मिरिकमा हिजोराती के भएको थियो?-टीएमसी नेताले दिए राजिनामाः हजारौ गोर्खाल्याण्ड समर्थकहरूले चढाए शहिदलाई भावपूर्ण श्रद्धासुमन

दार्जीलिङः हिजो राती लगभग 10 बजीतिर पुलिसको गोली लागेर मिरिकमा मगरजुङ निवासी गोर्खाल्यान्ड समर्थक आशिष तामाङको विभत्स मृत्यु भयो। घट्नाअनुसार, हिजो राती लगभग 8 बजीदेखि मिरिक नगरपालिकाको वार्ड नम्बर 7-मा गोर्खाल्यान्ड समर्थकहरू र तृणमूल काङ्ग्रेस समर्थकहरुमाझ झड़प भएको थियो, जसमा खुकुरीको प्रहारमा परेर गोर्खा जनमुक्ति मोर्चा समर्थक आनन्द राई र तृणमूल काग्रेस समर्थक नवराज तामाङ घाइते घाइते भएका छन्।

जसको उपचार सिलगढ़ीका अलग-अलग अस्पतालमा चलिरहेको जानकारी पाइएको छ। तर त्यसै घट्नाको आधारमा पुलिसले लगभग 5 किलोमिटर टाड़ामा अवस्थित ओकाइटी चियाबगानबाट एकजना गोर्खाल्यान्ड समर्थक कैलाश तामाङलाई पुलिसले पक्राउ गरेको थियो। यसपछि निर्दोष व्यक्तिलाई पुलिसले किन पक्राउ गर्यो भन्दै गोर्खाल्यान्ड समर्थकहरु मिरिक थाना घेराउ गर्न मिरिक बजार इलाकामा भेला भइरहेका थिए।

तर पुलिसले उनीहरुलाई अघि बढ्न नदिएपछि पुलिस र गोर्खाल्यान्ड समर्थकहरुमाझ पनि झड़प शुरू भएको थियो। यसबारे गोजमुमो मिरिक क्षेत्रका नेता एवं पूर्व सभासद फूबी राईसित सोध्दा उनले तृणमूल काङ्ग्रेस समर्थक नवराज तामाङ अनि अन्यले गोजमुमोका युवती समर्थकहरुसित हातपात गर्ने कार्य गरेको फलस्वरूपनै उक्त घट्नाको शुरूआत भएको बताए। उनले भने-गोजमुमो वा गोर्खाल्यान्ड समर्थकहरु सधैं जस्तै जुलूस निकालेपछि आ-आफ्नो घर फर्किरहेका थिए, तर यस समय तृणमूल काङ्ग्रेस समर्थकहरूले नारी मोर्चा समर्थकहरुको शरीरमा हात लगाउने कार्य गरेका थिए।

यसको विरोधमा मैले मिरिक थानामा एक उजुरी पनि दर्ता गरेको थिएँ, तर उल्टा पुलिसले गोजमुमो समर्थक कैलाश तामाङलाईनै पक्राउ गरेको थियो। एक निर्दोष व्यक्तिलाई पुलिसले पक्राउ गरेको विरोधमा गोजमुमो समर्थकहरुले थानामा शान्तिपूर्वक विरोध प्रदर्शन गर्ने कार्यक्रम बनाइरहेका थिए, तर त्यसै समय पुलिसले गोर्खाल्यान्ड समर्थकहरूमाथि टीयर ग्यास छोड़्न थालेको थियो। यसै क्रममा पुलिसको गोली लागेर गोजमुमो समर्थक आशिष तामाङको विभत्स मृत्यु भएको छ। उनले पुलिसलेनै मिरिकमा अशान्ति फैलाउने कार्य गरेको पनि आरोप लगाएका छन्। यसबारे दार्जीलिङ हिल तृणमूल काङ्ग्रेसका अध्यक्ष राजेन मुखियासित सम्पर्क गर्दा उनले यस्तो घट्ना हुनमा गोजमुमोका स्थानीय नेतृत्वहरुकै भूल रहेको आरोप लगाए।

उनले भने-गत केही दिनअघि मिरिकमा गोजमुमोको एक सभा भएको थियो, त्यस सभामा गोजमुमोका नेताहरुले तृणमूल काङ्ग्रेस समर्थकहरुलाई पार्टी छोड़िहाल्ने, नत्र उनीहरुको घर जलाइदिने जस्ता धम्की दिएका थिए। यसरीनै हिजो पनि गोजमुमो नेताहरुले यस्तै धम्की दोहोर्याउने कार्य गरेपछि यस्तो घट्ना भएको हो। उनले भने-हिल तृणमूल काङ्ग्रेसले गोर्खाल्यान्डको यस आन्दोलनलाई कुनै विरोध गरेको छैन। तर पहाड़का तृणमूल काङ्ग्रेस समर्थकहरुमाथि घरिघरि यस्तै दबाव दिने कार्य भइरहेको कारण यस्तो घट्ना भएको हो। जुन घट्नामा परेर गोजमुमोका एक समर्थक घाइते भएका छन् भने तृणमूल काङ्ग्रेस समर्थक पनि घाइते भएका छन्। उनले भने-पहाड़मा रहेका तृणमूल काङ्ग्रेस समर्थकहरुलाई पार्टी छोड़्न लगाउँदा गोर्खाल्यान्ड हुनेछैन।

यसको लागि संसदमा आवाज तीव्र पार्नुपर्छ। यसरीनै यस घट्ना सम्बन्धमा दार्जीलिङका पुलिस अधीक्षक अखिलेश चतुर्वेदीसित सोध्दा उनले हिजो मिरिकमा दुइवटा पार्टीमाझ झड़प हुँदा पुलिसले हस्तक्षेप गर्नपरेको बताउँदै उक्त घट्नामा कतिजनाको मृत्यु भयो, कति घाइते भए भन्नेबारे विस्तृत जानकारी प्राप्त नभएको बताए। उक्त घट्नामा संलग्न रहेको आरोपमा पुलिसले मिरिकका कतिपय नेताहरु विरूद्ध मुद्दा दर्ता गरिएको पनि जानकारी गराए। यस घट्नापछि सम्पूर्ण मिरिक क्षेत्रमानै आतंकको माहौल सृजना भएको छ भने आशिष तामाङको पोस्टमार्टम आज गरिएको पनि जानकारी पाइएको छ। आशिष तामाङको दाहिने छात्तीमा गोली लागेर मृत्यु भएको छ।

यता आज शहीद आशिष तामाङलाई मिरिकमा हजारौ गोर्खाल्याण्ड समर्थकहरूले भावपूर्ण श्रद्धासुमन एवं श्रद्धाञ्जली दिए। श्रद्धाञ्जली ऱ्यालीमा सबैको आँखा रसाएको थियो। उनीहरूले वी वाण्ट गोर्खाल्याण्ड, शहीद आशिष तामाङ अमर रहून जस्ता नाराले मिरिक गुञ्जायमान गरे।

यता तृणमुल युवा सङ्गठन मिरिकका अध्यक्ष सोभन घिसिङले पद र पार्टीको साधारण सदस्यबाट नै राजिनामा दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन