86 का ती दिनहरू

४० दिनको बन्द १० फरवरी १९८८ का दिनदेखि सुरु भएको हो। ४० दिने बन्द सुरु भएको ठिक हप्तादिनपछि डम्बर चौक नजिक आगलागीको घट्ना भएको थियो। त्यसबेला मेरो दाजु तत्काल मानिसहरूलाई सहयोग गर्न निस्केका थिए। त्यहीँ समय अचानक सीआरपीले चलाएको दुईवटा बुलेटले लागेर मेरा दाजु सहिद बनेका हुन्।

त्यसबेला स्थिति साह्रै खतराजनक थियो। बाहिर निस्कन गाह्रो पर्थ्यो। आर.के हाण्डा सीआरपी लिएर बजारमा पेट्रोलिङ गर्न निस्कन्थे। सडकमा दिउँसै गोली चल्थ्यो। त्यसबेलाको बन्द हेरेर अहिलेको बन्दमा पनि धेरै शान्ति छ।

-एम. घिसिङ


४० दिनको बन्दमा पनि सीआरपी लगाएर त्यसबेलाका आर.के हाण्डाले दोकानहरू सबै खोल्न लगाउँथे। दोकान नखोले ताला नै तोडिदिन्थे। यता सीआरपीले दोकान खोलेर जान्थे अनि पछि आन्दोलनकारी आएर किन दोकान खोलेको भन्दै पुन: दोकान बन्द गर्न लगाउँथे।

व्यापारीवर्गलाई सुरक्षाबल र आन्दोलनकारी दुवैबाट डर थियो। गोली पड्कन सामान्य थियो। आन्दोलन हिंस्रक भएको कारण सीआरपीले आन्दोलनकारीलाई सोझै गोलि ठोक्थे। त्यसबेला धेरैको ज्यान गयो। सीआरपीएफ र आन्दोलनकारी माझ बारम्बार झडप हुन्थ्यो।

त्यसबेलाको आन्दोलन एकदमै उग्र थियो। उग्र आन्दोलन भएको कारण यता आन्दोलनकारीले पनि गोलि चलाउँथे उता सीआरपीले पनि गोलि चालाउँथे। अहिले त बन्दको समयमा पनि मानिसहरूले पहिलेका जस्ता दु:ख पाएका छैनन्।

सौदा पात कम-से कम दोकानहरूबाट पाइरहेका छन्। आन्दोलनकारी भोकै छैनन्। बन्दको समयमा यता आन्दोलनलाई अघि बडाउँन शहरमा नै एक समयको खाना खानु सौभाग्य हो। त्यसबेला त खानाको समेत धैरै नै समस्या थियो।

-सञ्जय अग्रवाल


स्व. सुवास घिसिङले थालेको गोर्खाल्याण्डको आन्दोलनले सबैलाई भावानात्मक सम्बन्ध जगाएको कारण सबैजना आन्दोलनमा सक्रिय बनेर ओर्लिएका थिए। आज जसरी सडकमा बन्दको समयमा मानिसहरूले जुलुस गर्छन् त्यसबेला जुलुसमा अहिलेको जस्तो निस्कन गाह्रो थियो। सडकमा सीआरपीको रग-रगी हुन्थ्यो। गोर्खाल्याण्ड भोलेन्टियर सेल (जीभीसी) का कार्यकर्ताहरू निस्कन्थे। सीआरपी र जीभीसी भेट भए सोझै गोलिबारी चल्थ्यो। अहिलेको ४० दिने बन्द भन्दा त्यसबेलाको ४० दिने बन्द साँच्चै भयानक थियो। पहिलेको आन्दोलनमा यातायातको भनेजस्तो सुविधा थिएन। मानिसहरू पैदल हिँडेर सिक्किमको मल्ली पुग्थे। त्यसबेला तत्कालिन सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीले यताको गोर्खाल्याण्ड आन्दोलनलाई धेरै सहयोग गरेका छन्। बङ्गाल सिक्किमको सिमा मल्लीमा राशन पानीको व्यवस्था हुन्थ्यो। यताबाट पैदल गएका मानिसहरूले मल्लीबाट राशन लिएर आउने गर्थ्यो। अहिलेको यतिका लामो बन्दमा पनि मानिसहरू अनुमति लिई वाहन लिएर बाहिर जान सक्ने सुविधा छ। पहिला त्यस्तो सुविधा थिएन।

-बीरधोज मगर


सुवास घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चलाउँदा म १४ वर्षको उमेरमा जीभीसीमा भर्ना भएँ। त्यसबेला कक्षा ९ मा पढ्दै थिएँ। जीभीसीमा लागेपछि १० दिनको ट्रेनिङ भयो। त्यस ट्रेनिङ पछि हामी आन्दोलनमा सक्रिय बनेर निस्केका हौँ। माटोको आन्दोलनमा मर्नका निम्ति त्यसबेला कुनै डर थिएन। हामीलाई केवल गोर्खाल्याण्ड चाहिको छ भनेर आन्दोलन लडेका थियौँ। तर हामीलाई त्यस आन्दोलनको कस्तो परिणति हुनेछ भन्ने चाहीँ थाह थिएन। त्यसबेला आन्दोलन हिंस्रक थियो भने आजको आन्दोलन शान्तिपूर्ण छ। आज मेरो उमेर ४५ वर्ष पुग्यो अनि आज पनि हामी गोर्खाल्याण्डै आन्दोलन गर्दैछौँ। तर अहिलेको आन्दोलन हिंस्रक नभएर शान्तिपूर्ण र वौद्धिक आन्दोलन छ। आन्दोलन गर्नेहरू अहिले सचेत बनेका छन्। हामी यस वौद्धिक आन्दोलनबाट निश्चित सकारात्मक टुङ्गोमा पुग्ने विश्वास गर्छौँ।

-महेन्द्र गुरूङ


सुवास घिसिङले चलाएको गोर्खाल्याण्ड आन्दोलनमा त्यसबेला म गोरानामो उपाध्यक्ष थिएँ। हामी नारीहरू पनि कम्मरमा खुकुरी बोकेर हिँड्थ्यौँ। माटोको निम्ति मर्न र मार्न डर थिएन। त्यहीँ आन्दोलनको क्रममा कालेबुङमा २७ जुलाईमा चलेको गोलिबारीमा मेरो खुट्टामा लागेको सीआरपीको गोलि अझै यहीँ छ। डाक्टरले निकाल्न नसकेपछि बुलेटनै बोकेर बाँचेकी छु। २७ जुलाईपछि पहाडमा चलेको ४० दिनको बन्द अवधी एकदिन पुलिसले कतिपय विद्यार्थीहरूलाई पक्राऊ गरेपछि हामी विद्यार्थीहरूलाई छुटाउनका निम्ति थानामा गएका थियौँ। एकजना सीआरपीएफका जवान आफ्ना साथीहरूसँग छुटेको अवस्थामा भेट्दा खुकुरीले काट्ने मौका पाएर पनि छोडिदिएको थिएँ। सीआरपीलाई काट्ने मौका पाएका थियौँ। जोस पनि थियो। त्यसबेला आफ्ना साथीहरूबाट छुटेका सीआरपीका जवानले हात जोडेर नै जीवनको भीख मागे। त्यो दृष्य साँच्चै दयनीय थियो। यतिसाह्रो दयनीय बनेर जीवनको भिख मागेपछि उनलाई हामीले काटेनौँ। हामीलाई आन्दोलनमा सक्रिय बनेको कारण एकाधिक मुद्दाहरू पुलिसले लगायो। कतिपय मुद्दाहरूमा अझै पनि वारन्ट आउने गर्छ। त्यसबेलाको स्थिति हेरेर अहिले धेरै शान्ति छ। त्यतिबेलाको जस्तो सीआरपीएफले छापा मार्ने कार्य अहिले  गरेको छैन।  भनौ पुलिसको कार्यवाही शुन्यप्राय छ। आन्दोलनकारीलाई पक्राऊ गर्न आउने सीआरपीएफले त्यसबेला धेरै डकैती गरेको हो। आज त्यस्तो परिस्थिति छैन।

-भक्त थापा


प्रस्तुतिः डीके बाइबा

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन