15 हजार विद्यार्थीको भविष्यमा नेटबन्दीको कालो बादल

दार्जीलिङः दार्जीलिङ पहाड़का आईसीएसई स्कूलमा अध्ययनरत 15,000 भन्दा अधिक विद्यार्थीको भविष्यमा नेटबन्दीको कालो बादल मँड़राउन थालेको छ। यदि आगामी 31 जुलाईसम्म पनि इन्टरनेट सेवा सुचारू हुन नसके अनि यी विद्यार्थीहरुले आईसीएसई र आईएसई परीक्षाको लागि रेजिस्ट्रेशन फारम भर्न नसके 2019-मा उनीहरुले परीक्षा दिन नसक्ने सम्भावना बढ्दै गइरहेको छ। यसै विषयलाई ध्यानमा राखेर आज दार्जीलिङको संयुक्त शिक्षक समूहले दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तसित भेट गरी शीघ्र इन्टरनेट सेवा चालु गराउन ठोस पहल गर्ने अपील गरेको छ।

यसबारे संयुक्त शिक्षक समूहको पक्षबाट बोल्दै अमित थापाले भने-वर्ष 2019-को आईसीएसई र आईएसई परीक्षामा बस्ने वा हाल नवौं र एघारौं श्रेणीमा अध्ययनरत विद्यार्थीहरुले आगामी 31 जुलाईभित्र रेजिस्ट्रेशन फारम भर्नुपर्नेछ, जुन रेजिस्ट्रेशन फारम अनलाइनमार्फत भर्न पर्नेछ। तर दार्जीलिङमा गत एक महीनाभन्दा अधिक समयदेखि इन्टरनेट सेवा ठप्प भएको कारण विद्यार्थीहरुले अहिलेसम्म पनि आफ्नो रेजिस्ट्रेशन फारम भर्न सकेका छैनन्। अब यो फारम भर्ने मियाद केवल 7 दिन मात्रै बाँकी छ, यदि उनीहरुले यस अवधिभित्र पनि रेजिस्ट्रेशन फारम भर्न नसके उनीहरु वर्ष 2019-मा हुने परीक्षामा बस्न पाउने छैनन्।

यसैले यी विद्यार्थीहरुको भविष्यलाई ध्यानमा राखेर पनि जिल्ला प्रशासनले पहाड़मा इन्टरनेट सेवा शीघ्र शुरू गर्ने पहल गरिदिनुपर्छ। यसबारे जिल्लापाल दासगुप्तले पनि सकारात्मक आश्वासन दिएको जानकारी गराउँदै थापाले भने-जिल्लापालले आफ्ना उच्च अधिकारीसमक्ष यस विषयलाई राख्ने बताएकी छन्। जिल्लापालले भनिन्-यस विषयलाई दार्जीलिङका जनताले बुझ्न अनि अघि आउन आवश्यक छ। किनभने, यो उनीहरुकै नानीहरुको भविष्यको कुरा हो। अब विद्यार्थीहरुको लागि शिक्षकगण स्कूल जाँदा उनीहरुलाई हिर्काउने वा धम्काउने कार्य हुन्छ भने त्यसमाथि केही भन्न सकिन्दैन।

यसैबीच, थापाले जानकारी गराएअनुसार, हाल दार्जीलिङ पहाड़मा 50 वटाभन्दा अधिक आईसीएसई स्कूलहरु छन्, जसमा हाल नवौं र एघारौं श्रेणीमा 15,000 भन्दा अधिक विद्यार्थीहरु छन्। उनले भने-हाल दाजीलिङ पहाड़ बन्दको कारण धेरै विद्यार्थीहरु दार्जीलिङदेखि बाहिर गएका छन्, उनीहरुले न रेजिस्ट्रेशन फारम अनलाइन भरेर सम्बन्धित स्कूल प्रशासनसमक्षनै पठाउन सकिरहेका छन्, न उनीहरु यहाँ आउननै सकिरहेका छन्। फलस्वरूप स्कूल प्रशासनले पनि आफ्ना विद्यार्थीहरुलाई अनलाइनमार्फत कुनैप्रकारको सूचना दिन सकेको छैन। यसैले विद्यार्थीहरुको भविष्यको लागि पनि इन्टरनेट सेवा अनिवार्य भएको कारण जिल्ला प्रशासनले इन्टरनेट सेवामाथि लगाएको रोकलाई यथाशीघ्र फिर्ता गरेर नेट पुनर्बहाल गर्नुपर्छ।

स्मरण गराइन्छ, गत 17 जूनको दिन यहाँको सिंहमारीमा गोर्खाल्यान्ड आन्दोलनकारीहरु र पुलिसमाझ झड़प भएपछि तीनजना युवकको विभत्स मृत्यु भएको थियो। यसै दिनको साँझदेखि जिल्ला प्रशासनले दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक क्षेत्रमा इन्टरनेट सेवा अवरूद्ध गरेको छ। फलस्वरूप दार्जीलिङ पहाड़का जनता नेटविहीन भएको आज 38 दिन भइसक्यो। जिल्ला प्रशासनले आज 24 जुलाईसम्म नेटबन्दी जारी रहने अघिनै आदेश जारी गरिसकेको छ। अब भोलिदेखि पहाड़मा इन्टरनेट सेवा पुनः चालु हुन्छ वा हुँदैन, त्यो अझै अनिश्चितनै बनिरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन