चियापीडा

  • शमीक चक्रवर्ती 

गुडगाउँको एक होटेलको मैला भान्साघरमा भाँडा माझ्ने सुनमाया दिदी, भान्साघरमा नै होलिन्। उनी चण्डीगढको त्यो महलअघि भीषण क्रोधसित उभिरहेकी पनि छैनन्। उनलाई सारा चलखेल पनि थाहा छैन। तर चिया टिप्ने सुनमायाले यति टाडो पुगेर माझ्ने भाँडा, कम्पनीको त्यो मालिक र मुख्यमन्त्रीबीच केवल रहस्य मात्र छैन। यस्ता कुराहरू छन्, जो नितान्तै ज्यानमारा छन्।


त्यो शरद ऋतुको कुनै एक बिहान थियो।

पेशोक चियाकमानको सुनमाया दिदीले हरियो पत्ती टिपेर घर चलाउने आशा त्यागिन्। गुरुङगाउँको घर-परिवार-समाज सप्पै छोड़ेर, छातीभित्र गुम्साएको दुःख र हातमा पोकापंन्तरा बोकेर बाटो लागिन् र पुगिन् फुस्रो शहर गुडगाउँ।

उनलाई थाहै छैन, त्यहाँबाट केही घन्टाकै बाटो हिड्दा आउँछ उसको चिया बगान मालिकको घर। घर त होइन, महल! चण्डीगढमा।

त्यो मालिक कहिल्यै पनि बगानमा आएका छैनन्। तर त्यसले कसलाई के फरक पर्छ र?

राज्यसभाको सत्रमा महिला अधिकारको सवालदेखि लिएर श्रम कानुन सुधार, आर्थिक वृद्धि वा देशको सुरक्षा— सबै कुरामा उसको सजिलोसँग पहुँच छ।

कानोवर दीप सिंह उर्फ के. डी. सिंह।

पुँजीको मालिक अनि राजनीतिको नेता, यसलाई बढ़ो सुनौलो संयोग मान्दा हुन्छ। हरियाणाका करोड़पति व्यक्ति, अलकेमिस्ट ग्रुपको बिगबोस्।

बङ्गालकी मुख्यमन्त्रीले ठीकै चिनेकी थिइन्, उनलाई! पहिला झारखण्ड मुक्ति मोर्चाबाट उ राज्यसभा सदस्य भएको बेलामा भूतपूर्व मुख्यमन्त्री बुद्धदेब भट्टचार्यसँग उनलाई देखेर वर्तमान मुख्यमन्त्रीलाई लागेको थियो अरे, यिनी कुनै सज्जन व्यक्ति नै हुन्!

कस्तो रंगीचंगी राजनैतिक केरियर! अनि मुख्यमन्त्रीको मानिस नाप्ने नापदण्ड पनि कस्तो रमाइलो छ त!

एकातिर लाखौं मानिसहरू अलकेमिस्टको जालमा फँसिरहेका छन्, अनि त्यसको मालिक बङ्गालबाट शासकदलको सांसद!

यिनीले दार्जीलिङका तीनवटा चिया बगानलाई चुसेर खोक्रो बनाई मजदुरहरूका ज्याला दिन ठप्प गरेका छन्। तरैपनि उनै प्रसिद्ध उद्योगपति अरे!

ब्लण्डर भएछ भनेर मुख्यमन्त्रीले तब नै बुझिन्, जब पर्दाफास भयो, उनको पार्टीका ठूल्ठूला नेताहरूको घुसखोरीको स्टिङ अपरेशन गराउनलाई यस के डी सिंहले नै पैसा दिएका थिए।

अब आएर त्यो मान्छेलाई मुख्यमन्त्रीले चिनिन् रे।

यद्धपि सिंहको सांसद पद यथावत् नै छ।

उ विरुद्ध पुलिसले केस दिएको छ। तर हामीलाई त थाह छ, केडी झैँ हस्तीहरु सधैँ कानूनको, न्यायपालिकाको पहुँचबाहिर हुन्छन्। यो देश र राज्यमा यही सर्वोपरी यथार्थ छ, जहाँ ठूलाहरू कसैको पकडमा आउनु गणतन्त्रकै हनन् हो।

यसैकारण विजय माल्याहरू देशको पहुँच बाहिर छन्। केडी सिंहहरू राज्यको। तिनीहरूको निम्ति सेफ प्यासेजको कमी छैन।

सधैँ सेफ ह्याण्डमा रहन्छ तिनीहररूको व्यापारको साम्राज्य। त्यो पनि कानुनी-प्रशासनिक-राजनैतिक गद्दीमुनि सुरक्षित।

सुनमाया दिदीहरूलाई यी तमाम गाह्रो कुराहरू के थाहा र? उनीहरूको सपना, पसिना र जीवनमूल्यको व्यापार गर्ने यी ठूला नेताहरूलाई राज्यले नै त संरक्षण गरिरहेको छ।

यता सुनमाया दिदीहरू भने चियाको बोटमा पैसा र जीवन दुइवटै नफुल्ने पक्का भएपछि गाउँबाट नै पलायन भइरहेकी छन्। उनीहरू पलायन हुँदा कहाँ कहाँ गडबडी हुन्छ, जीवन, समाज र परिवारमा कस्तो असर गर्छ र छोराछोरीको भविष्यमा ग्रहण लाग्छ, न राज्यलाई थाहा हुने कुरा भयो न राज्यले संरक्षण गरिरहेको व्यापारीहरूलाई।

ट्राइडेण्ट भन्ने एउटा नयाँ कम्पनीले यी चियाबगानहरूका जिम्मेवारी लिएको छ भन्ने कुरा आयो। मौखिक कुरा। कुनै लेखाजोखा भएको छैन कतैपनि। के यो कम्पनी अर्कै कम्पनी हो? कि बेनाममा त्यही पहिलाकै मालिकको कम्पनी हो?

उत्तर कतै छैन।

हामी साना मानिस हौँ। हाम्रो सपना तुच्छ छ, आशा नगण्य छ। त्यसैले हामी जटिल राजनीतिक समीकरणको रङ्गीचङ्गी हिलोमा बरू नडुबौं।

गुडगाउँको एक होटेलको मैला भान्साघरमा भाँडा माझ्ने सुनमाया दिदी, भान्साघरमा नै होलिन्। उनी चण्डीगढको त्यो महलअघि भीषण क्रोधसित उभिरहेकी पनि छैनन्। उनलाई सारा चलखेल पनि थाहा छैन। तर चिया टिप्ने सुनमायाले यति टाडो पुगेर माझ्ने भाँडा, कम्पनीको त्यो मालिक र मुख्यमन्त्रीबीच केवल रहस्य मात्र छैन। यस्ता कुराहरू छन्, जो नितान्तै ज्यानमारा छन्।

ती कुरा छोडेर हामी बरु फर्कियौं तुङसुङको फ्याक्ट्रीतिर।

पहाडको काँखमा चियाबारीले घेरिएको अँध्यारो र शब्दहीन फ्याक्ट्रीमा अहिले मिसिन चल्दैन। छेउमा रहेको बालासन खोलाको एकोहोरो कलकल आवाज मात्र चलिबस्छ। दिनभरि। रातभरि।

अफिसको खातामा हिसाब लेख्दैगर्दा, पत्ती पेल्ने मिसिनबाट आएको आवाजमा खोलाको सङ्गीत मिसिँदा निक्कै रमाइलो लाग्थ्यो, आशिषलाई।

आशिष लामा।

बगानको अफिसबाउँ। मारवाडी मालिकको बगानमा बङ्गाली अफिसबाऊको पुरानो चिनेको तस्वीर त जम्मै चियाबारी क्षेत्रभरि नै बदलिँदैछ। त्यस हिसाबले आशिष लामा त्यस्तो कुनै अपवाद त होइन।

भर्खरै तीस वर्ष नाघेको आशिष, दार्जीलिङ सरकारी महाविद्यालयको केमिस्ट्री अनर्सको कोर्समा फाइनल ईयरमा पुगे तापनि त्यसलाई पुरा गर्न पाइरहेको थिएन, उसलाई अचानक काममा पस्नुपऱ्यो।

तर काम चाहिँ आजकल छैन।

फ्याक्ट्रीमा थुपारिएको छ, थुप्रै रेडी चियाको काटुन अनि यस अफिसमा जमेको छ धुलो, धुलो अनि धुलो।

कामको मतलब अहिले कहिलेकाहीं कम्प्युटर खोलेर बकाया राशिको हिसाब अपडेट गर्नु र त्यसको प्रिण्ट आउट लिनु। दश करोड़ पुगिसकेको छ बाँकीको हिसाब। कुल तीनवटा बगानको। ज्याला र चिया मजदुरहरूका अरू पाउनुपर्ने सहुलियतको हिसाबले पाउनुपर्ने बाँकी राशि। यो कथा हो—‘दुतेरिया एण्ड कलेजभ्यालीटी इण्डस्ट्रीज प्राइभेट लिमिटेड’-को।

सुनदह काटेर दार्जीलिङतर्फ जाँदा देब्रेतिर पहाड़को ओह्रालो डिलमा एकपछि अर्कोगर्दै आउँछ, दुइवटा बगान। ती दुइ बगानको नाममै कम्पनीको नाम। दुतेरियाकै चल्ती नाम धोत्रे। तेस्रो बगान पेशोक, जो अलिक पर, टिस्टाबजारको बाटोमा पर्छ।

पहिले त यो बगान साह्रै व्यस्त थियो। बगानबाट पत्ती आउँथ्यो। त्यसपछि फ्याक्ट्री प्रोसेसिङ भएर दार्जीलिङको प्रसिद्ध अर्थोडक्स टी पुगिहाल्थ्यो देशविदेशमा।

अफिसको भित्तामा ठूल्ठूला हरफले कोरिएको ‘इस्ट अर वेस्ट, मेक दुतेरिया द बेस्ट’तिर ट्वल्ल परेर हेरिरहन्छ आशिष। हातमा छ बाँकी हिसाबको प्रिण्ट आउट। डीएमलाई बुझाउन पर्छ भोलि बिहान। बिहानको गाड़ी चड़ेर घुमाउरो भत्किएको बाटोमा उकालो गएर पुग्नुपर्छ बजार, अर्थात् दार्जीलिङ शहर। फेरि छ बेलुकी फर्किनु।

नयाँ डीएम। त्यसैले प्रिन्ट कागज बुझाउनैपर्ने छ। बुझाउनै पर्नेछ घटना-तथ्य-आँकडाहरू— सप्पै सप्पै।

दुःख-निराशा-कुण्ठा-आशंकाको आँकडा हुँदैन। भए त त्यो पनि आशिषले बुझाउनेथ्यो! उसलाई त्यही हिसाबकिताबी कागज नै बुझाउनु छ। पहिला पनि कतिपल्ट बुझाएकै थियो। कुनै समाधान निस्किएन।

यसपल्ट केही होला कि?

चिया बगानको जमीन सरकारको हो। कम्पनीहरूले त्यसलाई लीजमा लिन्छ। यसरी नै यी दुइवटा कमान पहिला गुडरिकको हातमा थियो, त्यसपछि टुब्रो, फेरि टुब्रोले नाम फेरेर अलकेमिस्ट भयो। एक दशक अघि। विगतका दुई वर्षदेखि चलिरहेको श्रमिकहरूको ज्यालाबारे निक्कै आनाकानीपछि पोहोरको अगस्टमा सिलगढ़ी जोइण्ट लेबर कमिश्नर अफिसमा त्रिपक्षीय बैठक भयो।

अल्केमिस्टको प्रतिनिधिसँग भुइँफुट्टा ‘ट्राइडेण्ट’-भनिएको कम्पनीको प्रतिनिधि मिस्टर अग्रवाल पनि आए। अबदेखि बगान उनीहरूले नै चलाउने रे। उनीहरूले नै तिर्ने रे अल्केमिस्टको सप्पै बाँकी राशि। १२ किस्तामा।

त्यही पलायो मजदुरहरूका आँखामा आशाको किरण! मालिकहीन बगानको विचल्ली परेका श्रमिकहरूले कमसेकम फेरि कुनै मालिक त पाए! यस्तो मालिक पाए, जसले बगान फेरि चलाउँछ अरे। बगान चलेपछि लथालिङ्ग बगानको जीवन फेरि ठिक हुन्छ अरे, फेरि फर्किन्छ खुशी— श्रमिकसित भएको आशा यही त थियो।

नयाँ मालिकको हातमा बगान हस्तान्तरणको औपचारिकता छोडेर, सबै ठामठिम भयो। किन भने हस्तान्तरणको कुरा प्रशासनिक हो, जुन सम्झौता केवल डीएम अफिसमा मात्रै हुनसक्छ।

हस्तान्तरण त भइहालेको छैन, तर त्यही बैठकदेखि ती अग्रवाल नै हुन् यी तीन बगानका अलिखित मालिक अरे!

उनको इ-मेल आउँछ। तर दुई वटा कम्पनीको नाममा। फोन आउँछ। तर पैसा चाँही त्यति आउँदैन। डीएम अफिसमा डाकिएको बैठकमा पनि आउँदैनन् नयाँ मालिक। केही समयपछि त न मेल आयो, न फोन आयो, न पैसा नै आयो।

श्रमिकहरू फेरि जिल्ल परे। डीएम कार्यालय धाउँदाधाउँदा हत्तु भए। बगान अचल नै छ, पैसा पाएको छैन। बगान खोल्ने न सुरसार छ, न मालिकको अत्तोपत्तो छ।

यता बगान हस्तान्तरण औपचारिकरूपमा भएकै थिएन, उता सरुवा भए डीएम।

त्यसपछि आएको नयाँ डीएमलाई त्यही हिसाबकिताबको फाइल पुऱ्याउन गइरहेको छ आशिष।

पेशोकबाट अनन्तको पनि त्यस्तै काम छ।

अप्रेली रङ्गीन फूलहरू ढकमक्क छन्। लालीगुराँसका राता थुङ्गाहरूले नुहेको छ हाँगाहाँगा। पारिलो घाममा टल्किने कन्चनजङ्घाको ब्याकग्राउण्डमा ती नै फूल हेर्दै बङ्गाली टुरिस्टहरू जुन बाटो भएर गाडी कुदाउँदै लामाहट्टा तिर जान्छन, त्यसकै छेउमा छ पेशोक कमानको सुबे तामाङको घर।

कन्चनजङ्घा होस् वा गुराँस, वा होस् टुरिस्टहरूका विस्मय-उच्छ्वास, त्यसले उनलाई जति छुन्छ, त्योभन्दा धेर बगानका हरिया पत्तीहरूले छुन्छ। किन भने सुबे तामाङलाई थाहा छ, मजदुरहरूका पसिना र रगतको सिँचाईपछि नै यी पत्तीहरू हरिया बनेका हुन्।

नयाँ पत्ती आइसकेको छ, बगानभरि नै। फर्स्ट फ्लश। कति महङ्गो बजार छ यसको। तर हिउँदमा गरिनुपर्ने कामहरू बगानमा केही गरिएकै छैनन्। न स्याहार गरिएको छ, न सुसार। न दबाई पानी भयो न फँडाई। कलमको काम पनि भएको छैन। जङ्गल र बनमाराले छाइसकेको छ जम्मै बगान।

पहिला पनि बाह्र वर्ष बन्द थियो पेशोक चिया बगान। बन्दको बेलामा बगानको सिङ्गो फ्याक्ट्री आँखा अगाडि नै हावामा बिल्लियो। शेडदेखि जग, यहाँसम्मकि मिसिनहरू पनि खोलेर बेचिदिए ककसले। त्यतिखेर कसको पेटमा कति भोक थियो, कोसित कति लोभ थियो, कसको इशारा थियो, कसले आँखा थुनेर बसे? सुबेलाई यी कुरा सोच्दा पनि उथलपुथल हुन्छ।

पहाडे राजनीतिको चक्रव्यूहमा घुमिबस्नुको नतिजा सुबे तामाङलाई थाह छैन। बरु उसलाई थाहा छ— कति दिनको अन्तरालमा एउटै बोटमा नयाँ पत्ती आउँछ। मौसम आर्द्र भएको बेला लोवर डिभिजनमा कति दिन पिछे ठिकैको पत्ती उम्रिन्छ अनि मजाले घाम भेटेको अप्पर डिभिजनमा कति दिन पिछे। चायना बुशमा कति दिन र आसाम बुशमा कत्ति दिन पिछे— त्योपनि सुबे तामाङलाई थाहा छ।

एक दशक अघि जब बगान खोलेको थियो, जोडियो धोत्रे-कालेजभेलीको कम्पनीसित, तब कस्तो खुशीको लहर चल्यो मजदुरहरू माझ! फ्याक्ट्री थिएन त के भयो, गाडीले पुऱ्याइदिन्थ्यो पत्ती धोत्रेको तुङसुङ फ्याक्ट्रीसम्म।

लिफ शेडहरूबाट तुङसुङको फ्याक्ट्रीमा पत्ती आउँथ्यो घिर्लिङमा। त्यसपछि कम्पनीले घिर्लिङ बन्द गऱ्यो। खर्च ज्यादा भयो रे।

चियाबोटहरूको उमेर ५० वा १०० नाघेर जावोस्, तरैपनि बोटको अपरुटिङ भएन। रिप्लान्टेशन भएन। कमानको खाली ठाउँमा इनफिलिङ भएन। सहीप्रकारले पानीको व्यवस्था, दबाई छर्कने काम भएन। व्याङ्क लोनहरू स्याङ्कशन हुन्थ्यो भन्ने हल्ला चल्थ्यो, तर मालिकले बगानको काममा त्यो पैसा पठाउँथेन।

त्यसलेगर्दा बगान विकासको सवालमा म्यानेजर निर्देशहीन, एसिस्टेन्ट म्यानेजर-गार्डेन बाउहरू असहाय अनि मजदुरहरू अँध्यारोमा।

 केवल बगान ‘नोक्सानमा चल्दैछ’ भन्ने हल्ला गुन्जायमान छ चारैतिर। बगान, अफिसदेखि लिएर ज्यालाको बैठक, विश्वविद्यालयको सेमिनारदेखि ऐनसभाको सत्र— सबै ठाउँमा त्यही नोक्सानीकै हल्लाखल्ला!

अचम्भित हुन्छिन् सब्बु। सब्बु भुजेल। बगानको एकजना एसिस्टेन्ट म्यानेजर। बालासन खोलापारि धोत्रेको एकमात्रै डिभिजनको विशाल आलिसान बङ्गलोमा बसेर सब्बु सोच्छिन्, ‘किन चाँहि यो प्रोफेसनमा आएँ? टि म्यानेजमेन्ट कोर्स सकेपछि।’

अहिले बगानमा अँध्यारो घनीभूत हुँदैछ। अनिश्चित भविष्यले सवाल खडा गर्दैछ उनको केरियर अघि।

‘अब त जुनैपनि मालिक आउन्, ठुलो मुटु लिएर आउनुपर्छ। रातारात लाभ उठाउने लक्ष्य लिएर आउँदा हुँदैन,’— मनमनमा भन्छिन् सब्बु। आशाको किरणलाई उम्मिद गर्दै।

पहिले पहिले मिठाई बाँडिन्थ्यो फर्स्ट फ्लशको बेलामा। त्यहाँदेखि नै शुरु हुन्थ्यो वर्षभरिको व्यस्तता। त्यसपछि सेकेन्ड फ्लश, बर्खाको टिपाइ, अटम फ्लश नाघेर आउँथ्यो हिउँदोको रित्तोपन।

अहिले त जम्मै वर्षनै रित्तो छ।

अहिले त्यही रित्तोपन च्यातचुत पारेर ‘रित्तो थाल’ जुलुसमा दह्रिलो आवाजसित हिडेका छन् यी तीन बगानका मजदुरहरू। पहाडकी रानी दार्जीलिङको अस्तव्यस्त बाटाहरूमा। तिनीहरू ढकढकाइ रहेछन् प्रशासनिक दफ्तर, श्रम अफिस, कोर्टको ढोका। घरि पहाडबाट कुद्दै झरेर भेला हुन्छन् सिलगढी कलेज छेउ श्रमबिभाग अफिस बाहिर। घरि टोलीसँग ट्रेन चढेर पुग्छन् कलकत्ता, श्रममन्त्री सामु।

यद्धपि उनीहरूले केही पाइरहेका छैनन्। पाएका छन् भने आश्वासन मात्रै पाएका छन्। उनीहरू ‘हेर्छु-गर्छु’ मात्र सुनेर फेरि फर्किएर जाने ठाउँ त त्यही अचल बगानको दिनदिनै झन् खाली, झन् शुन्य, झन् रित्तो हुँदै गरेको, कुइरोले घेरिएका बगानका घरहरू।

बढ्दै गइरहेको अभाव, नानीहरूको पढाई लिएर अनिश्चितता, भविष्य लिएर दुश्चिन्ता, एक टुक्रा आँगनमा दुई-चारवटा पौधा, बेलुकी सस्तो जाँड अनि अशान्ति सधैँको साथी हुन् त्यहाँ।

बेलाबेला बगानमा कोही न कोही पुग्छन्। कि त मेडिकल क्याम्प लिएर। कि त राहत शिविर। अथवा कि त लाभदायक प्रस्ताव लिएर कुनै एनजीओ। कि त कुनै सरकारी स्कीम, अथवा कुनै बाटो बनाउने टेण्डर।

यस्ता बेलामा चासो देखाउनेहरू मध्ये कतिजना पार्टीको लागि खट्ने युवाहरू हुन्छन्। चाहे शासक पार्टीको होस् वा उनीहरूकै विरोधी। यिनीहरूले पार्टीमा पद, गोजीमा पैसा, यहाँसम्म कि आउने चुनावमा उठ्ने सपना सजाउँछन्!

नयाँ मालिक आउने कुरा फैलिने साथ पर्दापछाडि जुन हिस्साको हिसाब चल्छ, त्यसमा न त उसले केही पाउँछ, न त उसलाई पत्तो नै दिइन्छ।

ट्राइडेन्ट कम्पनीका मालिक अग्रवालले सेटिङ गरेका छन् रे, पहाडको शासकदलको नेताहरूसँग। यस्तो हल्ला छ। त्यसै हो भने पनि बगानका यी युवाहरूले त्यसको कुनै अंश हिस्सा पाउँछन् त? उसलाई यस्तो चलखेल बेको पनि पत्तो छैन।

खेल त सधैँ माथि नै हुन्छ। माथिको लेभेलमा। माथिको पहाडमा!

यो खेल बगान मजदुरहरूको खेल होइन।

मजदुरहरूले त बगानलाई बँचाउन पर्छ। आफुलाई बँचाउन पर्छ। यहाँका मानिसहरूलाई बँचाउन पर्छ। नानीहरूको भविष्य बँचाउनुपर्छ।

तर खेलको नियमकानुन पहिल्यैदेखि तय छ।

चण्डीगढ बस्ने महल मालिक। विदेशी कलेजबाट डक्टरेट डिग्रीवाला धनी मानिस। उनी चाँही किन कहिल्यै बगानमा नआए तापनि केवल पुँजीको ताकतले उ तीन-तीनवटा बगानका मालिक। हजारौं मानिसहरूका भाग्यनियन्त्रक। जो गरीबभन्दा गरीब मानिसहरूका सानो बचत पनि चोर्ने चिटफन्डमा घोटाला गरेर पनि मजाले खुल्ला घुमिरहेछन्।

यो नै यस खेलको नियम हो! मालिकहरू, जसले कानुनको पन्नामा लेखिएको मजदुर अधिकारको कुरा जम्मै खोसिरहेका छन्, तरै पनि राज्यको, देशको कानूनले उनीहरूलाई छुँदैन। उनीहरूलाई पक्राउ गर्नु मानौँ ठूलो अपराध हो।

सन १९४८मा मिनिमम वेज एक्ट लेखेतापनि यहाँका चिया श्रमिकहरूको लागि त्यो लागु नहुने इतिहास चाँही भारतवर्षको स्वतन्त्रता जस्तै पुरानो र मामुली भइसकेको छ। यो मालिकहरूको राज्य हो, श्रमिकहरूको होइन! यी कानून मालिकहरूको लागि हुन्, श्रमिकहरूको लागि होइनन्! जो अपराधी हुन्, शोषक हुन्, उनीहरूकै निजि सम्पत्ति रक्षा गर्न किन सधैँ तत्पर छ देशको पुलिस-प्रशासन-कानुन-संविधान?

के डी सिंहको घर अथवा अचेल सुनमाया दिदीको बसाई जुन हरियाणामा, त्यहाँ नै मारुती कारखानाका मजदुरहरूले न्यायिक र संवैधानिक अधिकारहरुको निम्ति सङ्घर्ष गरे। तर उनीहरूलाई नै झुटो केसमा फँसाएर पहिला जेल र त्यसपछि उम्रकैदको सजाय सुनायो अदालतले।

मारुतीको सीइओ, सरकारी पीपी अनि न्यायाधीशहरूले जम्मै विचार प्रक्रियाको विभिन्न समयमा जुन जुन पनि बयान दिए, त्यसको निचोड थियो कि यो एक वर्ग युद्ध हो! यसो भएकोले श्रमिकहरूलाई छुट दिँदा विकासको शिकारमा निस्किएका लगानीकर्ता वा पुँजीका मालिकहरूमा गलत सन्देश जान्छ अरे!

त्यसो हो भने खटीखाने मानिसहरूमा कुन सन्देश जाँदैछ त? त्यसलाई लिएर त कसैको कुनै पर्वाह देखिएन। जब कि खटिखाने मानिसहरुका सङ्ख्या नै अधिकतम छ। उनीहरूको प्रतिक्रियालाई लिएर किन कुनै पर्वाह नै छैन?

किन भने व्यवस्थाभित्र नै लुकेको छ धनी मानिसहरूको यस वेपर्वाहको रहस्य। पुलिस-प्रशासन-नोकरशाही-सरकार-ऐन-संविधानको घेराबन्दीमा सुरक्षित छ पुँजीको मालिक र उसको पुँजीको धड्कनको लय।

यी सप्पै कुरा सोच्दा रिङ्गटा लाग्छ धोत्रेको मनिनारायण प्रधान वा पेशोकको हर्कमान तामाङहरूलाई। आफूभित्र आत्मबिश्वास ल्याउन प्रतिज्ञा लिन्छन् उनीहरू। यो बगान वा बगानको फ्याक्ट्री तिनीहरू आफै चलाउन सक्छन् भन्ने विश्वास उनीहरू दुवैलाई आफ्नै उमेरका बुढा चियाबोटका जराझैँ गहिरो छ।

—‘सक्नुहुन्छ?’

—‘आपस्तमा झगडा हुँदैन?’

—‘फ्याक्ट्री चलाउने खर्छ जुटाउन साह्रो पो छ त!’

—‘मार्केटिङ कसरी गर्नुहुन्छ?’

अफसरहरूका प्रश्नभित्र लुकेको हुन्छ अवहेलना र व्यङ्ग्यहरू!

—‘सक्छौं! अनुमति दिनुहोस् न हामीलाई!’

यतिमात्रै उच्चारण गर्छन् दुवै।

जो पुँजीको जोरले मात्रै मालिक बनेको छ, उसको हजारौं निकम्मापनको बावजुद पनि अफसरहरू मालिकतिरै ढल्किएका हुन्छन्।

—‘सक्नुहुन्छ?’ भन्ने प्रश्न आउँदैन तिनीहरूको लागि! तर यथार्थ त यही हो कि तिनीहरूले सकिरहेका छैनन्!

फेरि त्यसको ठाउँमा रातारात आइरहन्छन् नयाँ नयाँ मालिक। उनीहरूसित न त बगान चलाउने कुनै योग्यता हुन्छ न त अनुभव। उनीहरू मालिक बन्छन् त केवल पुँजीको बलले।

फर्स्ट फ्लशको हरियो पत्ती टिपेर बेच्दा मजदुरहरूले पनि केही पाउँछन् त। बगानको हेरचाह, स्यारसुसार पनि हुन्छ। फ्याक्ट्री चलाउन गाह्रो पनि हुँदैन। बगानको पत्ती, छेउको खोलाबाट निकालिने बिजुली, सबैप्रकारका काम थाहा हुने मजदुरहरू— सबै छन्। तर जब नै उनीहरूले आफ्नो सक्षमताबारे केही बोल्छन् तब यस्ता कत्ति हो कत्ति औपचारिक टालटुलहरू देखापर्दछन्। यद्यपि यी मजदुरहरूले आज बगान र फ्याक्ट्री आफ्नै हातमा चलाउने बाटो पनि सोचिरहेका छन्।

त्यसो हो भने, के तिनीहरू एक्लै छन् त?

चिया क्षेत्रका विभिन्न ठाउँमा वर्कर्स कोओपरेटिभका सम्भाव्यताबारे पनि निरन्तर कुरा चलिबस्छ।

सिलगढीको लेबर अफिसमा भेट भयो दिनाजपुरबाट आएका डङ्कन्स अधीनस्थ गोयालगछ बगानका श्रमिक-कर्मचारीहरूसित। धेरै वर्ष अघि बगान बनाउन आफ्नै जमीन दिएका थिए उनीहरूले। तर आज त्यही बगानको मालिक नै लापता छ। तीन वर्ष हुनआँट्यो, सबै ठप्प छ। फ्याक्ट्री श्रमिकहरूले नै चलाउन चाहान्छन्। उनीहरूसित त्यो सक्षमता पनि छ। तर…

यो ‘तर’ भन्ने शब्द आउँदै गर्छ आवर्ती दशमलव गणितझैं। चलिरहेको खोक्रो सिस्टमको निरस ओठको कुनाबाट!

ठिक छ, कि त पुरानै मालिकले सुचारुरुपमा चलाउन् अथवा अन्य कुनै नयाँ मालिक नै आउन्। कि त सरकारले आफ्नै हातमा लिएर चलाउन् बगान र फ्याक्ट्री।

कुनै उत्तर छैन टेबुलको अर्कोपट्टिबाट!

अन्त यस्तो सम्भावना नै जब देखिन्न तब किन मजदुरहरूलाई चलाउन अनुमति नदिने?

जब पनि यो अन्तिम प्रश्न गरिन्छ, तब अकस्मात सशरीर, सपार्षद, सम्मान रक्षा गर्न टुप्लुक्क आइपुगिहाल्छन् सुसज्जित सहस्र अशोकस्तम्भ!

अचम्भित हुनबाहेक हामीसित कुनै विकल्प नै रहन्न।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया