छन्‌। के तपाईं तपाईंका बुर्जुआ प्रकाशकबाट स्वाधीन हुनुहुन्छ, श्रीमान्‌ लेखक? के तपाईं तपाईंका ती बुर्जुआ जमघटबाट स्वाधीन हुनुहुन्छ? ती चाहन्छन्‌ तपाईंका उपन्यास र चित्रकलाहरूमा यौन-प्रलोभनहरू, ‘पवित्र’ दृश्यपट कलाको सट्टामा ती चाहन्छन्‌ वेश्यावृत्ति। तपाईं स्वाधीन हुनुहुन्छ? यो निरंकुश स्वाधीनताको कुरा बुर्जुआ र अराजकतावादी थेगो मात्र हो।….. समाजभित्र बसेर कोही पनि समाजबाट स्वाधीन हुन सक्दैन। बुर्जुआ लेखक, कलाकार अथवा अभिनेत्रीको स्वाधीनता केवल रुपियाँको थैलीमा, भ्रष्टाचारमा, वेश्यावृत्तिमा मुखुण्डो लगाएर (अथवा छल-कपटको मुखुण्डो भिरेर) निर्भर रहेको मात्र हो।….’

लेनिनको शब्दमा तपाईंलाई सोधौं। भन्नोस्‌ श्रीमान लेखक इन्द्रबहादुर राईज्यू, के तपाईं स्वाधीन हुनुहुन्छ? तपाईं तपाईंका प्रकाशकबाट स्वाधीन हुनुहुन्छ? के तपाईं तपाईंका पृष्ठपोषक, तपाईंका बुर्जुआ जमघटबाट स्वाधीन हुनुहुन्छ, जो चाहन्छन्‌ तपाईंका कृतिहरू दुर्वोध्य र आयामी होउन्‌, जो चाहन्छन्‌ तपाईंका विचारहरू प्रगति विरोधी होउन्‌। तपाईं अन्ध कम्युनिस्ट विरोधी हुन भएको हेरेर रमाउने तपाईंका पृष्ठपोषकहरूबाट के तपाईं स्वाधीन हुनुहुन्छ? जुन समाजमा तपाईंको बसोबासो छ के त्यो समाजबाट तपाईं स्वाधीन हुनुहुन्छ? गरीबको सघाउ सबै साहित्यकारहरूले गर्छन्‌ भन्नुहुन्छ। हामी भन्छौं, सबैले गर्दैनन्‌। गर्छौ भन्छन्‌ भने, लेनिनकै शब्दमा, त्यो ‘छल-कपटको मुखुण्डो’ मात्र हो।

हाम्रो समाजका वृहत्तर मिहिनेत गरी खाने गरीबहरूतिर कहिल्यै नियालेर हेर्नु भएको छ? यसरी हेर्न र तिनीहरूको दुःखेसो बुझ्न के तपाईं स्वाधीन हुनुहुन्छ? कम्युनिस्टहरू त पक्षवादवाला भए, ‘कमिटेड’ भए। त्यो हामी लुकाउँदैनौं। एक आदर्श एक लक्ष्यमा कम्युनिस्टहरूको ‘कमिटमेन्ट’ छ। त्यो स्पष्ट छ। बेशक हामी कमिटेड छौं। तर तपाईंको नि, ‘कमिटमेन्ट’ कता? तपाईं स्वाधीन? तपाईंको कमिटमेन्ट छैन? नढाँट्‌नुहोस्‌ आफैलाई। यदि स्वाधीन छु भनेर जिद्दी गर्नुहुन्छ भने, लेनिनकै शब्दमा, यो ‘स्वाधीनता केवल रुपियाँको थैलोमा, भ्रष्टाचारमा (कलमको), वेश्यावृत्तिमा छल-कपटको मुखुण्डो भिरेर निर्भर रहेको’ स्वाधीनता मात्र हो।

 

दुई

श्री इ.ब.राईज्यू आफ्नो कमिटमेन्ट लेखमा एक ठाउँ लेख्नुहुन्छ, –

‘ऐतिहासिक भौतिकवाद’-को जगत्‌दृष्टि ग्रहण नगरी महत्वपूर्ण साहित्य कृति नहुनै झैं कुरा गर्छन्‌। एक-दुइ जाँच्न लाग्दै तिनीहरूको तर्कको खलियो गर्ल्याम्म ढल्छ। टाल्सटायको दृष्टि मार्क्सवादी-लेनिनवादी थिएन, आफ्नै टाल्सटायी दृष्टि थियो। ‘रूसी क्रान्तिको दर्पण’ टाल्सटायलाई लेनिनले मान्नै पर्‍यो।…….बाँचिरहेका बेला भए विघोर, प्रतिक्रियावादी दरिने भानुभक्त, रूपनारायण, अगमसिंह गिरीमा मृत्युपछि अब मार्क्सवादीहरूले प्रगतिशील कारक र तत्व देख्दै ल्याउँदैछन्‌। बाँचुञ्जेल प्रतिक्रियावादी मरेपछिदेखि प्रगतिशील देख्ने ‘द्वन्द्वात्मक’ मार्क्सवादी दृष्टिका ‘लाभप्रापक’ (बेनिफिशरी) प्रत्येक हामी पनि हौंला।……’

सोझो भाषामा भन्ने हो भने, राईज्यू भन्न चाहनुहुन्छ-कम्युनिस्टहरू मार्क्सवादी दर्शन ग्रहण गर्ने लेखकलाई मात्र प्रगतिशील भन्छन्‌। टाल्सटायको आफ्नो टाल्सटायी दर्शन थियो, उनी मार्क्सवादी इत्यादि थिएनन्‌, तरै पनि लेनिनले उनलाई ‘रूसी क्रान्तिको दर्पण’ मान्नै पर्‍यो (कुन क्रान्ति राईज्यू स्पष्ट गर्नुहुन्न। यो बीसौं शताब्दीमा रसियामा तीनवटा क्रान्तिहरू बितेको पाइन्छ। प्रथम हो, सन्‌ 1905 को जो असफल भयो। द्वितीय हो, सन्‌ 1917 को फरवरी महिनाको जो सफल बुर्जुआ क्रान्ति थियो, अनि तृतीय हो सन्‌ 1917 को अक्टुबर महिनाको सफल समाजवादी क्रान्ति)। कम्युनिस्टहरू लेखक बाँचिरहेका बेला चाहिँ प्रतिक्रियावादी भन्छन्‌। मरेपछि मात्रै उनीहरू लेखकहरूलाई प्रगतिशील भन्छन्‌। जस्तो भानुभक्त, रूपनारायण सिंह, अगमसिंह गिरीलाई भनिरहेछन्‌ (!) हामीलाई पनि (श्री इ.ब.राईज्यूहरू) मरेपछि मात्र कम्युनिस्टहरू प्रगतिवादी भन्लान्‌ (!) ….।

उहाँले भन्न चाहेको कुरा यै होइन त? त्यसो हो भने उहाँले यी कुराहरू अध्ययन-मनन गरेर नै लेख्नु भएको हो कि सुनेको भरमा, अड़्कल काटेको भरमा, कुनै कम्युनिस्ट विरोधीले लेखिदिएको पढ़ेको भरमा, अथवा गफै-गफमा निस्केका कुराको भरमा यो निष्कर्षमा पुग्नु भएको हो, बुझ्न सकिएन।

भानुभक्तको जीवनकालमा उहाँको कलाकारिताको समीक्षण गरिदिने न श्री इ.ब.राईज्यू हुनुहुन्थ्यो, न कम्युनिस्टहरू। अहिले चाहिँ कम्युनिस्टहरू उनको प्रशंसा मात्र गर्छन्‌ रे। उनको कुरा छाड़िदिउँ। रूपनारायण सिंहको समीक्षण गर्ने पनि उनको जीवनकालमा कोई कम्युनिस्ट थिएनन्‌। तर उनको मृत्युपछि पनि उनको प्रशंसा मात्र कुनै कम्युनिस्ट-मार्क्सवादीले गरेको श्री राईज्यू ठम्याउन सक्नुहुन्छ कि? अगमसिंह गिरी त मरेपछि मात्र कम्युनिस्टहरू प्रगतिवादी भन्न थालेका हुन्‌-श्री राईज्यू भन्न चाहनुहुन्छ। स्व. गिरीको जीवनकालमा एउटै भए पनि मार्क्सवादी समालोचक थिए। स्व. गणेशलाल सुब्बाले सन्‌ 1968 तिर गिरीको कृति ‘युद्ध र योद्धा’ विषय तिनताकको ‘आँखा’ पत्रिकामा प्रकाशित समीक्षण राईज्यूले हेर्नु भयो कि? त्यहाँ स्व. सुब्बाले अगमसिंह गिरीलाई ‘प्रतिक्रियाशील’ मात्र भनेका हुनन्‌, होइन, राईज्यू?

कम्युनिस्टहरूको समीक्षण, मार्क्सीय दर्शन श्री राईज्यूले सम्झे जस्तो यति सोझो र यति पातलो छैन। उहाँले उल्लेख गर्नु भएको टाल्सटाय सम्बन्धी लेनिनको प्रख्यात लेख, ‘रूसियाली क्रान्तिको दर्पण’ नै हेरौं। उहाँले सोच्नु भएको होला (अध्यय-मनन त निश्चय नै गर्नु भए होओइन!) लेनिनले उक्त लेख टाल्सटाय मरेपछि उनलाई प्रगतिशील भन्दै प्रशंसामा मात्र लेखेका हुन्‌। त्यो पनि सन्‌ 1917 अक्टुबरको रूसी क्रान्तिको दर्पण भन्दै। होइन?

यहाँ महान्‌ रूसियाली साहित्यकार लिओ टाल्सटायबारे लेनिनको प्रख्यात लेख ‘रूसियाली क्रान्तिको दर्पण’-का केही अनुच्छेदहरू उद्धृत गर्न आवश्यक ठान्दछु, जसमा पाठक बुझ्न सकुन्‌, मार्क्सवादीहरू, ऐतिहासिक भौतिकवादी जगत्‌दृष्टि ग्रहण गर्नेहरू, कुनै पनि महान्‌ कलाकार, दार्शनिक र साहित्यिकलाई कुन दृष्टिले हेर्दारहेछन्‌।

अंग्रेजीबाट रूपान्तर केही मुक्त अनुवाद गर्ने चेष्टा गरेको छु।

यो लेखको पहिलो अनुच्छेदमा लेनिन लेख्छन्‌-

‘ती महान्‌ कलाकारलाई क्रान्तिसित चिन्हारी गर्नु झट्ट हेर्दा अनौठो र कृत्रिम भान पर्दछ, जुन क्रान्तिलाई उनले प्रत्यक्ष बुझ्न सकेनन्‌, जुन क्रान्तिबाट उनी प्रत्यक्ष टाढै रहे। ठीकसँग प्रतिबिम्ब नदिने दर्पणलाई दर्पण भन्नु मुश्किल पर्छ। तर हाम्रो क्रान्तिको पनि एक जटिल माखेसांग्लो छ। जजसले  यो क्रान्ति जन्माए, अनि यसमा सक्रिय भाग लिए, तिनमा पनि यस्ता केही तत्वहरू छन्‌ जसले बुझ्न सकेनन्‌, यो के हुन गइरहेछ, यी घटनाचक्रहरूबाट आइपर्ने आफ्ना कर्तव्यहरू के-के हुन्‌। तिनीहरू पनि योबाट टाढ़ै रहे। अनि यदि हामी माझ एक साँचो महान्‌ कलाकार छन्‌ भने, कमसे-कम आफ्ना केही कृतिहरूमा यो क्रान्तिको गुढ़ रूपमा र रहस्य उनले प्रतिबिम्बन गरेका हुनन्‌।’

तेस्रो अनुच्छेदमा लेनिन लेख्दै जान्छन्‌-‘टाल्सटायका कृत्रिहरूमा, उनका विचार र सिद्धान्तहरूमा परस्पर विरोधिता साँच्चै छर्लङ्ग देखिन्छ। एकापट्टि छन्‌ हामीमाझ ती महान्‌ कलाकार, ती विभूति जसले रूसियाली जीवनको अतुलनीय तस्वीर मात्र खिचेनन्‌, विश्व-साहित्यमा एक प्रथम चोटिको उपहार पनि सिर्जना गरे। अर्कापट्टि छन्‌ ती जमीनदार जो ख्रीस्टको आतुरताले ग्रस्त छन्‌। एकापट्टि छ, समाजको झूठो र छल-प्रपञ्चको विरुद्धमा शक्तिशाली, निर्भीक, स्पष्ट र उद्गारसितको त्यो प्रतिवाद, अनि अर्कापट्टि छन्‌ ती ‘टाल्सटायी’, अर्थात्‌ लदुवा घोड़ा जस्ता थाकेका, छारे रोगले सताएका, रूञ्चे-पिञ्चे जसलाई रूसियाली बुद्धिजीवी भनिन्छ, उनी खुल्लमखुला छन्‌। ती पिट्‌दै विलाप गर्छन्‌-‘म पापी मान्छे, खराब मान्छे। तर म आत्म-शुद्धि गर्दैछु। मैलै मासु खान छाड़ें, म चामलको पुवा मात्रै खान्छु।’ एकापट्टि छ त्यो निर्मम समालोचना, सरकारी उत्पीड़नहरूको विरोध, राजशासन र उपहासजनक अदालतहरूका कुकृत्यहरूको भण्डाफोड़।

धनीहरूका धन ऐश्वर्यहरूको वृद्धि भइरहेछ अनि यसलाई भनिन्छ सभ्यताको उपलब्धि। दरिद्रता र तबाहीमा छन्‌ खटिखाने मानिस। टाल्सटाय एकातिर पर्दाफास गर्छन्‌ यस्तो अवस्थाको, जनताको यस्तो हीन र दुःख-कष्टपूर्ण अवस्थाको। अर्कोपट्टि छ त्यो चर्केको भाँड़ो। शरणगत हुने उपदेश दिन्छन्‌ उनी। ‘पापको विरोध’ हिंसाद्वारा नगर, उनी भन्छन्‌। एकापट्टि छ एक विचारपूर्ण यथार्यवाद, अनेकन्‌ मुखुण्डाहरू च्यातिफ्याँक्ने साहस अर्कोपट्टि उनी प्रचार गर्छन्‌-‘धर्म’-को, पृथ्वीको सबैभन्दा कुत्सित जिनिस। दरबारी पुरोहितहरूको सट्टामा उनी चाहन्छन्‌ आत्म-शुद्धि भएका सेवारत पुरोहितहरू, अर्थात्‌ झन्‌ घृषित र छल-प्रपञ्चमा बस्न सक्ने पुजारीहरू उनी तैनाथ गर्न चाहन्छन्‌।’

एक महान्‌ कलाकार, लिओ टाल्सटायको जगत्‌दृष्टि साँचै ‘ऐतिहासिक भौतिकवादी’ थिएन, ‘टाल्सटायी’ थियो, उनको आफ्नै मौलिक सिद्धान्त थियो। साँचो र सत्‌ हृदयले उनी मानिसको दुःख-कष्ट हेदर्थे अनि त्यसको प्रतिकार चाहन्थे। तर उचित पन्था ग्रहण गर्नमा उनी चुकेका थिए। उनका यो विरोधाभासहरूले रूसियाली समाज-जीवनको कुन अवधि, कुन अवस्था प्रतिबिम्बित गरिरहेथ्यो, लेनिन यो लेखको चौथो अनुच्छेदमा विश्लेषण गर्छन्‌। यसको अंश विशेष यहाँ उद्धृत गर्दछु,-

‘यी विरोधिताहरूकै फलस्वरूप टाल्सटायले बुझ्न सकेनन्‌ श्रमिक श्रेणीको आन्दोलन समाजवादको निम्ति संघर्षमा यो श्रेणीको भूमिका अथवा रूसियाली क्रान्ति। तर टाल्सटायका विचार र सिद्धान्तमा भएको विरोधाभास कुनै आकस्मिक होइन। उन्नाइसौं शताब्दीको आखिरी तीन-चार दशकभित्र रहेको रूसियाली जीवन व्यवस्थाको विरोधिता नै यसमा झल्कँदछ। कृषिदासत्वबाट भरखरै मुक्त भएको* पितृसत्तामूलक रूसियाली ग्राम्य-जीवनलाई पूँजीपतिहरू र टयाक्स कलक्टरहरूकहाँ छाला काड्‌न र लुट्‌न अर्पण गरियो। शताब्दी-शताब्दीदेखि पुरानो जग बसेको कृषकहरूका जमीन खोसिए, ती तबाह भए।’

‘विचार र भावनाका प्रवक्ताको हिसाबले टाल्सटाय महान्‌ छन्‌। टाल्सटाय आफ्नो विचारमा मूलतः प्रथम हुन्‌, किनभने उनका विचारहरूको मोठ योगले हाम्रो क्रान्ति, कृषक-पूँजीवादी क्रान्तिको यो विशेष चरित्र झल्काउँदछ। यो दृष्टिकोणले टाल्सटायका विचारहरूमा जुन परस्पर विरोधिता पाइन्छ, त्यो साँच्चै हो। यही विरोधितापूर्ण अवस्थाको दर्पण, जहाँ कृषक समुदायले हाम्रो यो क्रान्तिमा आफ्नो ऐतिहासिक भूमिका ग्रहण गर्नुपरेको थियो।’

टाल्सटाय कसरी यो क्रान्तिका दर्पण थिए, लेनिन भन्दै जान्छन्‌,-

‘नयाँ जीवनको खोजीमा रहेका कृषक समुदायको विचार थियो अस्पष्ट, अपरिपक्व, पितृसत्तामूलक र अर्ध-धार्मिक… अतीतका जम्मै जीवनले कृषक समुदायलाई सिकाएको थियो जमीनदारहरू र सरकारी कारिन्दाहरूलाई घृणा गर्न, तर प्रश्नको उत्तर कहाँ पाइने हो, त्यो शिक्षा तिनीहरूलाई थिएन। अल्पसंख्यक कृषकहरू निश्चय नै संगठित भए। ती हतियार उठाएर लड़े,…तर बहुसंख्यक कृषकहरू रोए मात्र, प्रार्थना गरिबसे, तिनले उपदेश गरे अनि विचरण गरिहिँड़े स्वप्न-संसारमा। अर्जीपत्रहरू लेखेर तिनले ‘वकालत गर्नेहरू’ मार्फत पेश गरे।- ठीक्क लिओ टाल्सटायकै स्वभाव अनुसार।’

लेनिन लेख्छन्‌, ‘केवल अल्पसंख्यक कृषक मात्र श्रेणी चेतनशील सर्वहारा श्रमिक श्रेणीको नेतृत्वमा संघर्ष गरिरहेथे। बहुसंख्यक कृषक समुदाय थिए ती सिद्धान्तद्वारा, करिया बुर्जुआ बुद्धिजीवीहरूका शिकार। यी बुद्धिजीवीहरू कृषकका अर्जीपत्र लिएर दरवार, दफ्तर र तिनताकका प्रधानमन्त्री स्ताइलोपिनकहाँ दौड़िहिँड़े। आखिर फौजी ज्याकबूटको लात हानेर ती खेदिए।’

यो लेखमा लेनिन लेख्दै जान्छन्‌, ‘यो क्रान्ति फौज र नौसेनामा पनि फैलियो। तिनै ग्राम रसियाका कृषक समुदायबाट आएका सिपाही र नौसैनिकहरूले क्रान्ति प्रारम्भ गरे। अफिसरहरूलाई समातेर, थुने। दुइ-चारजना ज्यादै घृणित र अत्याचारीहरूको हत्या गरे, अनि अब कसो गर्ने हो, ती दोधारमा परे। ती सूलह गर्नपट्टि लागे, छाड़िदिए, अनि त्यसपछि ती क्रान्तिकारीहरू आफै सरकारी मिशिनगनले भुटिमागे,- ठीक लिओ टाल्सटायकै स्वभाव अनुसार।’

‘टाल्सटायका विचार र चिन्तनहरू हाम्रो यो कृषक विद्रोहको कमजोरी र त्रुटिहरूको दर्पण हो, जसले पितृसत्तामूलक ग्राम रसियाको यो शिथिलता र ङ्गउघमी मझोक (किसान )’- को यो घ्याम्पे कायरता प्रतिबिम्बित गर्दछ।’

टाल्सटाय विषय लेनिनको सन्दर्भ लेखको विश्लेषण केही यस्तो हुन्छः-

रसियाली गाँउ-बस्तीबाट यो प्रतिवाद हुनु नै थियो।… रसियामा पूँजीवादी क्रान्तिले पर्दापण गरिरहेको बेला यी लाखौं-करोड़ौं रूसियाली कृषकहरूको विद्रोह थियोः-

(1) उन्नाइसौं शताब्दीका एक महान्‌ रूसियाली साहित्यिक कलाकार थिए लिओ टाल्सटाय।

(2) उनका शक्तिशाली साहित्य र लेखन कलाको विरोधाभासमा थिए उनका शिथिल, कमजोर चिन्तन र सिद्धान्त।

(3) यो विरोधाभास कुनै आकस्मिक घटना होइन। यो हो तिनताकको रूसियाली ग्राम्य-जीवनका विरोधाभासको प्रतिबिम्ब।

(4) तिनताकको रूसियाली ग्राम्य-जीवन यस्तो थियोः-

सन्‌ 1861 मा कानूनद्वारा भूमिदासत्व उन्मुलन भएपछि कृषकहरूले सम्झेका थिए, सुदिन फिर्नेछ, जीवन हलुंगो हुनेछ। तर रसियामा पूँजीवादी व्यवस्था चालू हुन गयो। कृषकहरूको सपना पूरा भएन। तिनीहरूको जीवन झन्‌ कष्टपूर्ण भयो। ती उत्तेजित थिए, परिवर्तनको निम्ति छट्‌पटाइरहेथे।

(5) तर बहुसंख्यक कृषकहरू पछौटे थिए। तिनीहरूको शिक्षा र दृष्टिकोण समाज-व्यवस्था परिवर्तन गर्ने खालको क्रान्तिकारी थिएन। यो थियो रूसियाली ग्राम्य-जीवनको ठूलो कमजोरी।

(6) सन्‌ 1905 को रूसियाली क्रान्ति यिनै बहुसंख्यक कृषकहरूको नेतृत्वमा थियो। अतएव यो क्रान्तिले चरम अवस्थामा पुगेर समाज-व्यवस्था परिवर्तन गर्न सकेन। यो असफल भयो।

(7) यो क्रान्तिमा टाल्सटायले प्रत्यक्ष रूपले कुनै चासो लिएनन्‌, तर रूसियाली ग्राम्य-इतिहासको यो कमजोरीपनको झलक नै थियो उनका चिन्तन-विचारको शिथिलता। अतएव, टाल्सटास थिए सन्‌ 1905 को रूसियाली कृषक-पूँजीवादी क्रान्तिका शक्ति र कमजोरीहरूका प्रतीक, दर्पण।

कुनै पनि महान्‌ लेखक-कलाकारको समीक्षण गर्दा कम्युनिस्टहरू कुन-कस्तो दृष्टिकोण अप्नाउँदछन्‌, लेनिनको यही लेखले स्पष्ट हुन्छ। मरेपछि मात्र कम्युनिस्टहरू लेखकलाई प्रगतिशील भन्छन्‌,-श्री इ. ब. राईको वक्तव्य खोक्रो र अध्ययनहीन हो। लेनिनले यो लेख टाल्सटायको जीवनकालमा लेखेका थिए। सन्‌ 1908 मा, टाल्सटायको अस्सी औं जन्म-जयन्तीको उपलक्ष्यमा। कम्युनिस्टहरू लेखक बाँचिरहँदा चाँहि प्रतिक्रियावादी भन्छन्‌,-श्री इ. ब. राईज्यूको यो वक्तव्य उहाँको अर्को बुद्धिको दिवालियापन हो। लेनिनले टाल्सटाय बाँचिरहँदा उनलाई प्रतिक्रियावादी भनेनन्‌। टाल्सटायका विचार र सिद्धान्तहरूका कमजोरीहरू खुट्याए। टाल्सटाय, शेक्सपियर, बलजाक, डिकन्स, प्रेमचन्द, बालकृष्ण सम, रूपनारायण, अगमसिंह गिरी इतिहासको कुन-कस्तो जीवनमा विद्यमान थिए, ती व्यवस्थाहरूको के-कस्तो झलक तिनका कृतिहरूमा छन्‌, गतिशील मानव जीवनलाई तिनीहरूले के-कस्तो अनुभव र अनुदान दिए, कम्युनिस्टहरू यी दुवै घात-प्रतिघातको द्वन्द्वात्मक प्रक्रिया विवेचना गर्दछन्‌, तिनका लेखन-शक्ति र कमजोरीहरू खुट्याउँछन्‌। श्री इ.ब.राईज्यूले कुत्साह प्रचार गर्न खोजे झैं कम्युनिस्टहरू, मार्क्सवादीहरूको दृष्टिकोण, समीक्षण र समालोचना यति पातलो र यति निमछरो छैन।

ऐतिहासिक भौतिवादी जगत्‌दृष्टि हुनेले मात्र महत्वपूर्ण साहित्य सृष्टि गर्छन्‌ भन्ने तर्क कुनै मार्क्सवादीले खड़ा गर्दैनन्‌, अतएव, ‘तर्कको खलियो गर्ल्याम्म’ ढल्ने कुरो पनि उठ्‌दैन। श्री राईज्यूले कुन कम्युनिस्टले यो तर्क गरेको सुन्नुभो कुन्नि! कम्युनिस्टहरूको दृष्टिकोण भौतिकवादी छ। इतिहासलाई भौतिकदावी दृष्टिकोणले उनीहरू हेर्छन्‌। यो जगत्‌-दर्शनको कुरा हो। यसमा तर्क हुन सक्छ, विवाद हुन सक्छ तर प्रत्येक महत्वपूर्ण लेखक, साहित्यकारले ऐतिहासिक भौतिकवादी जगत्‌दृष्टि राख्छन्‌ भन्ने कुरामा कुनै कम्युनिस्ट विश्वास गर्दैनन्‌। अतएवं श्री इ.ब.राईज्यूको तर्कको खलियो, अन्ध कम्युनिस्टको विरोधको खलियो यहीँ गर्ल्याम्म ढल्दछ।

अनि, राईज्यूलाई पिरलो परेको देखन्छ। ‘…..मरेपछिदेखि प्रगतिशील देख्ने ‘द्वन्द्वात्मक’ मार्क्सवादी दृष्टिका ङ्गलाभप्रापकफ (बेनिफिशरी) प्रत्येक हामी पनि हौंला…..’ उहाँ भन्नुहुन्छ। धन्धा नमान्नुहोस्‌, राईज्यू। बाँचिरहँदा तपाईं जस्तो ‘लाभप्रापक’ हुनुहुन्छ मरणोपरान्त पनि त्यस्तै हुनुहुनेछ। इतिहासको कुन सन्धिकालमा तपाईंले लेख्नुभो, राष्ट्रिय जीवन र नेपाली जीवन कुन अवस्थामा थियो, ती केलाइनेछन्‌ अनि तपाईंका ‘प्लस’ र ’मानइस’ खुट्याइनेछन्‌।

रूपनारायणको नाम सानो उल्लेख गर्नुभो। उनको अमर उपन्यास ‘भ्रमर’-सित तपाईंको ‘आज रमिता छ’ नेपाली संसारले कसरी दाँज्लान्‌, कम्युनिस्टहरू त्यो समीक्षण गर्नेछन्‌। तपाईं घोर कम्युनिस्ट विरोधी, रूपनारायण सिंह पनि कम्युनिस्ट प्रेमी थिएनन्‌। तर तपाईंले रूपनारायणको ‘आमा’ सरी कथा पनि सृष्टि नगरी सरासरी भए-नभएका, तर्कहीन र अर्काले खोट्याएका कुराहरू लिएर कम्युनिस्ट विरोध गर्नु हुँदैछ। मार्क्सवादीहरू त्यो किन गर्नुभो, लेखाजोखा गर्नेछन्‌। स्व. रूपनारायण सिंहको ‘क्यानाम’ भाषाः’पिलन्धरे’ ‘पिल्पिले’,’जलधारा’, ‘ध्रुवतारा’ जस्ता ठेट, सहज, सरल नेपाली शब्दहरू तपाईंले ‘विघोर’, ‘नखोट’, ‘लाभप्रापक’ जस्ता शब्दहरू थपेर नेपाली भाषालाई सयाना बनाउनु भएको छ। त्यो मार्क्सवादीहरू छानबीन गर्नेछन्‌। नेपाली भाषाको राष्ट्रिय मर्यादाको निम्ति संघर्षमा तपाईंको योगदान र उत्साह निश्चय तपाईंको ‘प्लस पोइन्ट’ -मा कम्युनिस्टहरू गर्नेछन्‌। धन्धा नमान्नोस्‌।

हाम्रो यो युग नै यस्तो छ। यो युगमा चलिररहेछ विश्वभरि वृहत्‌ कम्युनिस्ट आन्दोलन। नेपाली समाजमा पनि यसको छिटा नपरी छाड़ेन। यो आन्दोलनको विरोध गर्ने पनि संसारमा धेरै छन्‌, प्रत्यक्ष-परोक्ष। भारतीय नेपाली समाजमा यसको विरोध गर्ने हुनुहुन्छ श्री इन्द्रबहादुर राई। युग-प्रवाहदेखि कहाँ भाग्न सक्नुभो? अनि भन्नुहुन्छ स्वतन्त्र छु। बिप्ल्याटो फर्केर उहाँ प्रगतिशील लेखकहरूलाई कम्युनिस्ट पार्टीको क्लर्क भन्नुहुन्छ। कम्युनिस्ट आन्दोलन र मार्क्सवादको विरोध र भर्त्सना गरेर, लेनिन, मार्क्स, एंगेल्सका टुक्राहरू झिकेर उल्टा-सुल्टा अर्थ लाएर उहाँले चाहिँ कसको किरानीगिरी गर्नु भएको हो? पूँजीवादी व्यवस्थाको, अनि विश्वमा यो व्यवस्थाको सबैभन्दा ठूलो आड़-भरोसा, अमेरिकन साम्राज्यवादको क्लर्कगिरी होइन र?

* सन्‌ 1861 मा जार अलेक्जाण्डर तृतीयले रसियाली भूमि-दासत्व प्रणाली (Serfdom) अन्त्य गर्ने कानून प्रणयन गरे। भूपतिबाट कृषक समुदाय स्वाधीन त भए तर नयाँ कर र जमीनदारहरूलाई दिइने क्षतिपुरणले ती झन थिचिए। असलमा पूँजीवादी व्यवस्था श्रीगणेश गर्न मात्र यो कदम उठाइएको थियो। रसियाको विशाल ग्राम्य-इलाका देशी-विदेशी पूँजीको निम्ति खोलियो। कानूनको आँखामा कृषक स्वतन्त्र त भए तर नयाँ शोषणको भार तीमाथि खनिए।

क्रमशः  

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया