21 जुलाई युवा मोर्चाको आमरण अनशनः नारी मोर्चाको धिक्कार दिवस

दार्जीलिङः गोर्खा जनमुक्ति युवा मोर्चाका कार्यकर्ताहरुले भोलि 21 जुलाईदेखि दार्जीलिङ पहाड़का चारवटा स्थानमा आमरण अनशन शुरू गर्ने भएका छन्। तर युवा मोर्चा कार्यकर्ताहरूले आमरण अनशन दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिकका कुन-कुन स्थानमा शुरू गर्नेछन् भन्ने कुरोलाई अहिले गोप्यनै राखेको छ। तरै पनि युवा मोर्चाको आमरण अनशन निश्‍चित रहेको युवा मोर्चा सूत्रबाट जानकारी पाइएको छ र यसबारे गत केही दिनअघि मात्रै गोजमुमो अध्यक्ष विमल गुरूङले पनि घोषणा गरिसकेका छन्। यति मात्रै होइन, भोलि 21 जुलाईकै अवसर पारेर गोर्खा जनमुक्ति नारी मोर्चाले पहाड़भरि धिक्कार दिवस पनि पालन गर्ने निधो गरेको छ। विशेष गोर्खाल्यान्ड राज्य गठनको मागलाई अझै तीव्र बनाउने अनि राज्य सरकारको दमन नीतिको खुलेर विरोध गर्ने उद्देश्य राखेरनै युवा अनि नारी मोर्चाले आ-आफ्नै कार्यक्रम बनाएका हुन्।

जुन अवसरमा नारी मोर्चाले दार्जीलिङ पहाड़का विभिन्न स्थानहरुमा विरोट जुलूस निकाल्ने तय गरेको छ अनि उक्त जुलूसले शहरको परिक्रमा गरेर एक जनसभाको आयोजना गर्ने पनि निर्णय लिएको छ। नारी मोर्चा केन्द्रिय समिति सदस्य एवं पूर्व नगरपार्षदिका सुषमा राईले यसबारे भनिन्-राज्य सरकारले गोर्खाल्यान्डको संवैधानिक माग दबाउनको लागि पुलिस र सीआरपीएफको प्रयोग गरिरहेको छ। यसका साथै गोर्खाल्यान्ड समर्थकहरुलाई पक्राउ गर्ने, उनीहरुको घरमा छापा मार्ने कार्य पनि गरिरहेको छ भने यसै गोर्खाल्यान्ड आन्दोलनको क्रममा पुलिसले 8 जना गोर्खाल्यान्ड समर्थकहरुलाई गोली ठोकेर मारिसकेको छ। राज्य सरकारकै निर्देशमा पुलिस प्रशासनले यसप्रकारको अनैतिक कार्य गरिरहेको छ।

यसैको विरोधमा 21 जुलाईको दिन नारी मोर्चाले दार्जीलिङ पहाड़भरि धिक्कार दिवस पालन गर्ने निर्णय लिएको हो। जुन दिन राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसको शहीद दिवस कार्यक्रम हो। यसबारे राईले भनिन्-संवैधानिक माग उठाउने गोर्खा समुदायमाथि अन्याय र अत्याचार गर्ने राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसलाई शहीद दिवस पालन गर्ने कुनै अधिकार छैन। गोर्खा जातिले अलग राज्यको माग गर्दा आतंकवादीको संज्ञा दिने राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले देशको संविधान राम्रोसित पढ्न आवश्यक छ। देशभित्रै अलग राज्यको माग उठाउँदा कसरी आतंकवादी हुन्छ? भारतीय संविधानको आधारमानै गोर्खा जातिले वर्षौंदेखि अलग राज्य गोर्खाल्यान्डको माग गर्दै आइरहेको छ।

यसैकारण पनि 21 जुलाईको दिन नारी मोर्चाले राज्य सरकारको विरोधमा धिक्कार दिवस पालन गर्ने निर्णय लिएको हो। स्मरण गराइन्छ, गोर्खाल्यान्ड आन्दोलनको क्रममा दार्जीलिङ पहाड़ बन्द भएको आज 36 दिन पूर्ण भयो, तरै पनि जनतामा गोर्खाल्यान्ड आन्दोलन गर्ने उत्साहमा अलिकति पनि कमी आएको छैन। दैनिक हजारौंको संख्यामा दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक साथै अन्य स्थानहरूमा गोर्खाल्यान्ड समर्थकहरू देशको राष्ट्रिय झण्डा लिएर सड़कमा ओर्लिरहेका छन्। यसैबीच, अब युवा मोर्चाको आमरण अनशन साथै नारी मोर्चाको धिक्कार दिवस कार्यक्रमले अझै यस आन्दोलनलाई कठोर बनाउन सक्ने संकेत पनि देखा परिरहेको छ। यद्यपि, यी कार्यक्रमहरुमा पुलिस प्रशासनको तर्फबाट कुनै बाधा सृजना हुनसक्ने सम्भावना कम्तिनै देखिएको छ।

किनभने, गत 17 जूनको सिंहमारी काण्डपछि दार्जीलिङ पहाड़मा देखिएको जनाक्रोसको कारण पुलिस प्रशासनले पहाड़मा निकालिने दैनिक जुलूसहरूमा बाधा दिने कुनै कार्य गरेको छैन भने 8 जुलाईको दिन दार्जीलिङको मोटर स्ट्यान्ड र पुनः सिंहमारीमा भएको गोलीकाण्डपछि भड़्किएको आन्दोलनपछि शहरका अधिकांश स्थानहरुमा पुलिस बलको तैनाथी शुन्य बराबरनै बनेको छ। गत 7 जुलाईसम्म कैयौं पुलिस बल दार्जीलिङको मोटर स्ट्यान्डमा तैनाथ रहने गरेको थियो, तर 8 जुलाईको घट्नापछि मोटर स्ट्यान्डमा पुलिस बलको तैनाथी बन्द भएको छ। हाल दार्जीलिङ जिल्लापाल कार्यालयको मूलद्वार, शहरका थानाहरुबाहेक अन्य स्थानमा पुलिस बलको तैनाथी देखिएको छैन।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन