नरबहादुर भण्डारी भाषा अनि गोर्खाल्याण्ड सम्बन्धमा के सोच्दथे?

Girl in a jacket

 

बी० पी० बजगाईं


सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व० नरबहादुर भण्डारी राजनेता मात्र नभएर उनी एक दूरदर्शी राजनीतिज्ञ हुनुहुन्थ्यो। व्यक्तिबाट माथि उठेर स्वयंमा एउटा संस्थान बनिसकेका भण्डारी भारतमा गोर्खा वासभूमिको निम्ति सदैव चिन्तित रहनु हुन्थ्यो। राष्ट्रिय अनि अन्तर्राष्ट्रिय कुटनीतिलाई बुझ्नसक्ने अनि त्यसै अनुरूप बोल्नसक्ने भण्डारीको मृत्युले भारतीय नेपालीभाषीहरू माझ एउटा ठूलो राजनैतिक शुन्यता जन्माएको छ। यस शुन्यतालाई पुरा गर्न सम्भवत: हामीले एउटा युग नै पर्खिनुपर्नेछ।

उहाँले केवल मुखले अनि कागजमा मात्र सहयोग नगरेर १९८६ को गोर्खाल्याण्ड आन्दोलनलाई व्यवहारिकरुपमा नै सहयोग गरेको हामी सबैले देखेकै हौँ। त्यसताक ४० दिनको बन्दमा भण्डारीको ईच्छामा सिक्किमले दार्जीलिङ तर्फका हजारौं जनतालाई राशिन  अनि पाकेको खाना समेत उपलब्ध गराएको थियो। स्व० सुवास घिसिङलाई बुलेटप्रूफ ज्याकेटदेखि दिल्लीको राजनैतिक गल्लीहरूको सम्पर्कमा उहाँको योगदान अविष्मरणीय रहनेछ। ८६ को आन्दोलनकालमा एकपटक घिसिङलाई दिल्ली जानु थिएछ, सिलगडी झरौं भने बङ्गाल सरकारले पक्राउ गर्ने डर थियो। यसबारेमा घिसिङले भण्डारीलाई अवगत गराउनुभएछ। भण्डारीले आर्मीसँग अनुरोध गरेर लेबुंग मैदानमा सिक्किमको पवनहंस हेलिकप्टर पठाउनु भएछ र दार्जीलिङको लेबुङबाट घिसिङलाई लिएर उक्त हेलिकप्टर पटनामा ल्याण्ड गराएको कुरा एकदिन गुवाहाटीको सर्किट हाउसमा बास बस्दा मलाई सुनाउनु भएको थियो। मेरा मानसपटमा यस्ता धेरै जानकारीहरू उहाँको निधनपछि निरन्तर घुमिरहेछन्।

गोर्खाल्याण्ड आन्दोलन उहाँको निम्ति एउटा यस्तो सपना थियो जो विपना बनेको देख्ने इच्छासँगै उहाँको निधन भयो। उहाँ भन्नुहुन्थ्यो, आन्दोलनमा नेतृत्वमा इमान्दारिता चाहिन्छ। भारतको भूतपूर्व प्रधानमन्त्री स्व० राजीव गान्धीले घिसिङको आन्दोलनको अन्ततिर भण्डारीलाई दिल्ली बोलाएर युनियन टेरिटोरी दिने मन बनाइसकेको बताउनुभएको थियो, तर दुर्भाग्यवश उहाँ केही दिनको निम्ति उपचारमा लन्दन जाँदा यता गृहमन्त्री बुटा सिंह अनि इन्द्रजित खुल्लरको कुटनैतिक सम्पर्कले दार्जीलिङ गोर्खा पार्वत्य परिषद थापेको उहाँले लन्दनमा नै थाहा पाउँदा मर्माहत बनेको तीतो यथार्थ सुनाउनुहुन्थ्यो।

सर्वविदित छ, नरबहादुर भण्डारीको गत १६ जुलाईको दिन देहवसान भयो। यसको ठीक पन्द्रह दिन अघि १ जुलाईको दिन मलाई फोन गरेर लगभग ३४ मिनट बातचित गर्नुभयो। यसै पनि उहाँ मसँग लगातार नै बातचित गर्नुहुन्थ्यो। त्यही १ जुलाईको ३४ मिनट भएको बातचित अनि उनीसँग मैले सँगै बिताएका धेरै वर्षको अवधीमा गरिएका कुराकानीबाट टिपन-टापन गरिएका नेपाली भाषा अनि गोर्खाल्याण्ड सन्दर्भमा आएका उहाँका सुझाउ तथा प्रश्नहरूका केही बुँदाहरू यहाँ बुँदागत राख्दैछु:

दुईवटा बुँदा भाषा सन्दर्भमा:

  • अहिले मेरो उपचार चल्दैछ। छिट्टै निको भएर फर्किनेछु। बङ्गालमा भाषाको बारेमा उठेको समस्या थाहा भयो, हामीले हाम्रो भाषामा अतिक्रमण हुनसक्ने वातावरण आफैले बनाएका हौँ। सबैले एकजुट भएर भाषाको सुरक्षामा बोल्नुपर्छ। म पनि जाति भएर आएर लेख्नुपर्ने ठाउँमा लेखौंला। आएर सल्लाह गर्छु।
  • भारतमा नेपाली भाषा इतिहासको पानाभित्र २० जून १९९० मा गान्तोकमा भारतीय नेपाली राष्ट्रिय परिषद् (भानेराप) गठन भएको थियो अनि मलाई राष्ट्रिय अध्यक्ष पनि बनाउनु भएको थियो। त्यससमय भारतीय नेपाली राष्ट्रिय परिषद्को मिनट बुकमा यसको कार्य केवल नेपाली भाषालाई मान्यता दिलाउने जिम्मेवारीको रूपमा मात्र थियो। यसको सुरक्षा र सम्वर्द्धन गर्ने जिम्मेवारी अखिल भारतीय नेपाली भाषा समितिले लिएको थियो। म जान्न चाहन्छु,  आज अखिल भारतीय नेपाली भाषा समिति कहाँ छ अनि के गर्दैछ?

भारतमा नेपाली भाषाको उत्थान भएको केन्द्रमा यो समिति किन केन्द्रित छैन? दार्जीलिङले भाषाप्रति दिएको योगदान आज किन विलुप्तिको दिशामा जाँदैछ? २५ देखि ३० लाख नेपाली जनसंख्या भएको आसाम अनि भाषाको निम्ति भगीरथ प्रयास गर्ने दार्जीलिङमा यो समिति किन रहन सकेन? यसबाहेक भारतमा सबैभन्दा बढ़ी नेपाली जनसंख्या भएको राज्य आसाममा भारतीय संविधानभित्र मान्यता प्राप्त नेपाली भाषा नेपाली वहुल क्षेत्रहरूमा पढ़ाइनुपर्छ भनेर समितिले आवाज उठाएको छ कि छैन?

दशवटा बुँदा गोर्खाल्याण्ड सन्दर्भमा:

  • गोर्खाल्याण्ड सन्दर्भमा समस्त गोर्खा नेताहरू एक भएर ‘एउटा मञ्च – एउटै स्वर’ बनाउनुपर्छ।
  • आन्दोलनले बुद्धिजीवीहरूलाई अघि लगाउने काम गर्नुपर्छ। भाषाको आन्दोलन बलले लड्दा सफल भएनौं, पछि बुद्धिले लड्दा सफल भयौं।
  • अधिकभन्दा अधिक सांसदहरूको लिखित सहयोग बटुल्नुपर्छ। यस काममा निको भएर आएपछि म पनि सघाउँछु।
  • सिक्किम विधानसभाको गोर्खाल्याण्डको प्रस्तावलाई सिक्किमले गोर्खाल्याण्ड आन्दोलनका नेताहरूसँगै दिल्ली गएर सबैको अघि गृहमन्त्रीलाई सुम्पिनुपर्छ। यस्तै प्रस्ताव उत्तराखण्ड विधानसभाबाट पनि निकाल्ने प्रयास गर्नुपर्छ। किनभने त्यहाँ गोर्खाहरू भोटिङ फ्याक्टर हुन्। यसले केन्द्रलाई बङ्गालले नचाहेपनि सर्वभारतीय स्तरमा गोर्खाको समस्याको रूपमा आन्दोलनलाई चिन्हित गरेर केन्द्रलाई बील ल्याउन सहयोग मिल्छ।
  • हाम्रो जातिमा शिक्षाको कमीले एउटा समस्या छ। त्यो के हो भने हाम्राहरू देशभित्रै एउटा राज्यदेखि अर्को राज्य सम्पूर्ण परिवारसँगै बसाई सरिरहन्छन्। यसले गर्दा पनि परिचय, चिन्हारी अनि वासभूमिको समस्या उत्पन्न हुन्छ। अब हामीले कुनैपनि स्थानमा किलो गाडेर बस्न सिक्नुपर्छ। किनभने एउटा राज्यदेखि अर्को राज्यमा बसाई सर्दा बसाई सरेको स्थानमा उनीहरू नयाँ बन्दछन् अनि शिक्षाको कमीको कारण अथवा शिक्षित भएर पनि कानुनी कुराहरूलाई ध्यानमा नराखेको कारण बसाई सरेर पुरानो स्थानको कागज-पत्रहरू कानुनी रूपले नसार्दा समस्या गहिरिएर गएका हुन्छन्।
  • यदी हाम्राहरू कसैले अशिक्षा तथा लालचको कारणले नेपालसँग दोहोरो नागरिकता राखेकाछन् भने त्यो हाम्रो चिन्हारीको आन्दोलनको निम्ति खतरनाक हुन्छ। त्यस्तालाई चिन्हित गरेर सम्झाउने अनि यस्ता समस्यालाई निर्मूल पार्ने कार्य पनि हामीबाट नै इमान्दारिता पूर्वक निर्वाह गरिनुपर्छ।
  • हाम्रो जाति टुक्रा-टुक्रा जातमा राजनैतिक रूपमा विभाजित हुँदै गएकोले हाम्रो सिङ्गो जातीय संस्कृति खण्डित रूपमा उभिनपुगेको छ। हामी सांस्कृतिक रूपमा सिङ्गो हुनसक्यौं भने यसले राज्य निर्माणको बाटोमा एउटा एकाईको काम गर्छ।
  • गोर्खाल्याण्ड आन्दोलनलाई अहम् अनि गङ्गटे प्रवृत्तिले बिथोल्दै छ।
  • सिक्किमका नेपालीभाषीलाई सिक्किमे नेपाली नै भनिदिनु, गोर्खा नभनिदिनु। किनभने सिक्किम भारतमा विलय हुँदा त्रिपक्षीय सम्झौतामा सिक्किमे नेपालीको सुरक्षाको ग्यारेण्टी दिइएको छ, सिक्किमे गोर्खाको होइन। सिक्किमे नेपालीलाई गोर्खा भनिए मेरो जनताको सम्वैधानिक सुरक्षा स्वतः खारेज हुन्छ। यसैले म मेरो जनताको सुरक्षाको ग्यारेण्टी गुमेको देख्न चाहँदिन।
  • भारतमा हामी सिक्किमे नेपाली र अन्य राज्यमा भएका नेपालीभाषी गोर्खा एकै जाति भए तापनि सिक्किम पछिबाट सशर्त भारतमा विलय भएकोले अन्य राज्यका नेपालीभाषीभन्दा अलग राजनैतिक पहिचान बोकेर सिक्किमे नेपालीभाषी भारतमा हकिलो भएर बसेकाछन्। यसैले पनि भारतमा छरिएका आफ्नो जातिको सुरक्षाको निम्ति सिक्किमले ठूलो भूमिका निभाउनु परम कर्तव्य हो।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया